विश्वास खड्काथोकी
कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ । दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन् । दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन पूरा गरेको छ । दीपकराज नाट्यकर्मी, आरजे, हास्यअभिनेता हुँदै निर्माता बनेका छन् ।
साढे दुई दशकदेखिको उनीहरूको सम्बन्ध फेरिएको छैन । ‘रिल लाइफ’ मा मात्र होइन, ‘रियल लाइफ’मा पनि उनीहरू धेरै निकट छन् । अझ भनौँ, पर्दामा देखिएजस्तै साँच्चै दीपकराज–दीपा श्रीमान्–श्रीमती नै हुन् कि भन्ने धेरैमा भ्रम देखिन्छ । उनीहरू एक–अर्कालाई केयर गर्छन्, सम्मान गर्छन् र माया पनि गर्छन् । उनीहरू मान्दैनन् कि माया सिर्फ विवाहका लागि गरिन्छ ।
दुवैको स्पष्ट धारणा छ, ‘विवाहभन्दा माथि पनि सम्बन्ध हुन्छ । हो, हामीबीच त्यही सम्बन्ध छ ।’ अर्थात् उनीहरूबीच ‘डिप लभ’ छ । ०४८ सालमै दीपाश्री निरौलाले ‘अग्निपथ’ टेलिफिल्म खेलेकी थिइन् । यसबाट थोर–बहुत परिचित थिइन् उनी । तर, विराटनगर बसेर होइन काठमाडौंमा हिरोइन बन्नु थियो उनलाई ।
संयोगवश, कलाकार मदनदास श्रेष्ठले दीपाश्रीलाई रेडियोको नाटकमा खेलाउन काठमाडौं बोलाए । आमाबाबुलाई मनाएर ०५१ सालमा उनी काठमाडौं आइन् । दीपाश्री रेडियो नेपाल पुगिन् । त्यहाँ कलाकार बन्न चाहनेहरूको ठूलो भीड थियो । त्यहीँ थिए, दीपकराज गिरी पनि । तर, दीपाश्रीले उनलाई वास्ता गरिनन् । दीपकराज भने दीपाश्रीलाई देख्नेबित्तिकै प्रभावित भए । ‘म त पहिले नै उनको फ्यान थिएँ । देख्दा पनि राम्रो लाग्यो । अग्ली गोरी, आकर्षक खालकी,’ दीपकराज ती दिन सम्झँदै भन्छन्, ‘म त त्यहाँ नाटकको अडिसनका लागि गएको थिएँ ।’ तर, त्यस दिन उनीहरूको चिनापर्ची हुन सकेन ।
दीपकराजलाई दीपाश्री निकै घमण्डीजस्तो लाग्यो । १३ वर्षको उमेरदेखि नै दीपकराज गाउँमा नाटकमा खेलिरहन्थे । उनलाई हिरो बन्ने भूत चढेको थियो । दीपाश्रीले रेडियो नेपालको ‘द गेस्ट’ नाटक गर्ने भइन् । दीपकराज पनि सोही नाटकका लागि छानिए । त्यही वेला दुईबीच चिनापर्ची भयो । सो नाटकमा दीपाश्री बच्चाको भूमिकामा थिइन् भने दीपकराज नोकरको । दीपाश्रीलाई दीपकराज त्यति राम्रो लागेन । ‘अत्यन्तै फोहोरी, कपडा पनि कहिल्यै नधुने । लामो कपाल । दाँत उछिट्टिएको । रातो रङको कोठे सर्ट लगाउने र कम्मरमाथि बेल्ट बाँध्ने । दीपकराज मलाई मन नै परेन,’ दीपा ती दिन सम्झँदै भन्छिन् ।
तर, त्यतिवेला काठमाडौंमा नाटक खेलेर बाँच्नु चानचुने कुरा थिएन । नियमित नाटक हुँदैनथ्यो । रेडियो नेपालमा नाटक गरेर जीवन चलाउने पैसा नपाइने भएकाले सुरु भयो दुवैको काठमाडौंमा संघर्ष । दीपकराज काठमाडौं दहचोकनिवासी हुन् । उनी बिहान साढे ५ बजे नै घरबाट हिँड्थे अनि रेडियो नेपालमा आएर नाटक गर्थे । रेडियो नेपालमा नाटक सकिनासाथ दीपक नेपाल टेलिभिजन ढुकेर बस्थे । ‘रेडियो नेपालकै क्यान्टिनमा चिया खाइन्थ्यो । अनि टेलिभिजनमा गए घाम तापेर बस्थेँ । सन्तोष पन्तलगायत दाइहरू आए भने उठेर नमस्ते गरिहाल्थेँ । कसले कहाँ बुम समाउन बोलाउँछ वा काम लगाउँछ भनेर कुरेर बस्थेँ । बेलुकी ६ बजेतिर टेम्पो चढेर घर फर्कन्थेँ,’ दीपकराज संघर्षका ती दिन सुनाउँछन् ।
