काठमाडौँ, १ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराई र तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव तत्कालै अघि बढाउन माग गरेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका दुई नेताले प्रस्ताव अघि बढाउनुको साटो पहिले चुनाव घोषणा गरिए आन्दोलन चर्काउने चेतावनी पनि दिए ।
भट्टराई र ठाकुरले सत्ता घटकबाट प्रतिपक्षी एमालेको संसद अवरोध छल्न संशोधन प्रस्ताव फिर्ता लिने अनि चुनाव घोषणा गर्ने तयारीबारे आइरहेका समाचारबारे प्रधानमन्त्रीको धारणा बुझ्न चाहेका थिए । प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव परिमार्जन गर्ने सोच बनाइरहेको भए पनि फिर्ता लिने सम्भावना नरहेको भनी दुई नेतालाई आश्वस्त तुल्याएको बालुवाटार स्रोतले बतायो ।
नयाँ शक्ति संयोजक भट्टराईले पहिले आन्दोलनकारी पक्षको माग सम्बोधन हुनेगरी संविधान संशोधन, त्यसपछि मात्रै चुनाव घोषणा गर्ने बाटो सुल्टो भएको भन्दै सरकारले अन्यथा निर्णय लिए समस्या झन् बल्झने सुझाव आफूले प्रधानमन्त्रीलाई दिएको जानकारी दिए । ‘संशोधन प्रस्ताव अघि बढाउनुको सट्टा प्रस्ताव फिर्ता लिने वा निस्क्रिय गर्ने अनि चुनाव घोषणा गरिहाल्ने उल्टो बाटो नहिड्नुहोस् भनी हामी दुवैले प्रधानमन्त्रीलाई भन्यौं,’ पौने घण्टाको भेटपछि भट्टराईले भने, ‘प्रधानमन्त्रीले संशोधन प्रस्ताव परिमार्जन गराएर भएपनि अघि बढाउने कुरा राख्नुभएको छ । त्यसपछि मात्रै चुनावको मिति घोषणा गर्ने कुरामा उहाँ आफू स्पष्ट रहेको बताउनु भएको छ ।’
भट्टराईका अनुसार प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेका केही शीर्ष तहका नेताले दिएका फरक, फरक अभिव्यक्तिका कारण सर्वसाधारणमा अलमल उत्पन्न हुन गएको भन्दै संशोधन प्रस्ताव कुनै पनि हालतमा अघि बढाउने, बरु कन्टेन्टमा आवश्यक परिमार्जनका लागि लचकता देखाउन मोर्चालाई आग्रह गरेका थिए ।
मधेसी मोर्चाको तर्फबाट कुरा राख्दै तमलोपा अध्यक्ष ठाकुरले सीमांकन लगायत विषयमा अझै पनि आफूहरुको असन्तुष्टि रहेको भएपनि राजनीतिक माग सम्बोधन गर्ने उपाय खोज्न सरकार तयार भए आफुहरुले सहयोग गर्ने बताएका थिए । ‘तपाईंहरुको एउटै कुरा आउनुपर्यो, अनि मात्रै हामीलाई आफ्नो धारणा बनाउन सजिलो हुन्छ,’ ठाकुरले दाहाललाई भने, ‘मूख्य कुरा समस्या समाधान गर्ने कि नगर्ने भन्ने हो । बीचैमा चुनाव घोषणा गरेर जाने हो भने हामीले आफ्नो पोजिसन् स्पष्ट गर्नुपर्ने हुन्छ ।’ ठाकुरले मोर्चाको सहमतिमा संविधान संशोधन नभए कुनै पनि निर्वाचन बहिष्कार गर्ने चेतावनी समेत दाहाललाई दिएका थिए ।
दुई दिनअघि ठूला तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच बैठकमा संशोधन प्रस्ताव अघि बढाउन नसकिने, फिर्ता लिन पनि नसकिने भए बीचको बाटो प्रयोग गरी प्रस्ताव निस्क्रिय गर्न सकिने विकल्पले प्रवेश पाएको थियो । त्यसपछि पुरानो संरचनामा स्थानीय निकाय चुनाव घोषणा हुन सक्ने टिप्पणी स्वयं सत्तारुढ नेताहरुले नै गरेका थिए । अनि एमाले नेताहरुले स्थानीय चुनावभन्दा पहिले संघीय संसद चुनाव हुनुपर्ने बताएपछि मोर्चा झन् सशंकित भएको थियो । सत्ता र प्रतिपक्षमा बाँडिएका ठूला तीन दलको ‘रवैया’ बारे एकपल्ट सोधेर प्रष्ट हुने निर्णय मोर्चाको बुधबार सम्पन्न बैठकले लिएको थियो ।
मधेसी मोर्चा नेताले शनिबार अपराह्न ४ बजे कांग्रेस सभापति शेरबहादुर देउवालाई सिंहदरबारमा भेट्ने भएका छन् । देउवाले तमलोपा अध्यक्ष ठाकुरलाई शुक्रबार बिहान फोन गरी शनिबार अपराह्न भेट्ने प्रस्ताव गरेका थिए । शनिबार दिउँसो गोरखा जान लागेका भट्टराई भने उक्त भेटमा सहभागी हुने छैनन् ।