काठमाडौं, ४ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तामा चिनियाँ टोलीले ‘वान वेल्ट, वान रोड’ मा विशेष सरोकार व्यक्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा आपसी हित र सामाजिक आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने बारे द्विपक्षीय छलफल भएको छ। भेटमा दुई देशबीचमा आर्थिक एवम् राजनीतिक सम्बन्धलाई अझ प्रगाढ र सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषिराज अधिकारीले जानकारी दिएका छन्।
सो अवसरमा प्रधानमन्त्रीसँग चिनियाँ पक्षले ‘वान वेल्ट, वान रोड’ को विषय र नेपालको आर्थिक विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा चासो दिएको थियो । त्यस विषयमा नेपालबाट कुनै प्रस्ताव आओस् भन्ने चिनियाँ पक्षको चासो रहेको छ । त्यस्तै दुई देशबीचमा सडक एवम् रेल सञ्जालका विषयमा पनि कुराकानी भएको थियो । चिनियाँ रेल नेपालसम्म ल्याउने र तातोपानी नाका खोल्ने विषयमा प्रधानमन्त्री प्रचण्डले चासो व्यक्त गरेका थिए। छलफलका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङले नेपालको चाँडै भ्रमण गर्ने तर मिति तय नभइसकेको सल्लाहकार डा अधिकारीले बताए।
संविधान संशोधनका विषयमा चीनले यसलाई मिलाएर सकारात्मक रुपमा अगाडि बढोस् भन्ने इच्छा व्यक्त गरेको उनले जनाए। केन्द्रीय सदस्य ल्युले नेपालको नयाँ सरकारलाई चीनको सहयोग रहिरहने बताउँदै नेपालको ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धताप्रति पनि आभार प्रकट गरेका थिए। ल्यु नेतृत्वको प्रतिनिधिमण्डल तीनदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएको हो । नेपाल आएलगत्तै प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको थियो ।