काठमाडौं, ७ पुस – तारेख बुझ्न सर्वोच्च अदालत पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई एक व्यक्तिले अदालत परिसरमै कालो मोसो दलेका छन्। कार्कीले तारेख बुझेर हस्ताक्षर गर्नै लागेको बेला ती व्यक्तिले कार्कीको एउटा गालामा मोसो दलेका हुन्।
कार्कीलाई मोसो दलेपछि परिसरमा हल्लाखल्ला भएको थियो। वरिपरिका मानिसहरूले समात समात भनेपछि ती व्यक्ति भाग्न खोजेका थिए। करिब २० मिटर पर पुगेपछि उनलाई अदालतका प्रहरीले पक्राउ गरेका थिए। पक्राउ पर्दै गर्दा ती व्यक्तिले नेकपा माओवादी जिन्दावाद, हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाएका थिए।
कार्की उनीविरूद्ध अदालतमा परेको मुद्दाको तारेख बुझ्दै थिए। म्याद तामेली गर्न अवरोध पुर्याएको भन्दै अदालतमा परेको रीट निवेदनमा कार्की स्वयम्लाई उपस्थित भएर तारेख बुझ्न अदालतले आदेश दिएको थियो। कार्कीलाई अदालतभित्रै दुव्र्यवहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संयोगबस आजैदेखि अदालतमा कार्कीको नियुक्तिको संवैधानिकताको विषयलाई लिएर सुनुवाई सुरू भएको छ।