कृष्ण प्रसाद शर्मा
अहिलेका राजनैतिक नेताहरूको गतिविधी देख्दा हामी आजसम्म कसरी स्वतन्त्र रहेका रहेछौ भन्ने सोचेर अचम्म लाग्छ । अफ्रिकादेखी एशियाका अधिकांश भागमा आफ्नो हैकम चलाएको बेलायत नेपालका भलभद्र र अमरसिहंका खुकुरीसँगै डराएर भागेका हुन वा हाम्रोमा त्यो बेला उनीहरूलाई काम लाग्ने केही नभएर छाडेका हुन । यो एउटा छुट्टै बहसको बिषय बन्ला । नेपालको पटक–पटकको राजनैतिक परिवर्तनमा भारतको सहयोग थियो तर यसको मतलब भारतले हाम्रो घरनै चलाओस् भन्ने कदापी होईन । ईतिहासमा जुन–जुन देश टुक्रिएर गए त्यसको शुरुवाती भाषा र नागरिकता नै कारक बनेको थिएभने केही व्यक्ति विशेष भने यो अभिष्ट पुरा गर्न खलपात्रका रुपमा प्रयोग भएका हुन । यहाँ नेपालमाथी भारतको आँखा प्रचण्ड सरकारको पालामा मात्रै लागेको होईन त्यसैले यो सरकारलाई मात्र पनि दोष दिन चाहन्न । हाम्रो देशका जनताको जीवनस्तर हेर्दा दक्षिण कोरीया, भुटान र स्वीजरल्याण्डको विकास कसरी गरे भनेर जोड दिनुपर्ने बेला हो तर नेताहरूको गतिबिधि हेर्दा मिर जाफर, महेन्द्र चौधरी र लेण्डुप दोर्जेको थिए जान्न जरुरी देखियो ।
गतवर्षको भारतको नाकाबन्दी हामीले भारतविरुद्ध कुनै ठूलो बिनास गरेर भएको थिएन जुन कुरा त्यहाँको संसदमा नेपाल मामिलाको बहसका क्रममा त्यहीका केही नेताहरू र विदेशमन्त्री शुष्मा स्वराजले समेत यो पहिलो नभएर तेस्रो हो भनेकी थिईन । जुनकुनै भुपरिवेष्ठित राष्ट्रका लागि परवाहन अधिकार हो तर हामी भुपरिवेष्ठित भन्दापनि भारतवेष्ठित हुन वाध्य छौ । फिजी कसरी टुक्रियो, बंगलादेश कसरी टुक्रियो, क्रिमिया कसरी टुक्रियो यसको अध्ययन गर्दा आत्मनिर्णयको अधिकारकार सहितका कतिपय कुराहरू र नागरिकतानै प्रमुख देखिन्छ । भारतको एउटा किताबमा भनिएको छ यदि कुनै समाज वा देशमाथी आक्रमण गर्ने होभने पहिला भाषा र संस्कृतीमार्फत आक्रमण गर्नुपर्छ । त्यसैको सिको हामी कहाँ भएको आभाश हुन्छ । अहिले सरकारले ल्याएका सबै संशोधनमा प्रचण्डको कुनै बैमानी नहोला तर देशलाई भने खतरा छ नै । यो कुरामा एमाले अडान लिएर मात्रै कसैले विरोध गर्नुपर्छ भन्ने ठान्दछ भने सरासर गलत मानिने छ ।
हाम्रा पार्टिहरू झगडा गर्नु फुट्नु र मिल्नु हाम्रो आफ्नो भित्री कुरा हुनुपर्ने हो तर आफ्नो स्वार्थका लागि हामीलाई फुटाउने र जुटाउने काम हुँदा हामी किन कुरा बुझ्न सकेका छैनौ वा नबुझे जस्तो गरेका छौ । अंगिकृत नागरिकताको हाम्रो कानुनी प्रावधान निकै लचिलो छ । विवाह गरे लगत्तै पाउने गरी हुनु नै हाम्रो देशको लागि खतरा हो । कम्तिमा केही बर्ष हुनै पर्दछ । २००९ सालदेखी २०७३ सालसम्म नेपालमा ३ लाख ६४ हजार ५३ जनाले अंगिकृत नागरिकता पाईसकेका छन् । यो क्रम र गती तीव्र बन्दै गएको छ । यदि फिजीलाई हेर्ने हो भने सन् १९७७ मा भारतको दबाबमा भारतीय मुलका नागरिकलाई नागरिकता दिने निर्णय भयो । करीब ३ वर्ष फिजी संविधानबिहिनको अवस्था रहो । यसैलाई मौका ठाने फिजीमा जन्मेका सबैलाई नागरिकता दिन संविधानमा उल्लेख गराईयो । यसको साथै सोही ऐनमा कुनै बालक निजको बाबुले फिजीको नागरिकता लिनुभन्दा पहिले विदेशमा जन्मेको भएपनि नागरिकता पाउने प्रावधान समेत राखियो । त्यो नतिजा सन् १८८१ मा केवल ५ सय ८८ को संख्यामा रहेका भारतीयहरूको संख्या सन् १९९६ मा आईपुग्दा ३ लाख ३९ हजार पुग्यो । यही नक्कली नागरिकताका आडमा महेन्द्र चौधरी प्रधानमन्त्री भएभने कुल ७१ सीटमा ३७ सीट भारतीयहरूले हात पारे । यही घटनाक्रमको पुनरावृत्ती अहिलेको राजनैतिक घटनाक्रमले प्रष्ट पार्दछ ।