उता, दीपाश्रीको अवस्था पनि त्यस्तै थियो । दिदीको घरमा बस्थिन् उनी । त्यहाँ अप्ठ्यारो अनुभव गरेपछि बिजुलीबजारमा छुटै कोठा लिएर बस्न थालिन् । उनी बिजुलीबजारकी रेणु भट्टराईलाई कहिल्यै बिर्सिन्नन् । उनले कोठा लिएर बस्नेबित्तिकै दीपाश्रीलाई एउटा आरी र स्टोभ दिएकी थिइन् । त्यसपछि पछ्यौरालाई गाँठो पारेर पर्दा बनाइन् र कोठामा बस्न थालिन्, दीपाश्री । उनको चिनजानको दायरा बिस्तारै फराकिलो बन्दै थियो । त्यही समयमा शान्तिप्रिय, अनन्त वाग्लेलगायतसँग उनको चिनजान भएको थियो । ‘डिल्लीबजारमा शान्तिप्रिय दाइको अफिस थियो,’ त्यो घटनाले दीपाश्रीलाई सुस्केरा हाल्न बाध्य बनाउँछ, ‘२ बज्यो कि उहाँको अफिसबाहिर पुगिहाल्थेँ र बसिरहन्थेँ । अनि उहाँहरूले खाजा खाने वेला मलाई पनि खुवाइहाल्नुहुन्यो । चिउरा र चना खान पाइन्थ्यो ।’ गोजीमा दाम नहुँदा उनका पैताला काठमाडौंका गल्लीहरूसँग निकै परिचित छन् । यतिसम्म कि एकपटक दसैँमा दीपाश्री घर जानै सकिनन् किनकि उनीसँग गाडी भाडा थिएन । घरमा बुबालाई व्यस्त भएकाले नआउने जानकारी दिइन् ।
मातृत्व प्रेम त पहिल्यै गुमाइसकेकी थिइन् दीपाले । त्यो दसैँमा काठमाडौंमा एक्लै बसेर खुब रोइन् दीपाश्री । ‘जब बुबाले थाहा पाउनुभयो अनि खुब रोएँ,’ दीपाश्री भन्छिन्, ‘पछिपछिको दसैँमा घर जान कहिल्यै छुटाइनँ ।’ तर, उनले यस्तो कुरा कहिल्यै पनि अरूलाई सेयर गरिनन् । मान्छेले कमजोरी थाहा पाए भने हेप्न थाल्छन् भन्ने लाग्थ्यो उनलाई । दीपाश्रीमा हिरोइन र दीपकराजमा हिरो बन्ने चाहना झन्झन् उत्कर्षमा पुग्दै थियो । ०५२ सालको एक दिन दीपकराजले दीपाश्रीलाई एउटा प्रस्ताव राखे, ‘मैले रामविलास र धनियाँको कार्यक्रमको तयारी गरेकोे छु, तिमीजस्तै क्यारेक्टर खोजिरहेको थिएँ । तिमी धनियाँ बनिदिनुपर्यो ।’ दीपाले भनिन्, ‘त्यस्तो क्यारेक्टर गर्न मैले कहाँ सक्छु र ?’ तर, दीपकराजले कन्भिन्स गराइछाडे र उनीहरूले सुरु गरे, रेडियो नेपालमा अर्को नाटक रामविलास–धनियाँ ।
नाटकमा दीपकराज गरिब हुन्थे भने दीपा असाध्यै धनाढ्य । उनीहरू प्रेमी–प्रेमिका थिए । रामविलासले गरिब भएका कारण धनियाँलाई बिहे गर्न सकेका हुँदैनथे । धनियाँको बुबाआमाले धेरै सम्पत्ति भएको केटा खोज्थे । रामविलास भन्थ्यो, ‘म पैसा कमाएर ठूलो घर बनाएपछि बिहे गर्छु है ।’ धनियाँले भन्थिन्, ‘छिटो बिहे गर्नुप¥यो । यत्रो नाटक गरिएको छ, रेडियोमा काम गरिरहेका छौँ । अब त पुगेन र ?’ नाटकको स्क्रिप्ट दीपकराज लेख्थे । त्यो कार्यक्रम रेडियो नेपालकै सबैभन्दा चर्चित थियो । ‘स्रोताहरूले हामीलाई साँच्चिकै प्रेमी–प्रेमिका ठान्दा रहेछन्,’ दीपाश्रीको अनुहारमा आश्चर्यको भाव झल्कन्छ, ‘बोराका बोरा चिठी आउँथे ।
तीन–चार घन्टा लगाएर चिठी छान्थ्यौँ । र, उत्कृष्टलाई वाचन गथ्र्यौं । मलाई त चिठी फाल्न पनि माया लाग्थ्यो ।’ पछि त उनीहरूलाई कार्यक्रमको स्क्रिप्ट नै आवश्यक परेन । उनीहरू नाटकमा साँच्चिकै प्रेमी–प्रेमिका हुन्थे । प्रेममै डुब्थे । जुन अभिनय श्रोताले निकै मन पराएका थिए । त्यो कार्यक्रमले उनीहरूलाई थप नजिक्यायो । दीपाश्रीले दीपकराजजीबाट दीपकराज भन्न थालिन् । दीपकराज भने दीपाजी नै भनी सम्बोधन गर्थे । बिस्तारै दीपाश्री दीपकराजप्रति आकर्षित हुन थालिन् ।
दीपकराजले पनि दीपालाई निकै केयर गर्न थाले । नारीप्रतिको सम्मान देखेर दीपाश्री उनीप्रति नतमस्तक नै थिइन् । त्योभन्दा बढी दीपकराजको लेखन कला र ‘कन्भिन्सिङ पावर’प्रति बढी प्रभावित थिइन् दीपाश्री । ‘उसको केयर गर्ने शैली अर्कै प्रकारको थियो,’ दीपाश्री भन्छिन् । दीपाश्री र दीपकराज चार वर्ष रेडियो नाटकमा मात्र सीमित रहे । त्यसपछि दीपाश्रीले देवीलगायतको सिरियलमा अभिनय गर्न थालिन् । दीपकराज पनि ट्वाक्क टुक्क, काउकुती, तैं चुप मै चुपलगायतका सिरियलमा अभिनय गर्न थाले । नयाँ पत्रिका
Previous Articleनेपालमा आइएनजिओको डरलाग्दो धन्दा
Next Article मुस्ताङ कागबेनीमा वायु ऊर्जाको परीक्षण