बागलुङ, २८ मंसिर – अपांग, दलित र विपन्न बालबालिकाको पढाइको गुणस्तर विकास गर्दै उनीहरुको पारिवारिक क्षमता समेत विकास गर्न बागलुङमा समावेशी शिक्षा प्रवद्र्धन परियोजना संचालन हुने भएको छ । प्लान इन्टरनेशनलको सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले जिल्ला शिक्षा कार्यालयको समन्वयमा उक्त परियोजना संचालन गर्न लागेको हो । जिल्लाका १२ गाविसका २५ विद्यालयमा संचालन हुने यो परियोजनामा दलित र आर्थिक विपन्नताको कारण पढ्न नसकेका बालबालिका र उनीहरुका अभिभावक तथा विद्यालय लक्षित गरी यो परियोजना संचालन हुने कार्यक्रम व्यवस्थापक सूर्यप्रसाद कंडेलले बताए । गत बर्षको भूकम्पपछि प्रयोगमा ल्याइएको सुरक्षित विद्यालय अभियानलाइ समेत जोडेर यो परियोजनाले हरेक विद्यालयमा समावेशीकरण र अपांगतालाई विशेष कार्यक्रम संचालन गर्नेछ । बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, अभिभावक र शिक्षकलाइ तालिम र शिप दिने, अपांग मैत्री विद्यालय निर्माणमा सहजीकरण गर्ने तथा बाल संरक्षण बारे सचेतीकरण अभियान संचालन गर्ने समेत योजनाको लक्ष छ । एउटै कक्षामा सबै प्रकारका अपांगता भएका बालबालिका र अन्य बालबालिकलाइ संयुक्त रुपमा पढाउने व्यवस्था गर्ने अन्तिम लक्षलाइ भेट्न यो परियोजना प्रभावकारी हुने सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले बताए । ‘अहिले सम्म हामीले बहिरालाइ छुट्टै, दृष्टीविहिनलाइ छुट्टै राखेर पढाएका छौं’ उपाध्यायले भने, ‘अवको शिक्षा सबै समावेश भएको र उनीहरुलाइ एउटै ढोकाबाट सबै सेवा र शिक्षा पुगेको हुनुपर्छ भन्ने हो ।’ त्यो तत्काल संभव नभएपनि त्यस तर्फ लाग्नका लागि यस्ता परियोजना प्रभावकारी बन्न सक्ने उनले बताए । नमूना कार्यक्रम संचालन गरेर अन्य स्थानमा देखाउन सकेमा पनि अभियानले सार्थकता पाउने उनले बताए । फाउन्डेसनले डिसेम्बर महिना भरी प्रारम्भिक चरणको काम गरेपछि सन् २०१७ र २०१८ मा यो परियोजना संचालनमा ल्याउने पक्का भएको हो । यो अवधिमा जिल्ला शिक्षाका शाखा अधिकृत, विद्यालय निरिक्षक र श्रोत व्यक्तिलाइ दुइदिने बाल संरक्षण सम्बन्धी तालिम दिने, जिल्लाका सबै कार्यालयका महिला कर्मचारीलाई पनि विशेष तालिम र अभिमूखिकरण संचालन गर्ने, विद्याबस्लय सुधार योजनामा भौतिक सुरक्षा र अपांग मैत्री पूर्वाधार निर्माण तथा दलित मैत्री वातावरण बनाउने, जिल्ला शिक्षा कार्यालयले जारी गरेको ३० बुँधे निर्देशनको पूर्ण पालना, संस्थागत विकासलाइ पनि यो अभियानमा केन्द्रीत गरिने छ । बागलुङका सामुदायिक विद्यालयमा अहिले कुल विद्यार्थीको २५ प्रतिशत बालबालिका अध्ययन गरेको कार्यालयको तथ्यांक छ । उनीहरुलाइ र विशेष कक्षा संचालन भएका ५ वटा विद्यालयलाइपनि यो परियोजनाले विशेष लक्षित क्षेत्र बनाएको छ । गलकोट उमावि, बागलुङ बहिरा आवासीय मावि, बागलुङ विशेष कक्षा उपल्लाचौर, उत्तरगंगा मावि र जनताधन उमाविलाइ यो कार्यक्रममा समावेश गरिएको छ । त्यस बाहेक दलित बालबालिका अत्याधिक भएका क्षेत्र छनौटमा परेका छन् । बोबाङ, अधिकारीचौर, खुंगा, देविस्थान, मल्म, हटिया, कांडेवास, नारायणस्थान, पैयुपाटा, अमलाचौर, हरिचौर र नरेठाँटी यो परियोजनाको क्षेत्रमा रहेको छ । यो परियोजनाले बालबालिकाको संरक्षण र गुणस्तरीय सिकाइमा काम गर्ने भएकोले ती क्षेत्रमा परेका बालविकास केन्द्रको प्रवद्र्धनमा पनि काम गर्ने बताइएको छ । नयाँ र पहिलो पटक संचालन गरिने भएकोले यो कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला शिक्षा, विद्यालय निरिक्षक, श्रोत व्यक्ति, महिला तथा बालबालिका कार्यालय, जिल्ला अपांग संजाल र संचारकर्मीको भूमिका महत्वपूर्ण हुने कंडेलले जानकारी दिए । फाउन्डेसनका कावा अध्यक्ष यामप्रसाद कंडेलको अध्यक्षता, लालबहादुर पूर्जाको संचालनमा सम्पन्न कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय र दलित संजालका सचिव होमनाथ सुवेदीले बोलेका थिए ।
Previous Articleबृद्धभत्ताको लागि बैंकमा खाता खोल्नेको भीड
Next Article बागलुङको राजनीति र एमालेको जिल्ला अधिवेसन