सरकारले हिन्दी भाषालाई कामकाजको भाषा बनाउने सुरसारमा थियो तर जनदबाबका कारण अब फेरी भाषा आयोगको प्रतिवेदनलाई संविधनको अनुसुचिमा राख्ने गरी घुमाउरो पाराले लान खोजेको छ । भाषा मार्फत आक्रमणको यो अर्को तयारी छ जुन देश बिखण्डनको अर्को प्रमुख औजार हो । संघियताको माग कुनै आन्दोलनको थिएन यो बीचमा बाईप्रोडक्टका रुपमा आयो । गणतन्त्रका लागि लडेपनि संघियताका लागि कसैले सोचेको थिए तर आईपुग्यो । मधेशका जनतामा गरिबी अशिक्षा र घेरै समस्या छ तर त्यहाँका रैथानेका लागि नागरिकता र भाषाको भन्दा बढी पीर जीवस्तरको छ । मधेश भित्रका जनताहरू अधिकांश एमाले, माओबादी र काँग्रेसको सर्मथक छन र सीट पनि ल्याएका छन् तर नवआगन्तुक नागरिकहरू जो मधेशको माटोभन्दा यसलाई उपयोगको उर्वरभुमीका रुपमा प्रयोग गर्न खोजेका छन् । त्यहाँबाट जितेका ठुला पार्टिका नेताहरू जिल्लामा गएर बुझाउन सकेका छैनन् तर मोरङबाट हारेका उपेन्द्र यादव, नवलपारासीबाट हारेका हृदयस त्रिपाटी, सर्लाहीबाट हारेका महन्त ठाकुर र सर्लाहीबाटै हारेका राजेन्द्र महतोले तराईका जनताको ठेक्का मेधेशी नेताका रुपमा लिएका छन् । स्थानिय जनताले नपत्ताएका तर अरूले पत्ताएकाहरू अहिले देशको अखण्डताको बिपक्षमा उभिएका छन् ।
राजधानीतिर नेपाल प्रहरीले सामाजिक संजालमा प्रहरीले हराएको मोटर साईकलको खोजी गरिदिएन भनेर कमेन्ट गर्नेलाई साईबरक्राईमको चक्मा दिन्छ तर मधेश स्वराजको नाममा बितण्ड मच्चाउने सिके रावतलाई टुलुटुलु हेरेर बसेको छ । देश भित्रको समस्या कहिले लालु यादवको दर्शनभेट मार्फत त कहिले लैनचौरको भातखुवाई पछि मधेशी नेताहरूले बोली फेर्दछन् । मधेशका नेताहरूको पार्टि क्षेत्रिय हुन र उनिहरूको सोचपछि क्षेत्र विशेष छ । उनिहरूको धर्म नै क्षेत्रियता हो तर सिङ्गो राष्ट्रलाई प्रतिनिधित्व गर्ने काँग्रेस, एमाले, माओबादी र राप्रपाले देशलाई पहिलो शर्त बनाउनु पर्छ त्यस पछि को मुख्यमन्त्री होला को मन्त्री भोली त्यो अहिलेको आवश्यकता होईन ।
अंग्रेजहरू भारत आउँदा बंगाल कति राम्रो थियो तर मीर जाफर जस्ता शासकले देशका सुचना बाहिर ल्याएर अँग्रेजका पछि लागे पछि सुन्दर वंगालको अधोगती शुरु भयो । हाम्रो देशमा पनि कतिपय सत्तापक्ष एवं बाहिरीयाहरूमा केही मीर जाफरहरू उदाए भएका छन् । जुन देशका लागी ठूलो विडम्वना हुनेछ । मधेशबारे कोही अनुदार हुन आवश्यक छैन । मधेश झरेका पहाडीहरू त्यहाँ अहिले रैथाने भई सके तर त्यही भुमीमा बसेर कहिले नेपालको झण्डा फर्ने कहिले नेपालको नामै फेर्ने कुरा गरिरहेका बेला अब देशको चिन्ता उनीहरुमा छ भनेर कसरी पताउने जनताहरूले । त्यसैले यो सानो देश जहाँ यतिका जातीहरू मिलेर बसेका छन् जसलाई उचालेर देशको आस्तित्व समाप्त पार्न उद्दत केही बौद्धिकदेखी केही नेपालबासी भारतीहरूबाट सम्पुर्ण देशभक्तहरू एक हुन आवश्यक छ । भारतको नेपाल टुक्राउने योजना एक दुई बर्षको होईन । यसलाई बुझौ र राष्ट्रियताको पक्षमा लागौ ।
Previous Articleतेक्वान्दोको क्षेत्रीय छनोटमा बागलुङलाई ८ स्वर्ण पदक
Next Article भारतीय एकाधिकार