बागलुङ, ९ पौष – उच्च अदालत बागलुङ बागलुङ इजलासले साउन देखि मंसिर मसान्त सम्म लक्ष भन्दा १० प्रतिशत बढी प्रगती गरेको छ । ७७ मुद्दा फछ्र्यौट गर्ने लक्ष रहेकोमा अदालतले ८५ मुद्दा किनारा लगाएको हो । अदालतमा अघिल्लो बर्षका ४१ मुद्दा जिम्मेवारी सरेर आएकोमा मंसिर सम्म थप १ सय ४५ मुद्दा परेका थिए । कुल १ सय ८६ मा अहिले सम्म ६६ वटाको लक्ष थियो । ती मध्ये १ सय ६१ वटा साधारण मुद्दा छन् भने २५ वटा रिट रहेका छन् । कालीगण्डकी नदीको बालुवा उत्खनन्, मध्य पहाडी लोकमार्ग र केही ग्रामीण सडकले मुआव्जा नदिएका बिषयमा अदालतमा रिट परेको मुख्य न्यायाधिस भीमबहादुर बोहराले बताए । अदालतले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो । सर्वोच्च अदालत सहित सबै अदालतले नियमित पत्रकार भेटघाट गरी सूचना सार्वजनिक गर्ने कार्यक्रम बनाएपछि केही समय देखि नियमित पत्रकार भेटघाट बढेको छ । साथै अदालते पञ्चबर्षे योजना मार्फत जनतालाइ सहज पहुँच बढाएर न्यायप्रति विश्वास बढाउने अभियान पनि संचालनमा छ । अदालतमा न्यायाधिसको कमी भएपनि लक्ष अनुसारको काम गर्न भने सकेको उनले बताए । उच्च अदालतमा कम्तिमा २ जना न्यायाधिसको एउटा इजलास बस्नुपर्ने कानूनी प्रावधान छ । उक्त प्रावधान भएपनि हाल बोहरा सहित अर्का न्यायाधिस रत्नबहादुर बागचन्द गरी २ जना मात्र न्यायाधिस छन् । एकजना बिदामा बस्दा एकजनाले फैसला वा आदेश गर्न नपाउने कानूनी प्रावधान छ । जसका कारण आएका मुद्दा अगाडि बढ्न नसक्ने देखिएको हो । समयमा निर्णय हुन नसक्दा गैरकानूनी थुनामा बसेको घटना भएमा रिहाइ गर्न ढीला हुने गरेको बोहोराले जानकारी दिए । अदालतले संचार माध्यमसँगको सहकार्य बढेमा मात्र जनताले पनि छिटो र सहज न्याय पाउने अर्का न्यायाधिस बागचन्दले बताए । ‘जनता र अदालतबीच सम्पर्क बढ्नका लागि संचार माध्यम सहयोगी हुनेछ’ उनले भने, ‘पत्रकारले सही जानकारी दिन सकेमा पिडित जनताले समयमा न्याय पाउने वातावण बन्नेछ ।’ नियमित पत्रकार भेटघाट मार्फत उक्त उद्धेश्य पुरा गर्न चाहेको पनि उनले बताए । कार्यक्रममा रजिष्ट्रार रामेश्वर रेग्मी र उप रजिष्ट्रार कुलप्रसाद भण्डारीले पनि अदालतको जानकारी गराएका थिए ।
Previous Article९ पौष २०७३, ढोरपाटन दैनिक
Next Article ३ वर्षमा ३५ बालविकास केन्द्र भवन बन्ने