ओमकुमारीको मनमा लागेको थिएन, वनारसको पहिलो भेट नै जीवनको रस बन्छ। मनमा लाग्न त अरु पनि केही लागेकोे थिएन। लागेको थियो त थोरै लाज र अलि डर। बातचित भएन, परिचय भएन। उमेर सानै थियो। बुबाआमाले कुरा गरेको ठाउँमा बोल्न उचित मानिँदैनथ्यो। उनी नबोलीनबोली फर्किन्।
ओमकुमारीको विहे कोसँग हुने भन्ने सानैमा निधो थियो। बचपनमै कसैले उनको वचन पाएको थियो। दिदीको ज्यान गएपछि बहिनीलाई भेनाको जिम्मा लगाउने उनकी आमाले वचन दिएकी थिइन्। भेनासँगै विहे गर्ने सम्झौतामा उनी हुर्कँदै थिइन्। तर, त्यो सम्झौताको राजमार्ग छेक्न कोही आइपुग्यो। उनलाई अन्तैबाट विहेको प्रस्ताव आयो। घरमा छिनोफानो भयो, ‘भेनासँग होइन, अब यसैसँग विवाह हुन्छ।’
ओमकुमारीलाई घुम्टो ओढाउने ठिटो त्यही थियो, जोसँग वनारसमा पहिले भेट भएथ्यो । र, ती व्यक्ति थिए, मुस्ताङ टुकुचेका भूपेन्द्रमान शेरचन। ‘वनारसमै भेट हुँदा उहाँले मन पराएको रैछ,’ ओमकुमारीले गुत्थी खोलिन्, ‘विहे गर्छु भनेर घरमा आइसकेको मान्छे पनि फर्काएको रहेछ। मलाई थाहै थिएन।’ विहे नहुँदै उनीहरु ६ महिना एउटै घरमा बसे । जसको घरमा उनी विहे गरेर जाँदैछिन्, त्यही घर उनको फूपूको पनि हो। हुनेवाला जेठाजूसँग फूपूको विहे भएथ्यो। ‘हाम्रो लभसभ परेको होइन नि फेरि,’ चाउरी परेको अनुहारबाट हाँसोको रङ छाड्दै स्मृति जोडिन्, ‘म त सारै लाटी थिएँ । कहाँ लभ पर्नु। फूपूको घर भएर सँगै बसेको।’
…..
पोखरा, मोहोरिया टोलमा एउटा दरबार छ, सेतो दरबार। सिद्धार्थ चोक हुँदै जाँदा मोहोरिया टोलमा संगम पार्क आउँछ। त्यहाँदेखि थोरै मुन्तिरबाट देब्रे छिरेको १÷२ मिनेटमै दरबार पुगिन्छ। अहिले त्यही दरबारमा बस्छिन्, ओमकुमारी । सेतो दरबार, कताकति पोतिएको रातो रंङबाहेक अहिले पनि सेतै छ। ओमकुमारीको जीवन पनि ठ्याक्कै त्यस्तै छ। फरक यति हो सेतो दरबार मर्मत गरी कताकति रातो पोतिएर झलक्क छ। तर, दुख, पीडा र उल्झनले बंग्याएको ओमकुमारीको जीवन ससाना खुसीले ठोकठाक गरी लयमा त हिँडिरहेको छ। रातो पोतिदिने छैनन्।
सेतो दरबारमा सात साल पहिले पोखराका बडाहाकिम धनशमशेर राणा बस्थे। त्यही दरबार मुस्ताङ टुकुचेका राजा सुब्बा हितमान शेरचनले ४० हजार रुपैयाँमा किनेका थिए। उनकै कान्छा छोरा हुन्, भूपेन्द्रमान । विहे भएको वर्षदिन हाराहारीमा भूपेन्द्रमानसँगै त्यही दरबारमा ओमकुमारीले पाइला टेकेकी थिइन् । ओमकुमारीलाई वनारसमा देख्दा भूपेन्द्रको मनसम्म आइपुगेको बहार थप पुलकित हुँदै थियो। ‘सारै माया गर्नुहुन्थ्यो, मजस्तो भाग्यमानी को होला भन्ने लाग्थ्यो,’ ओमकुमारीले खुसीका दिन सम्झिइन्। कहिले पोखरा, कहिले भैरहवा त कहिले काठमाडौंमा उनीहरुको बसाइ हुन्थ्यो जहाँ भूपेन्द्रमानका दाजुभाइ थिए। भूपेन्द्रले मुस्ताङबाट पोखरा झरेपछि फेवाताल घुमाउन लैजाँदा उनलाई खुसीको महासागरमा पौडिए झैं भएछ।
