बालकृष्ण सुवेदी
बागलुङ, २ पौष – पर्यटकिय गाईगाट झरनामा पर्यटकको चहलपहल बढेपनि ब्यबस्थापन समितिले चासो नदिँदा पर्यटक मर्कामा परेका छन् । झरनाको आर्कषण देखेर पर्यटकको चाप बढेपनि ब्यबस्थापन समितिले चासो नदिँदा पर्यटक निराश बनेका छन् ।
झरनाको बीच भागमा रहेको गुफा अवलोकन गर्नको लागि टिकट काट्ने ब्यबस्था भएपनि सधै गेट बन्द हुने गरेको पर्यटकहरुको गुनासो छ । मनमोहक झरनाको बीच भागमा रेलिङमार्फत गुफामा पुग्न सकिने भएपनि सधै गेट बन्द हुने गरेको छ । २० रुपैयाँको टिकट काटेर गुफा प्रवेश दिने झरना ब्यबस्थापन समितिले निर्णय गरेपनि झरनामा कोही सम्पर्क ब्यक्ति नभेटिएको गुनासो बढेको छ ।
झरनाको रेखदेख र टिकटको लागि अमरभुमीका अमर रोकालाई जिम्मा दिईएको तर उनले काम नगर्दा समस्या परेको ब्यबस्थापन समितिका अध्यक्ष हिरा रानाले जानकारी दिए । पटक–पटक बैठक बोलाउँदा समेत कसैले चासो नदिँदा झरनाको प्रभावकारी ब्यवस्थापन गर्न नसकेको अध्यक्ष रानाले स्वीकार गरे । झरनामा आउने पर्यटकबाट टिकट काटेर संकलन भएको रकमको समेत आफुले कुनै जानकारी नपाएको उनले बताए ।
त्यसैगरी मोटरबाटोदेखि झरनामा तर्ने झुलुङ्गे पुल समेत जीर्ण बनेको छ । पुलमा बिछ्याईएका बाँसका भाटाहरु पनि झरिसकेका छन् । दैनिक सयौँ आन्तरिक पर्यटकहरु झरना हेर्न आउने गरेपनि पुल जीर्ण हुँदा उनीहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । बिशेषगरी झरना अबलोकनमा आउने साना बालबालिका, बृद्धबृद्धा र विद्यार्थीलाई बढि समस्या परेको हटियाका शिक्षक अर्जुन गैरेले बताए ।
पर्यटकिय दृष्टिले महत्वपुर्ण र छोटो समयमै चर्चा कमाउन सफल भएको झरनाको ब्यबस्थापन कमजोर भएपनि त्यहाँ आईपुगेका पर्यटक भने फुरुङ्ग पर्ने गरेका छन् । गाईगाट झरनाको बारेमा सुनेर घुम्न आईपुगेका बागलुङ पैयुँपाटाका हरि पौडेल पनि झरनाको सुन्दरता देखेर मोहित भएको बताए । दुई पहाडको खोचमा कलकल बग्ने दरमखोला माथीबाट झर्ने झरनाले आन्तरिक पर्यटकको मन जितेको छ ।
प्राय युवा युवतीको लागि आकर्षक गन्तब्य गलकोटको गाईघाट झरना बनेको छ । झरनासम्म पुग्न मोटरबाटो र सहज यातायातको कारण झरनामा दिन प्रतिदिन पर्यटकको चहलपहल बढेको हो । हरिचौर, हिल र अमरभुमीको संगम स्थलमा रहेको पर्यटकिय झरनाको प्रभाबकारी ब्यबस्थापनमा सरोकारवाला निकायको ध्यान जानु जरुरी रहेको पैयुँपाटाबाट त्यहाँ पुगेका हरि पौडेलले बताए ।