काठमाडौँ, २७ मंसिर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्यालेन्डर बनाएर २०७४ साल माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराइने बताएका छन् । नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा आयोजना गरेको ‘‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा देउवाले भने ‘निर्वाचन नभएर देश पछाडि परिसक्यो ।
देशलाई विकासको बाटोमा उन्मुख गर्न कुनै पनि हालतमा चुनाव हुन्छ । चुनाव रोकिँदैन ।’ सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूले निर्वाचन गर्ने विषयमा हिजो मात्रै छलफल गरेको बताउँदै एमाले निर्वाचनको पक्षमा रहेको स्पष्ट पारे ।
एमाले अध्यक्षसँग मिलेसम्म नयाँ स्थानीय संरचना नभए पुरानो संरचनाका आधारमा भए पनि स्थानीय निकायको निर्वाचन गर्नेबारेमा आफ्नो कुराकानी भएको उनले बताए । पूर्वप्रधानमन्त्री देउवाले संविधान संशोधनप्रति असन्तुष्टि भन्दै एमालेले मधेस र पहाडबीच झगडा गराएर देशमा विभाजन ल्याउन खोजेको आरोप समेत लगाए ।
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान परिमार्जन हुँदै जाने दस्तावेज भएको बताउँदै संविधान संशोधनका विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आउनु दुःखद भएको बताए । कोइरालाले सबै दललाई मिलाएर राष्ट्रिय सहमतिका साथ मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन नेपाली काँग्रेसकै अग्रसरतामा हुने बताए ।
पार्टीका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान संशोधन दलहरुको साझा एजेन्डा भएको बताउँदै क्षणिक फाइदाका लागि एमालेले संविधान संशोधन गर्न हुँदैन भनी अनर्गल प्रचार गरिरहेको आरोप लगाए । केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्वअध्यक्ष गोविन्द भट्टराईले सडकमा बसेर राष्ट्रियताको कुरा गर्दैमा राष्ट्रियता बलियो नहुने बताए ।
अर्का केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्वअध्यक्ष प्रदीप पौडेलले एमालेले आफ्नो सरकार रहेका बेला संविधान संशोधन र कार्यान्वयनका कुनै चासो नदिएको तर अर्को सरकारले काम गर्न खोज्दा अनावश्यक भाँजो हालेको आरोप लगाए ।
क्यालेन्डर बनाएर तीन तहको निर्वाचन – सभापति देउवा
Previous Articleमैले किन माओवादी त्यागे – रेखा थापा
Next Article संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ – अध्यक्ष ओली