पहिलो छोरी जन्मिँदा दुवै खुसीमा नाचे। सिंगै दरबार खुसीमा घुमेझैँ लाग्यो उनीहरुलाई। दोस्रो छोरी जन्मी, तेस्रो छोरो जन्म्यो र लगातार ४ छोरी थपिए। अब भने भूपेन्द्रले देखेको वनारसी स्वाद फिका लाग्न थाल्यो। ‘पहिले त्यस्तो ख्यालै गरेकी थिइँन । कान्छी छोरी सानै थिई, बल्ल चाल पाउँदै थिएँ। म उहाँको लायक रहिनछु,’ क्षणभरमै ओमकुमारीको अनुहार फुङ्ग उड्यो। ‘म पढेलेखेकी त होइन तर सारै लाटी रहिछु,’ उनले आफ्नै कमजोरीको स्वर दिइन्, ‘बाहिर केटीसँग सल्किएका रहेछन्, उठाएर काठमाडौं हिँडेपछि बल्ल चाल पाएँ।’ उनीहरुको त्यो दिनदेखि कहिल्यै न सिरानी एउटै बन्यो, न घर एउटै बन्यो। ६ सन्तानकी आमा छोडेर कान्छी लिएर हिँडेका भूपेन्द्रमान त्यसपछि न कहिल्यै घर फर्के, न कहिल्यै खर्चपानी दिए। दिए त केबल ओमकुमारीलाई आँसु र पीडाका उपहार।
…
भूपी शेरचन, नेपाली शक्तिशाली कवि। ओमकुमारी शेरचन, कसैले नचिनेको एउटा अग्लो रुख। उनै भूपेन्द्रमान नेपाली साहित्यमा भूपी शेरचनका नामले अग्लो कवि भएर बाँचे र बाँचिरहेछन्। भूपी शेरचन जो नेपाली साहित्यको मानक बने, नेपाली कवितामा नयाँ मोड नै ल्याइदिए, उनैकी पत्नी हुन्, एउटा अग्लो रुख ओमकुमारी। तर, ओमकुमारीले कवि भूपीलाई होइन, भूपेन्द्रमानलाई मात्र भोगिन्। भूपेन्द्रमानसँगको सिन्दूरको सम्झौता गरेर ६ सन्तान उपहार दिएकी ओमकुमारी अहिले पनि श्रीमती र आमाको जिम्मेबारीबाट भागेकी छैनन्। ‘उहाँ कान्छी लिएर हिँड्नु भो, हिँडेको दिनदेखि कहिल्यै घर बस्नुभएन,’ उनले भनिन्, ‘तर, मैले आज पनि आफ्नो भूमिका बिर्सेकी छैन।’ उनले घरी मुस्ताङ राजखानदानी भूपेन्द्र सम्झन्झिन् त घरी कान्छी उठाएर हिँड्ने बेइमानी । कहिले कवि भूपी सम्झेर उनकी पत्नी हुन पाएकोमा गर्व पनि गर्छिन् । भन्छिन्, ‘गाउँमा सबैले काजी भन्थे, मान्छे पनि झिल्के, कहिले घोडा चढेर हिँड्ने कहिले पैदलै, धेरैजसो एक्लै बस्न मन पराउने, सबैको हाइहाइ थियो,’ उनले सुनाइन्, ‘पोखरा झरेपछि पनि अर्को विहे गर्लान् भन्ने चाहिँ लागेको थिएन। ठिकैछ, बाबु लेखेको कुरा हुने रैछ।’
भूपीले छाडेपछि आफूले दुःख र पीडादायी जीवन बिताएको उनी बताउँछिन्। ‘तर कहिल्यै गुनासो गरिनँ,’ प्रस्ट्याउन खोजिन् । भूपी गएपछि केही पटक भेट भएको र बिरामी छन् भन्ने चिन्ता लागेकोले भेट्न गएको बताउँछिन्। उनले न सिकिस्त भएका भूपीलाई भेट्न पाइन्, न निधनको खबर समयमै पाइन्। ‘अहिले श्रीमानसँग नि गुनासो छैन, न कान्छीसँग नै गुनासो छ,’ उनले भनिन्, ‘आआफ्नो कर्मको भाग खाने रहेछ। मेरो भागमा यही प¥यो।’ यति भनिसक्दा उनले सम्झिइन्, भूपीकै नाममा हुन लागेको कार्यक्रम। ‘पर्सी भूपी जयन्तीकै कार्यक्रम छ। तयारी छलफल गर्ने रे,’ उनले भनिन्, ‘उहाँको नाममा पुरस्कारका लागि सहयोग गरेकी छु। पोहोर कान्छीसँग नि त्यहीं भेट भाथ्यो अहिले नि त्यतै हुन्छे कि !’ उनी बिहे भएर पनि भूपीसँग बस्न धेरै पाइनन् । त्यसैले भूपीसँगका कुरा थाहा छैन, कति सम्झना हुन छाडिसके।
…..
