पर्वत,५ पुस – जिल्लामा कतिवटा नगरपालिका बन्ने होलान ? कति वटा गाउँपालिका बन्लान वा कुन गाबिस कुन गाउँ वा नगरपालिकामा पर्लान भनेर अड्कलबाजी चलिरहेका बेला स्थानिय तह पुर्नसंरचना आयोगले अन्तिम प्रतिबेदन तयार पारेको छ । आयोगले पर्वतमा कुस्मा र फलेबास नगरपालिका तथा पाँच गाउँपालिका बनाउने भएको छ । आयोगले जलजला गाउँपालिका, मोदीगाउँपालिका, महासिला गाउँपालिका, पैञ्युँ गाउँपालिका र बिहादी गाउँपालिका बनाएको छ ।
आयोगले जिल्लाबाट सिफारिस भएका ६ गाउँपालिका मध्ये पाङ्गराङ्गलाई थपेर फलेबास नगरपालिका बनाएको हो। आयोग स्रोतले दिएको जानकारी अनुसार साबिकको कुस्मा नगरपालिकामा खौलालाँकुरी, आर्थर डाँडाखर्क र ठुलिपोखरी गाविसलाई थप गरिएको छ। कुस्मा नगरपालिकामा १४ वडा कायम गरिएको छ । पाङ्गलाई कुस्माको १ नं वडा, खुर्कोटलाई ू, दुर्लुङ्गलाई तीन, कुस्माको ८ नम्बर वडा लाई ४, ९ लाई ५ नम्बर वडा, १० लाई ६ नम्बर वडा, ११ नम्बर वडालाई ७ नम्बर वडा बनाइएको छ। यसैगरी चुवालाई ८, कटुवालाई ९, पिपलटारीलाई १०, पकुवालाई ११ , ठुलीपोखरी १२ , खौलालाँकुरीलाई १३ र आर्थर डाडाँखर्कलाई १४ नम्बर वडा कायम गरिएको छ ।
फलेबास नगरपालिकामा कार्किनेटा, थापाठाना, शंकरपोखरी, मुडीकुवा, भंगरा, लिमिठाना, ठानामौला खानीगाउँ, देविस्थान, पाङ्गराङ्ग गाबिस तथा कुर्घा गाबिसका १ देखि ६ र ९ नम्बर वडा मिसाईएको छ। फलेबास नगरपालिकामा ११ वडा कायम गरिएको छ।
जिल्ला प्राबिधीक समितिले पाङ्गराङ्ग बाहेकका गाबिसलाई राखेर फलेबास गाउँपालिका सिफारिस गरेको थियो । यो नगरपालिकामा कार्निनेटा गाबिस वडान नं १, थापाठाना गाबिस २, शंकरपोखरी ३, मुडिकुवा ४, खानीगाउँ ५, देबिस्थान ६, लिमीठाना ७, ठानामौला ८, भंगारा ९, कुर्घाको १ देखि ६ र ९ नम्बर वडा समेटेर १० र पाङ्गराङ्गलाई ११ नम्बर वडा बनाएको छ । जलजल गाउँपालिकामा बाँसखर्क, माझफाँट, लेखफाँट, शालिजा, धाइरिङ, नाङ्गलिबाङ्ग र बनौ गाविस समेटिएको छ। यो गाउँपालिकामा ९ वटा वडा हुनेछन ।
बाँसखर्क १, माझफाँटको ६,८ र ९ वडाको २, माझफाँटको ३ र ७ नम्बर वडा मिलाएर ३ नम्बर वडा, माझफाँटको १, २, ४ र ५ वडा मिलाएरु ४ नम्बर वडा कायम गरिएको छ। लेकफाँट गाबिस ६, शालिजा, ७, नाङ्गलिबाङ्ग ८ र बनौ ९ नम्बर बडा कायम गरिएको छ । मोदी गाउँपालिकामा क्याङ, बाजुङ, देउराली, भुकताङ्ले, देउपुर, तिलाहार, चित्रे, राम्जादेउराली गाबिस मिलाइएको छ। मोदी गाउँपालिकामा ८ वटा वडा कायम गरिएको छ ।
भुकताङ्गले १ नम्बर वडा, देउपुर २, देउराली ३, क्याङ्ग ४, बाजुङ्ग ५, तिलहार ६, राम्जादेउराली ७ र चित्रेलाई ८ नम्बर वडा कायम गरिएको छ। महासिला गाउँपालिकामा फलामखानी, लुंखु, पाखापानी, बालाकोट, भोकसिङ, होश्राङ्दी र कुर्घा गाबिसको ७ र ८ नम्बर वडालाई मिसाइएको छ । यो गाउँपालिकामा ६ वटा वडा कायम गरिएको छ। होस्राङ्गदी गाबिसलाई १, भोक्सिङ्ग २, बालाकोट ३, पाखापानी ४, लुंखु सबै र कुर्घाको ७ र ८ वडा मिलाएर ५ र फलामखानी गाबिसलाई ६ नम्बर वडा कायम गरिएको छ।
पैञ्यु गाउँ पालिकामा हुवास, भोर्ले, टकलाक, त्रिवेणी, बेहुलीबास र सरौखोला गाविसलाई मिसाइएको छ । यो गाउँपालिकामा ७ वटा वडा कायम गरिएको छ। टकलाकलाई १, त्रिबेणी २, बेउलीबास ३, हुवासको १,२,३,७ र ८ वडा मिलाएर ४, हुवासको ४, ५, ६ र ९ वडा मिलाएर ५, सरौखोला ६ र भोर्लेलाई ७ नम्बर वडा कायम गरिएको छ। बिहादी गाउँपालिकामा बाच्छा, बर्राचौर, रानीपानी, वहाकी , उराम र शालिग्राम गाविसलाई समेटिएको छ।
बिहादी गाउँपालिकामा ६ वटा वडा कायम गरिएको छ। बाच्छा गाबिसलाई १, बर्राचौर २, रानीपानी ३, वहाकी ४, उरामपोखरा ५ र शालिग्राम गाबिसलाई ६ नम्बर वडा कायम गरिएको छ । जिल्ला प्राबिधीक समितिले ६ वटा स्थानिय निकाय बनाएर समेत पठाएकोमा आयोगले फलेबासलाई नगरपालिका बनाएको छ भने अन्य गाउँपालिको समेत सिमाना केही हेरफेर गरेको छ ।
Previous Articleचार बोरा न्यानो माया
Next Article कानुनअनुसार उपत्यकामा ट्याक्सी भाडादर कति ?