बागलुङ, ११ पौष – झापाको दमकमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोको पुरुष ५५–६० केजी स्पायरिङमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका दिनेश बुढाले स्वर्ण पदक जितेका छन् । प्रारम्भमा शसस्त्र प्रहरी क्लबका गोविन्द खत्रीलाई पराजित गरेका दिनेशले क्वाटरफाइनलमा नेपाल आर्मी क्लबका सचिन्द्र तामाङलाई पराजित गरेका थिए । मध्यमाञ्चलका शंकर यादवलाई फाइनलमा पछि पार्दै दिनेशले पहिलो स्वर्ण पदक दिलाएका हुन् । दिनेश चौथो प्रो. आइटिएफ च्याम्पियनशिपका बिजेता पनि हुन् । यसैगरी, आइतबार बिहान भएको प्याटनमा शर्मिला महतले रजत पदक जितेकी छिन् । शर्मिलाले ब्ल्याक बेल्ट तेस्रो डानमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी पश्चिमाञ्चलबाट सहभागी बागलुङकी खेलाडी शर्मिलाले स्पायरिङमा समेत प्रतिस्पर्धा गर्दैछिन् । रिता अधिकारीले शनिवार महिलातर्फको स्पायरिङमा रजत पदक जितेकी थिइन् । आइतबार भएको पुरुष ४५–५० स्पायरिङमा दिपक गौतमले रजत पदक जितेका छन् । पश्चिमाञ्चलबाट सहभागी बागलुङका दिपकले फाइनलमा नेपाल आर्मी क्लबका खेलाडीलाई कडा चुनौती दिएका थिए । यसअघि दिपकले मध्यपश्चिमका संगम बिक र सेमीफाइनलमा पूर्वाञ्चलका प्रभात कार्कीलाई पराजित गरी फाइनल चरणमा प्रबेश गरेका थिए । सातौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका आइटिएफ तेक्वान्दो खेलाडीले आइतबारसम्म जम्मा १ स्वर्णसहित ३ रजत पदक जितेका छन् ।