काठमाडौं, ६ पुस-अदालतको फैसलापछि एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार छन् । उनीहरूबाट एक लाख ४३ हजार वर्ष कैद फस्र्योट हुन र १७ अर्ब ३२ करोड जरिवाना उठ्न बाँकी छ ।
जिल्ला, पुनरावेदन (हाल उच्च अदालत) र सर्वोच्च अदालतको फैसलाअनुसार पाँच रुपैयाँ जरिवानादेखि २० वर्षसम्म कैद र सर्वस्वहरणसहित जन्मकैदसम्मको सजाय भुक्तान गर्न बाँकी रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको लगत छ । फरार अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशनालय र नेपाल प्रहरीले संयुक्त प्रयास गर्दै आएका छन् ।
आर्थिक वर्ष ०७२-७३ सम्मको तथ्याङ्कअनुसार एक लाख ४३ हजार वर्ष पाँच महिना २१ दिन कैद फस्र्योट हुन बाँकी छ । अदालतको लगतअनुसार प्रहरीले गत वर्ष मात्रै ३४ हजार ६० वर्ष एक महिना २६ दिन कैद फस्र्योट गराएको छ ।
‘तुलनात्मक रूपमा फैसला कार्यान्वयन अभियान सकारात्मक रूपमा अघि बढेको छ,’ सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्रनाथ उपाध्यायले भने, ‘अदालत र प्रहरीले देशैभर लगत राखेर फरार अपराधी पक्राउ गर्ने क्रम चलिरहेको छ ।’
सर्वोच्चसहित जिल्ला तहसम्मका अदालतले गरेका फैसलाको एकमुष्ट लगत सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले छुट्टै सफ्टवेयर तयार गरेको छ । जसमा अपराधीको नाम, ठेगाना, फैसला मितिलगायतका विवरण समेटिएका छन् ।
उक्त सफ्टवेयरलाई सर्वोच्च अदालतले देशभरका जिल्ला तहसम्मका अदालतदेखि प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएको छ । सोही विवरणका आधारमा प्रहरीले फैसला कार्यान्वयनका लागि पहल गर्दै आएको छ । नयाँ पत्रिका
Previous Articleदाइजो लिएको रकम सम्धीलाई फिर्ता
Next Article २०७३ पौष ६ बुधबारको राशिफल