चितवन, २ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार नै हुने बताएका छन्।उनले पुरानो संरचनामा स्थानीय तहको निर्वाचन सम्भव नहुने स्पष्ट पारेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले अब पुरानै संरचनामा स्थानीय चुनाव हुने र त्यसका लागि तयारी भइरहेको अभिव्यक्ति दिइरहेका बेला प्रचण्डले त्यसलाई खण्डन गरेका छन्। गत बुधबार चितवन पुगेका देउवाले पुरानै संरचनामा स्थानीय चुनाव गराउन मुख्य तीन दलहरुबीच सहमति भइसकेको र छिटै मिति घोषणा हुने बताएका थिए।
पुरानै संरचनाअनुसार चुनाव गर्ने कांग्रेसको प्रस्ताव एमालेसमेत सकारात्मक देखिएको छ। केही दिनअघि बालुवाटारमा कांग्रेस, एमाले र माओवादीको शीर्ष नेतृत्वबीच भएको छलफलमा पनि पुरानै संरचनामा चुनावको तयारी गर्ने समझदारी भएको बताइएको थियो।
पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउने तयारी गरेको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘नयाँ संरचना अनुसार नै चुनाव गर्नुपर्छ भन्ने सरकारको स्पष्ट धारणा हो।’ उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र आफूका बीचमा निर्वाचनबारे छलफल भएको बताउँदै कुन तहको निर्वाचन गर्ने भन्ने विषयमा भने टुङ्गो नलागेको बताए।
देउवा र ओलीले पुरानै संरचनामा भए पनि निर्वाचन गर्नुपर्ने बताएको भन्दै उनले आफूले त्यत्रो मेहेनत परिसकेकाले नयाँ संरचना अनुसार नै निर्वाचन गर्नुपर्छ भनेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्तावलाई अगाडि नबढाएसम्म निर्वाचनमा जान सम्भव नरहेको बताए। उनले भने,’संविधान संशोधनको प्रस्ताव निर्वाचनका लागि हो भनेर बुझ्न जरुरी छ।’ उनले संविधान संशोधनको प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचनको मिति तोक्ने कार्यलाई प्याकेजमा सहमति गराउनेतर्फ सरकार लागेको बताए।
प्रेस सेन्टर चितवनले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने,’ अन्ततः समझदारीमा आउनै पर्छ, नमिल्ने खालको आन्दोलन छोडेर आउनुहुन्छ भन्ने मलाई विश्वास छ।’ संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भइसकेको भन्दै उनले पुस ४ गतेको बैठकमा टेबुल हुने बताए। उनले भने,’संशोधन प्रस्ताव सभामुखको कार्यसूचीमा चढिसकेको छ, ४ गतेको बैठकमा टेबल हुन्छ ।’ त्यसपछि मधेसवादी दल पनि सहमतिमा आउने उनले बताए।
सत्तारुढ दलका नेताहरु नै आन्दोलनमा रहेको भन्ने जिज्ञासामा प्रधानमन्त्री दाहालले पार्टीको निर्णयभन्दा बाहिर कोही पनि नजाने बताए। हालै मात्र सार्वजनिक भएको सम्पत्ति विवरणको विषयमा प्रधानमन्त्री दाहालले चितवनकै शिवनगरको भिमसेननगरमा रहेको अङ्शबण्डामा आफूलाई परेको एक बिगाहा १० कठ्ठा जग्गा पहिले नै बिक्री गरेर पार्टीलाई बुझाइसकेको बताए।
उनले अग्ला भवन बन्ने वित्तिकै प्रचण्डको लगानी भन्ने गरेको भन्दै भर्खरै उद्घाटन भएको चन्द्रागिरी केवलकार पनि प्रचण्डकै लगानीमा बनेको हल्ला चलेको बताए। प्रधानमन्त्री दाहालले भने,’जहाँ जे बनेपनि अब सबै नेपाल नै मेरो हो ।’ गृह जिल्ला चितवनलाई चुनावी क्षेत्र बनाउने विषयमा आफ्नो दल र विपक्षीले पनि कुरा गरिरहेको प्रशङ्ग कोट्याउँदै उनले चितवनमा सम्भव नहुने अवस्था नरहेको बताए।
प्रधानमन्त्रीले भने-स्थानीय चुनाव नयाँ संरचनाअनुसार नै हुन्छ
Previous Articleगाईघाट झरनाको व्यवस्थापनमा बेवास्ता
Next Article अमेरिकामा कार दुर्घटनामा दुई नेपालीको मृत्यु