इटहरी, ९ पुस – सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत शनिवार इटहरी रंगशालामा १५ सय मिटरको दौड आयोजना हुँदा पश्चिमाञ्चलकी एक अबोध किशोरी खाली खुट्टै ट्रयाकमा खुट्टा तन्काउदै थिइन्। उनलाई सुरुमा देख्ने कैयौं दर्शकलाई लागेको थियो, सायद उनी अभ्यासका लागि ट्रयाकमा उत्रिएकी होलिन्। तर, जब रेफ्रीले बन्दुक पड्काउदै स्पर्धा भएको जनाउ दिए, त्यसपछि त्यहाँ उपस्थित सबै चकित परे।
पश्चिमाञ्चलकी १६ वर्षीय गुडिया गुप्ता खेलाडीले लगाउने जुत्ता स्पाइकको अभावमा पूर्वाञ्चलको इटहरीमा शनिवारदेखि सुरु भएको एथलेटिक्समा खाली खुट्टै ट्रयाकमा उत्रिइन्। उनले हिट्समा केही समय विपक्षी नेपाली आर्मीलगायतका सिनियर धावकलाई चुनौती दिने प्रयास नगरेकी पनि होइनन्। तर, इटहरीको धुलौटे ट्रयाकमा खाली खुट्टा दौडिनु पर्दाको उनको अफ्ठ्यारा सहजै अनुभव गर्न सकिन्थ्यो।उनी हिट्समा छैटौं भइन्।
उनलाई पनि अन्य खेलाडी जस्तै नेपाली खेलकुदको कुम्भमेलामा स्पाइक लगाएर खेल्ने ठूलो चाहना थियो। तर, नेपाली खेलकुदको ध्यान उनी जस्ता उद्यमान र विपन्न खेलाडीमा जान नसक्दा नाङ्गो खुट्टा उनले बृहत राष्ट्रिय जस्तो ठूलो प्रतियोगितामा दौडिनु पर्यो। के गर्ने यहाँको खेलकुद नै यस्तो छ। राष्ट्रिय खेलकुद परिषद्ले उनलाई स्पाइक उपलब्ध गराउन सकेन होला। तर, क्षेत्रिय खेलकुद विकाश समितिले आफ्नो क्षेत्रको इज्जत त राख्नु पथ्र्यो,’ पश्चिमाञ्चलका एथलेटिक्स प्रशिक्षक मनोहर दाहाल भन्छन्। उनले बारम्बार खेलकुदलाई झकझकाए पनि आफ्नो कुराको सुनुवाई नभएको बताउँछन्।
दाहालले ३ वर्षअघि राष्ट्रपति रनिङ शिल्डको आयोजना हुँदा पहिलो पल्ट गुडियाको विशेषताको पहिचान गरेका थिए। उनलाई आर्थिक अभावका कारण नवलपरासीको जनजागृती उच्च मावीले अर्को राष्ट्रपति रनिङ शिल्डमा खेलाउन नसक्ने जवाफ दिँदा पनि दाहालले आफ्नै सक्रियतामा उनलाई सहभागी गराएका थिए।
पश्चिमाञ्चलको छनोटमा उनले १५ सय मिटर ५ मिनेट १२ सेकेन्डमा पुरा गरेकी थिइन्। प्रशिक्षक दाहालले यसपालि उनको प्रदर्शन ५ मिनेट १० सेकेन्डमा झर्ने आशा राखेका थिए। तर, खाली खुट्टै दौडिएकी गुडिया हिट्समा छैटौं भइन्। सातौंका लागि पश्चिमाञ्चलको क्षेत्रिय छनोटमा उनले १५ सय मिटरमा सबैलाई उछिनेपछि १६ वर्षकै उमेरमा बृहत राष्ट्रिय खेलकुदका लागि छानिएकी हुन्। उनी आइतबार ८ सय मिटरमा दौडिदै छिन्।
Previous Articleहिन्दू राष्ट्र कायम गरेरै छाड्ने राप्रपाको घोषणा
Next Article २०७३ पौष १० गते आईतबारको राशिफल