कृष्ण प्रसाद शर्मा
राज्यले केही गरेन भनेर हामी गाली गर्छौ तर हामीले आज सम्म के गर्यौ कसैले एकपटक सोचेनौ । पटक–पटकका दैवी प्रकोपमा भावनात्मक रुपमा हामी जोडिएर सहयोग गरेपछि हामी कसैले निरन्तरता दिँदैनौ । समय र श्रोतको अभाव भएपनि हामीले सक्ने कामलाई अगाडी बढाउन चाहदैनौ । बिदेशमा अवकासपछि खोलिएका कतिपय ठुला–ठुला परोपकारी संसथाले राम्रै काम गरेका छन् जसको उदाहरणमा बेलायतको एज यु.के र सिटिजन एडभाईस ब्युरोलाई लिन सकिन्छ ।
समाज रुपान्तरणका लागी राज्यले मात्रेै होईन नागरिक समाजबाट पनि गर्न सके देशमा असल काम थुप्रै हुने थिए । यदि चीनका लागी हालका राजदूत लिलामणी पौडेलले बागमती सफाई अभियान नचालेको भए आज त्यो बागमती यो बागमतिमा आईपुग्ने थिएन । हामीलाई आफ्नो आँगनको फोहोर टिपेर फाल्न एन.जी.को सुझाव चाहिन्छ । आफ्नै स्कुलको मर्मत संभार गर्न धनाढ्यलाई पुर्काछौ तर आँफै गर्दैनौ । अहिले सरसर्ति हेर्दा देशमा केही दर्जनको संख्यामा विभिन्न धार्मिक एवं सामाजिक संगठनहरू छन् जुन एन.जी.ओ होईनन कि समुदायमा आधारित संस्था छन् । जसलाई कुनै ठाउँमा दर्ता गरिराख्नु पर्दैन तर चाहे भने धेरै राम्रा काम गर्न सक्दछन् ।
बागमती सफाई अभियानले अहिले १८८ औं हप्ता पुरा गरेको छ । यसको उदाहरण दिनुको अर्थ यो कुनै एन.जि.ओ होईन तर यसको नतिजा आज हेर्नुस । त्यस्तै अहिले प्रत्येक जिल्ला काठमाण्डौमा त केही किलोमिटरको दुरीमा ओम शान्तीका कति धेरै संगठन छन्, साईबाबाको भक्तजनका समुह कति–कति, रामदेवका पतान्जलीका सदस्यहरू कति छन् (व्यवसायीक बाहेक समुदायका सदस्यहरू मात्र) ।, तपोबनमा रहेका गरु अरुण आनन्दका चेलाहरू जो ओशो भक्त छन् । त्यहाँ आवासीय रुपमा कति छन् । धेरै जसोले बाहिर काम पनि गर्दछन् । तर यि सारा माथी उल्लेखीत समुहहरू अघोषित रुपमा एकिकृत छन । यिनिहरूको प्रयोग गुणात्मक रूपमा हुन सकेको छैन । बार्षिक रुपमा कतै वृक्षारोपणमा जाने भोली पल्टदेखी त्यता तिर नहेर्ने जस्ता सामाजिक कामले पारा ल्याउँदैन । हुन त प्रत्येक जिल्लामा उद्योग बाणिज्य संघ पनि छन् । उनीहरूले केही गरौ भने सक्दछन् । पटक–पटक भन्दै आएको छु । प्रत्येक उद्योग बाणिज्य संघले देशैभर एक–एक वटा सार्वजनिक शौचालय भनाईदिए हुन्थ्यो भनेर तर कसैले यसको आवश्यकता छैन ।
