काठमाडौँ, २ पुस – रुस, युरोप तथा चीनलगायतका देशबाट नेपाल भित्रिएका एक सय ५० भन्दा बढी प्रजातिका पक्षी हिउँदभरि नेपाली आकाशमा विचरण गर्ने गर्छन् । भनिन्छ, प्राकृतिक कुरालाई कुनै राजनीतिक सिमाना र छेकबारले रोक्न सक्दैन । त्यसैकारण विदेशी पाहुना चरा हरेक वर्ष हिउँदको सिजनमा नेपाल आउँछन् र करिब तीन महिनाको नेपाल बसाइपछि स्वदेश फर्कन्छन् ।
पाहुना चराको अवस्था अवलोकन गर्दै पोखरा, चितवन हुँदै नलवपरासी पुग्नुभएका पक्षीविज्ञ डा. हेमसागर बरालले भने , पोखरा, चितवनका आकाशमा आगन्तुक चराले विचरण गरेको सजिलैसँग देख्न पाइयो । पक्षीहरू आफ्नो अनुकूलतामा विश्वका जुनसुकै देशमा विचरण गर्न स्वतन्त्र छन्, मौसम परिवर्तन, हावापानीको प्रभाव जस्ता कारणले चरा निश्चित अवधिका लागि अनुकूल मौसम र ठाउँको खोजीमा बासस्थान छाडेर हिँड्ने गरेको पक्षीविद् बरालले बताए । अहिलेको मौसम पाहुना चराका लागि विचरण गर्न आकाशमा उडान भर्न निकै लोभलाग्दो छ । पाहुना चराका हुलका हुल पोखरा र चितवनका आकाशमा उडिरहेका हामी सहजै देख्न पाउछौँ, डा. बरालले भने ।
हरेक हिउँदेयाममा रुसी, उत्तरी युरोप, मङ्गोलिया र चिनियाँ चरा नेपालमा घुम्न, बच्चा कोरल्न र विचरण गर्न नेपाल आउने गर्छन् । उत्तरी ध्रुवमा हिउँ पर्ने, आधा दिनमात्र उज्यालो हुने, बासस्थान बिग्रने, आहारको कमी हुने भएकाले ती क्षेत्रबाट चरा दक्षिणी भेगमा उडान भर्ने गर्छन् । यसपटक मनसुनको अवधि लामो भएकाले अक्टोबरको पहिलो सातासम्म आइपुग्ने चरा नेपाली आकाशमा प्रवेश गर्न नसके पनि पछिल्लो समयमा मौसममा आएको सुधारले झण्डै १५० प्रजातिका उत्तरी ध्रुवका चरा हाल नेपाली भूमिमा प्रवेश गरिसकेका छन् । गोरखापत्र
Previous Articleनेपालमा हुक्का र चुरोट
Next Article पाँच वर्षपछि खुल्यो खतरनाक सिरियल किलरको रहस्य