बागलुङ, १० पुस- नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचन हुन्छ कि भनेर भागिरहेको वताएका छन । पार्टीको आठौं जिल्ला अधिवेशनको वन्द शत्रलाई सम्बोधन गर्न बागलुङ आईपुगेका महासचिव पोखरेलले आईतवार पत्रकारसंग भने– ‘स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन बुझायो भने निर्वाचन गर्ने बाध्यता पर्छ भनेर प्रधानमन्त्री जी भागिरहनुभएको छ ।’
‘निर्वाचन भयो भने हाम्रो अवस्था के होला भनेर हिसाब किताब गरेर बस्नेहरुको कारण निर्वाचन सम्बन्धी कुरा ओझेल परेको वताउदै पोख्रेलले भने, ‘निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने बेला सरकारले संशोधनको नाटक गरेर निर्वाचन टार्ने प्रयास गरेको छ,।’
सरकार निर्वाचनबारे छलफल गर्न आउँछ भने एमाले तयार रहेको वताउदै उनले भने –वर्तमान सरकार निर्वाचनबाट भागिरहेको छ, संविधान संशोधन प्रस्ताव स्थगित गरेर निर्वाचन सम्बन्धी छलफल सुरु गरे संसदको अवरोध तत्काल हटछ् ।
प्रेस चौतारी बाग्लुङले आइतबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोख्रेलले निर्वाचन भए संविधान कार्यान्वयनमा जाने भएकाले हिजो संविधान जारी नगर भन्नेहरुले अहिले संविधान कार्यान्वयनमा अवरोध गरेको दाबी गरे । ‘हामीलाई संविधान जारी नगर्न भनेका हुन, तर हामीले संविधान जारी गर्यौं,’ महासचिव पोख्रेलले भने, ‘संविधान जारी भएपछि हेरौंला कसरी कार्यन्वयन गर्दा रहेछौं भनेर भन्नेहरुले नयाँ रुपमा संविधान संशोधन प्रस्ताव ल्याएर कार्यान्वयन हुन नदिने चलखेल गरेका छन्।’
अहिलेको संविधान संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रहित विपरीत भएकाले यसबारे संसदमा कुनै छलफल नहुने पोख्रेलले तर्क गरे । ‘यो संशोधन प्रस्ताव संविधानको धारा २७४ मा गरिएको स्पष्ट व्यवस्थाको खिलाफमा छ,’ ‘पारित हुने त परको कुरा यसबारे छलफल समेत हुँदैन।’ संविधान संशोधन प्रस्ताव नेपालको सामाजिक सद्भाव खलबल्याउने, जनभावना विपरीत र अदालतको आदेश विपरीत आएको छ ।
अहिलेका सरकारवादी दलहरुलाई आस र त्रास देखाएर केपी ओली सरकार ढालिएको पोख्रेलले आरोप लगाए ।
‘पहिले ओली सरकार गिराएर तिमी प्रधानमन्त्री हौं भन्ने आस देखाए, त्यसपछि हामीले भनेको मान्दैनौं भने, तिमीलाई अन्तर्रा्ष्ट्रिय अदालतमा उभ्याउँछौं भनेर त्रास देखाएर ओली सरकार ढालियो,’ उनले भने । अर्काे फरक प्रसङ्गमा पोख्रेलले संविधानको दायरा भित्र रहेर काम नगरेका कारण लोकमानसिंह कार्की माथि महाअभियोग लगाइएको बताए । ‘संविधान र नियम कानुन भन्दा माथि कोही छैन,’ उनले भने,‘सबैले आफ्नो दायरामा रहेर काम गर्नुपर्छ, यसमा इजार कस्ने वस्त्र खोल्ने कुरै आउँदैन ।’
प्रेस चौतारीका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सिर्जना पन्तले र स्वागत उपाध्यक्ष नविन शिशिरले गरेका थिए ।