नेपालगन्ज, २७ मंसिर – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गरेका छन् । प्रेस चौतारी, बाँकेले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष फैलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको हो ।’
अब राजनीतिक सहमतिको बाटो के हुन सक्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनको छोटो जवाफ थियो – ‘संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ ।’ ओलीले भने ‘जनता हिमाल, पहाड र तराई छुट्याउन चाहँदैनन् । अनि किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव ल्याइयो ?’
जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरु नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको टिप्पणी गर्दै उनले भने ‘सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले जनतालाई खुसी बनाएको छैन, रुवाएको छ, पीडामा पारेको छ ।’ एक अर्को प्रश्नको जवाफमा अध्यक्ष ओलीले राजनीतिका नाममा मुलुकमा सधैँ द्वन्द्व उद्योग सञ्चालन गर्नेहरुसँग जनता सावधान हुनुपर्ने बताए ।
संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ – अध्यक्ष ओली
Previous Articleक्यालेन्डर बनाएर तीन तहको निर्वाचन – सभापति देउवा
Next Article किम्फमा कमलरीको कथा ‘उर्मिला’ उत्कृष्ट