बुटवल, २ पुस – पाँच वर्षदेखि बुटवलआसपास क्षेत्रमा हत्या र डकैतीको शृंखला चल्दै आएको थियो । सुतिरहेकै अवस्थामा टाउकोमा हानेर मार्ने र गहना लुट्ने घटना एकपछि अर्काे गर्दै बढिरहेको थियो । पाँच वर्षमा पाँचजनाको हत्या भएको थियो भने १५ जना घाइते भएका थिए । तर, पीडितलाई प्रहरीको सधैँ एउटै जवाफ हुन्थ्यो– अनुसन्धान गरिरहेका छौँ ।
दबाब बढ्दै गएपछि केही महिनायता अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेत र इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले घटनाको अनुसन्धानका लागि विशेष टिम गठन गरेका थिए । त्यही क्रममा अर्काे एउटा हत्या भयो । तिहारको मुखमा गत १२ कात्तिकमा देवदह निवासी २१ वर्षीया नमकला पाण्डेको हत्या भएको थियो । हत्यापछि उनको गहना चोरी भयो । इलाका प्रहरी कार्यालयले इन्स्पेक्टर राजु कार्कीको कमान्डमा सोही घटनाको अनुसन्धानका लागि विशेष टिम बनायो ।
विगतमा ठूला अपराध घटनाको अनुसन्धान गरेका एसएसपी बस्नेतले महानगरीय अपराध महाशाखामा कार्यरत अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकारीलाई बोलाएर सहयोग लिए । अनुसन्धानका क्रममा सबैभन्दा जटिल समस्या के थियो भने हत्या गर्ने तथा घाइते बनाउने व्यक्तिलाई कुनै पनि पीडितले देखेका थिएनन् । त्यसकारण अपराधी खोज्न प्रहरीलाई समस्या थियो । गत १८ भदौमा रुद्रपुर–५ बस्ने रनमाया पुनमगरको पनि सोही समूहले हत्या गरी उनको गहनालगायत धनमाल डकैती भएको थियो ।
उनको घरबाट मोबाइलसमेत चोरी भएको थियो । मोबाइलको सिमकार्ड फालिएको थियो । प्रहरीले मंसिरको पहिलो साता मोबाइल फेला पार्यो । नयाँ सिम हालेर बुटवलकै एक ट्याक्सी चालकले मोबाइल प्रयोग गर्दै आएका थिए । उनले प्रहरीलाई श्रीमतीले सो मोबाइल दिएको बताए । उनकी श्रीमती पर्सा जिल्लामा थिइन् । प्रहरीले उनकी श्रीमतीलाई पनि झिकायो ।
श्रीमतीले सर्लाहीका चनरु हजारीले मोबाइल दिएको बयान दिइन् । ‘बुटवल आएका वेला हाम्रो कोठामा बस्न आउँथ्यो, त्यही वेला उसले हामीलाई दिएको हो,’ उनको भनाइ उद्धृत गर्दै प्रहरीले जनायो । प्रहरीको ध्यान हजारीतर्फ खिचियो । प्रहरी टोली उनको घर खोज्दै सर्लाहीको सुन्दरपुर पुग्यो । निकै मिहिनेत गरेपछि ६० वर्षीय चमरु पक्राउ परे । सोधपुछ नगरी उनलाई गाडीमा राखेर प्रहरीले बुटवल ल्यायो । र, मोबाइलको विषयमा सोधपुछ सुरु ग¥यो । उनले आफूले सो मोबाइल नदिएको र कुनै पनि घटनामा आफू संलग्न नभएको बताए । घटनामा उनको संलग्नताको प्रमाण पनि प्रहरीले जुटाउन सकिरहेको थिएन । जसकारण प्रहरीको तनाव बढिरहेको थियो ।
अपराध अनुसन्धानमा कुनै वेला सानो ‘ट्रिक’ले ठूलो रहस्य बाहिर ल्याउन सक्छ । डिएसपी मरासिनी एक दिन खाना खाइरहेका थिए । उनी त्यही घटनाबारे सोच्दै थिए । निकै मिहिनेत गरेर पक्राउ गरेका व्यक्तिको घटनामा संलग्नता जोड्न सकिएको थिएन । एक्कासि उनको दिमागमा एउटा कुरा ‘क्लिक’ भयो । पक्राउ परेका हजारीले आफू रिक्सा चलाउन बुटवल आएको बताएका थिए । तर, चिन्ने व्यक्तिहरूले उनले रिक्सा चलाउने कुरा गलत भएको बताएका थिए ।
डिएसपी मरासिनीले बजारबाट एउटा रिक्सा ल्याए । रिक्सामा दुईजना प्रहरीलाई राखे । अनि हजारीलाई भने, ‘ल यो रिक्सा चलाऊ ।’ करिब १० मिटरजति रिक्सा चलाएपछि उनले रिक्सा पल्टाए । प्रहरीले उनका कुरा झुट प्रमाणित गर्यो । त्यही झुटबाट प्रहरी अनुसन्धानको सफलता सुरु भयो । आफ्ना दाबी झुट हुँदै गएपछि उनले अपराध लुकाउन सकेननन् । ‘सर, हम आपको सब बताते हेँ,’ उनले डिएसपी मरासिनीको हात समातेर भित्र लिएर गए, जहाँ उनले आफ्नो अपराध यात्राको सबै कहानी बताए । उनले पाँच वर्ष पहिलेदेखिका हत्या र डकैतीका सबै घटना स्विकारे ।
Previous Articleनेपाली आकाशमा पाहुना चरा
Next Article ख्याल गर्नुस्, कलेज जाने तपाईको छोराछोरी के गर्छन् ?