काठमाडौं, ७ भदौ – चिनियाँ हिरोइन समेत राखेर निर्माण भइरहेको सुपरस्टार सलमान खानको फिल्म ‘टयूबलाईट’ चर्चामा त छ नै, नयाँ खुलास सँगै विवादमा पनि तानिएको छ । गत बर्ष निर्माण भएको हलिउड फिल्म ‘लिटिल ब्वाई’को स्क्रिप्ट चोरी गरी त्यसकै कथामा केही तोडमोड गरी ‘टयूबलाईट’ बनाइएको आरोप र हल्ला भारतीय संचारमाध्यममा छाएको छ ।
‘सुल्तान’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’ लगायतका फिल्ममा जमेको सुपरस्टार सलमान र निर्देशक कविर खानको केमेस्ट्रीका कारण पनि निर्माणकै क्रममा प्रतिक्षित फिल्ममा गनिएको ‘टयूबलाईट’ को चर्चा स्क्रिप्ट चोरी प्रकरणले अझै चुलिएको छ । यद्यपि निर्माता/निर्देशकले यो आरोपमाथि कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।
सलमान खानले केही दिनअघि मात्रै लद्दाखमा फिल्म ‘टयूबलाईट’ को आफनो भागको सुटिङ सकेलगत्तै निर्देशक कविर खानले सलमान र चिनियाँ हिरोइनसहितको यो फिल्मको ‘फष्ट लुक’ सार्वजनिक गरेका छन् ।
यो फिल्ममा भारत–चीन द्वन्द्वलाई पनि आधार बनाइएको छ । त्यसैले त बलिउड फिल्ममा चिनिया अभिनेत्री जु जुले हिरोइन बन्ने अवसर पाएकी छन् ।
२०१५ मा बनेको हलिउड फिल्म ‘लिटिल ब्वाई’ र निर्माणाधिन बलिउड फिल्म ‘टयूबलाईट’मा विषयवस्तु तोडमोड र फरक केमा छ भने ‘लिटिल ब्वाई’ मा बाबु–छोरोको कथालाई फिल्माइएको छ भने ‘टयूबलाईट’मा दाजु–भाईको कथा उतारिएको छ । र, यो दाजुभाईको भूमिका साँच्चैका दाजुभाई सलमान र सोहेल खानले निभाएका छन् ।
‘टयूबलाईट’मा कुनै सानो बच्चा कै भूमिकामा नभए पनि उस्तैखाले भूमिकामा रहेका छन् सोहेल खान । यसमा सलमानका भाइ हराउँछन र भाइको खोजी गर्न सलमानले गरेको संघर्ष फिल्माइएको छ । त्यसै क्रममा सलमानको भेट फिल्मकी नायिका जु जुसँग हुन पुग्छ । सलमान र जु जुबीच अफेयर्स सुरु हुन्छ, उनीहरु प्रेममा पर्छन् । चिनिया अभिनेत्री जु जुसँग सलमानका केही रोमान्टिक दृश्यहरु पनि सुट गरिएको निर्माणपक्षको हवाला दिँदै संचारमाध्यमहरुले जनाएका छन् ।
फिल्मको स्क्रिप्ट चोरीको भनिए पनि र यसलाई विवादमा तान्न खोजिए पनि सुपरस्टार सलमान खानको ‘टयाग’ ले फिल्मलाई बक्स अफिसमा राम्रो व्यापार गराउनेमा शंका छैन् । किनकि, सलमानकै नामका कारण सिनेमा हलसम्म पुग्ने दर्शकको संख्या निकै छ । सुल्तान–स्टार नायक र निर्देशकको केमेस्ट्रीका कारण पनि निर्माणको अन्तिम चरणमा पुगेको यो फिल्म बलिउडमा अहिलेदेखि नै प्रतिक्षित फिल्मका रुपमा सूचीकृतजस्तै भइसकेको छ । (एजेन्सीहरुको सहयोगमा)
Previous Articleपहिलोपटक ‘मिस ग्रान्ड नेपाल’
Next Article अपेक्षा गरेभन्दा सफल रियो ओलम्पिक