सिलिगुडी, १४ पुस – सावित्रा भण्डारीको पाँच गोलसँगै नेपालले बुधबार माल्दिभ्सलाई ९–० ले पराजित गर्दै सिलिगुडीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनल यात्रा लगभग निश्चित गरेको छ ।
अघिल्लो खेलमा भुटानलाई ८–० ले हराएको नेपाल लगातार दोस्रो जितसँगै ६ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा छ । पहिलो खेलमा माल्दिभ्ससँग ५–२ ले हारेको श्रीलंकाले बुधबार भुटानमाथि २–० को जित निकाल्यो । त्यसैले सेमिफाइनल पुग्ने शीर्ष दुई टिमको टुंगो समूह चरणको अन्तिम खेलबाट हुनेछ ।
शुक्रबार नेपालले श्रीलंका तथा माल्दिभ्सले भुटानसँग प्रतिस्पर्धा गर्नेछन् । अन्तिम खेलमा अस्वाभाविक नतिजाले मात्र नेपाल अन्तिम चार पुग्नबाट रोकिन सक्छ ।
फरवार्ड सावित्राले भुटानसँग कीर्तिमानी ६ गोल गर्दै ‘डबल ह्याट्रिक’ गरेकी थिइन् । उनको गोल गर्ने कला कञ्चनजंघा स्टेडियममा फेरि देखियो । २० वर्षीया उनले दुई खेलमा आफ्नो गोलसंख्या ११ पुर्याइन् । लगातार दुई खेलमा नेपाली फुटबलरले गरेको सर्वाधिक गोलको कीर्तिमान पनि हो यो । दुई वर्षयता मात्र अन्तर्राष्ट्रिय फुटबलमा अवसर पाएकी उनले नेपालका लागि कुल १५ गोल गरेकी छन् ।
नेपालसँग लगातार चौथो खेलमा गोल गर्न असफल माल्दिभ्सले भारतीय भूमिमा फितलो खेल प्रदर्शन गर्यो । पूरा समय नेपाली टिम हाबी भयो । माल्दिभ्सले पनि केही राम्रो अवसर पाएको थियो तर उपयोग गर्न सकेन ।
सावित्राले अब्दुल रज्जाकलाई ‘बिट’ गर्दै १८ यार्डबाट प्रहार गरेको बलले लोभलाग्दो रूपमा जाली चुमेपछि नेपालले १२ औं मिनेटमा गोलको खाता खोल्यो । त्यसपछि २८ र ३९ औं मिनेटमा गोल थप्दै सावित्राले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् । उनले ५० र ६३ औं मिनेटमा पनि गोल थपिन् । अनिता बस्नेतको पासमा मञ्जलीकुमारी योञ्जनले ५२ औं मिनेटमा गोल गरिन् ।
वैकल्पिक सपना लामाले मैदानमा प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्न भ्याइन् । ६५ औं मिनेटमा सावित्राको पासमा उनले गोल गरेकी हुन् । डिफेन्डर हीराकुमारी भुजेलले ७४ र निर्मला विकले ९० औं मिनेटमा गोल थप्दै नेपाललाई ९–० को जित दिलाए । माल्दिभ्सविरुद्ध यो नै नेपालको फराकिलो जित हो ।
यसअघि नेपालले ६–० (साफ/२०१०), ५–० (साफ/२०१२) र २–० (साग/२०१६) को जित निकालेको थियो । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले टिमले सोचेभन्दा राम्रो खेल प्रदर्शन गरेपछि ठूलो अन्तरको जित हात पारेको बताए । ‘खेलाडीले राम्रो खेलेकै कारण नतिजा राम्रो आएको हो,’ पहिलो रोजाइमा दुई खेलाडी परिवर्तन गरेका उनले भने । माल्दिभ्सका प्रशिक्षक नाउको कावामोताले नेपाली टिमको स्वाभाविक प्रदर्शन भएको बताए ।
Previous Articleप्रियंकाले बनाउने भइन् नेपाली भाषामा फिल्म
Next Article आर्मी पुरुष फुटबलको उपाधि नजिक