उनले भूपीसँग धेरै समय बिताउन त पाइनन् तर केही कुरा ताजै छन् । त्यस्तै ताजा बनेर आउने एउटा कुरा हो, नारायण गोपाललाई खाना पकाएर खुवाएको। भूपीले कान्छी भगाएर लैजानु पहिले नारायण गोपालले पेमलालाई भगाएर ल्याएका कारण पनि उनलाई सम्झना आउँछ। नारायण गोपाललाई उनले ७ महिना खाना खुवाएकी थिइन्। ‘अहिले यताउता भएका घर त्यतिबेला हाम्रै थिए। १६ रोपनीबाट अहिले ३ रोपनीमा खुम्चिएको छ। योभन्दा पल्लो पट्टिको घरमा नारायण गोपालहरु बस्नुभएको थियो, उनले सम्झिइन्, ‘मैले नै खाना बनाएर खुवाएँ।’ भूपी, नारायण गोपाल लगायतले गीत गाएर रातै बिताउने उनले बताइन्।
उनको घरमा सबैभन्दा बढी जानेहरुको नाम पनि उनले सुनाइन्। ‘कल्याण शेरचन, चेतन कार्की, प्रज्ञानमान बज्राचार्य जस्तै अरुअरु पनि आउँथे, मैले बिर्सें,’ उनले सम्झने प्रयास गर्दै भनिन्, ‘उहाँले आफैं पनि हार्मोनियम बजाउनुहुन्थ्यो।’ घरमा धेरै कविहरु पनि आउने र जमघट हुने बताइन् । तर, कहिल्यै पनि भूपीले आफूलाई कविता नसुनाएको उनी बताउँछिन्। ‘पढ्न जान्थिनँ, मलाई कहिल्यै सुनाउनु भएन,’ उनले भनिन्, ‘साथीभाइलाई सुनाउँदामात्र सुन्थेँ।’
भूपीको खानाको शोख पनि उनले खोलिन् । ‘रहरको दाल, तारेको आलु र अन्डा पाए केही चाहिन्थेन्,’ ओमकुमारीले हाँस्दै थपिन्, ‘चिया र चुरोट त छिनछिनमै चाहिन्थ्यो। साँझ परेपछि कुखुरा काट्ने र रातभर तातोपानी चढाउने।’
अहिले जिन्दगी फर्केर हेर्दा कस्तो लाग्छ त? ‘श्रीमानले एक्लै छोडेर हिँडे। गुजारा चलाउनकै लागि जेठाजुसँग हात पसार्नुपर्ने जीवन पनि के जीवन,’ ओमकुमारीले खुइ..य काडिन्, ‘तर, अहिले केही दःुख लाग्दैन । छोराछोरी छन्, हाइसञ्चो छ।’ भूपीले राम्रा कविता लेखेर नाम कमाए। कविता धेरैले मन पराए र नपराएजस्तो जिन्दगीमा एउटै मान्छेले मन पराउँदा र नपराउँदाको अन्तर ओमकुमारीले भोगेकी छन्।भूपीको चिनो त होला, केके छन् नि? ‘सँगै खिचिएको एउटा फोटोबाहेक केही छैन, एउटा हार्मोनियम थियो। पछि लैजानुभयो ।’ उनले फिस्स हाँसेर थपिन्, ‘छोराछोरी पनि उनैका चिनो त हुन् नि।’ नेपालखवर