हुन त बिद्यार्थी संगठन पनि छन् तर तिनीहरू केवल क्यारबोर्डका गोटी हुन पुगे त्यसैले तिनीहरूको प्रयोग सडकमा लगाउने नारा जुलुस र टायर बाल्नेमा बाहेक माथी उठ्न सकेनन् । तर यसबाहेक समुदायले बनाएका केही साना संस्थाहरूलाई परिचालन गर्न सके साना बिकासका काम गाउँबाट हुन्छन् । १०० मिटरको पाईप लिन २ दिन खर्च गरेर सदरमुकाम जाने परिपाटी अन्त गर्न समेत अब गाँउ र शहरमा रहेका यस्ता संस्थाहरूलाई उपयोग गर्नुपर्छ । हाम्रा बिकासका काम २०४६ अगाडी धेरै जसो यस्तै खालका समुदायबाट हुन्थे तर बहुदल आएपछि एन.जी.ओ र आई.एन.जी.को प्रवेशसँगै श्रमदान मरेर गयो साथै समुदायमा आधारित संस्थाहरू हराएर गएका छन तर अझै सामाजिक विचार र आस्थाका आधारमा थुप्रै संस्थाहरू छन जुन पुर्ण रुपमा निष्कृय छन् । हाम्रो बिकासमा औद्योगिकरणको प्रवेश भएपनि अझै नेपालको भौगोलिक धरातलका कारण यसको ठूलो महत्व छ । दाङका ७२ बर्षिय वीर बहादुरले एक्लैले २ किलोमिटर बाटो बनाए भन्ने समाचार पढ्यौ तर यस्ता कामलाई हामी सम्मान गर्न छाड्यौ । समुदायमा आधारित कामको स्वामित्व पनि समुदायमा नै रहने हुँदा यसको दीर्घकालिन रुपमा प्रयोग गर्न सकिन्छ । अहिले नेपालमा बिदेशीले सिकाएको एउटा काम सामुदायिक बनको विकास र प्रर्वदन सबैभन्दा बढी प्रभावकारी भएको छ । यसको व्यवस्थापन समुदायले नै गर्ने हुँदा यसको बिस्तार र यसको प्रभावकारीता निकै राम्रो छ । हालका दिनहरुमा यि सामुदायीक बन व्यवस्थापन समितिलाई एन.जी.ओले तालीम दिने गरेका छन् तर अझ स्वामित्व भने समिति मै छ त्यसैले बिकास भएको छ ।
राज्यले शिक्षालाई समुदायमा आधारित बनाउन पहल गरिरहेको छ तर यसको राजनैतिक पक्षका कारण यसको प्रतिफल राम्रो हुने देखिँदैन । पहिले–पहिले पर्म र ढुकुडीका नाममा कठीत अत्यन्तै साना संरचनाले पनि समाजमा ठूलै योगदान गरेका थिए तर अहिले यिनीहरूको सदुपयोग अपबाद बाहेक प्रायः शुन्य छ । गाउँघरमा अघोषित रुपमा यसरी एक किसिमको समुह गठन भई लुकेर बसेको छ जसलाई हामी प्रयोग गर्न जरुरी छ । ध्यान, जप, तप जस्ता काम समय तोकेर गरिएपनि बाँकी समय यस्ता बिचार र आस्थाका संस्थाहरूलाई परोपकारी काममा एवं बिकास निर्माणमा लगाउन सकिएको छैन ।
हामीलाई अहिले विकास कि एन.जी.ओले गर्दिनु पर्छ कि त सरकारले भन्ने छ तर बनाएको चर्पि प्रयोग गर्न समेत हरेक दिन पैसा दिएको एउटा परियोजना सम्झना आँउदछ । आज समुदायमा आधारित बिकासका लागी समुदायमा आधारित संघ संस्थाको परिचालन र व्यवस्थापन हुन आवश्यक छ । त्यसैले ठूला परियोजनाका लागी सरकार र दातृ निकाय ताके पनि स–साना कामका लागी समुदायबाटै गर्न जरूरी छ । हाम्रो आफ्नो स्कुल, स्वास्थ चौकी, पाटी पौवा र घोरेटो बाटोलाई राज्यलाई नताकौ समुदायबाटै सामुदायीक संस्थाबाट गरौ ।