पोखरा,२७ मंसिर-पश्चिमाञ्चलबाट फुटबल, जुडो र एथलेटिक्सका खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । पोखरा रंगशालामा भएका स्पर्धाबाट पुरुष तथा महिलातर्फका २०/२० जना खेलाडी छनोटमा परेका छन् ।
फुटबलका लागि राष्ट्रिय टिमका कप्तान अनिल गुरुङसहित विमल घर्तीमगर र मानबहादुर तामाङ टिममा परेका छन् । कास्कीबाट दीप कार्की, रवि थापा, विमल बस्याल, आशिष केसी, सुशील केसी, शिव सुवेदी र विमल राना टिममा परेका छन् । स्याङ्जाबाट राजाबाबु थापा, सरोज योञ्जन, सुभाष गुरुङ, लक्ष्मण रुचाल, विश्वास श्रेष्ठ, रूपन्देहीबाट आशिष गुरुङ, डोना थापा र अशोक थापा छन् भने तनहुँबाट आश गुरुङ र विश्व अधिकारी परेको छनोट समितिका संयोजक कृष्ण थापाले बताए ।
फुटबलको महिलातर्फ नवलपरासीकी शुभेच्छा थापा, विमला विक, बेलमाया थापा, संगीता पुन, हिना राणा, उदय थापा र सुनीता विकलगायत सातजना परेका छन् । कास्कीकी स्मृति गुरुङ, सोनु नेपाली, रूपन्देहीकी चेतमाया जिसी, इन्द्रा सेन, पुष्पा थापा ‘क’ र पुष्पा थापा ‘ख’, सोनिया भट्टराई, स्याङ्जाबाट सोरस्मा थापा, रिया बानु, रेणुका हमाल, शारदा नेपाली, शोभा पंगेनी र अस्मिता राणा पनि टिममा परेका छन् ।
छनोट समितिमा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापासहित उपेन्द्रमान सिंह, बालगोपाल महर्जन र शम्भु केसी सदस्य थिए । छनोट प्रतियोगिताको आइतबार सम्पन्न फाइनलमा कास्कीले स्याङ्जालाई १–० ले हरायो । तनहुँले रूपन्देहीलाई हराउँदै तेस्रो स्थान पक्का गरेको थियो । छनोटमा परेका खेलाडीलाई आगामी बुधबारदेखि बन्द प्रशिक्षणमा राखिने क्षेत्रीय छनोट समितिले जनाएको छ ।
एथलेटिक्सका इभेन्टमा पुरुषतर्फ गुल्मीका रोहित अधिकारी, केशव कुमाल, कास्कीका कुमार गुरुङ, विकासकुमार साह, कपिलवस्तुका सन्दीप चौधरी, भगवानसिंह घर्तीमगर, जयसराम चौधरी, तनहुँका भद्रबहादुर खत्री, युवराज थापा, पर्वतका प्रकाश कुँवर, अशोक सुनार, लमजुङका जयन्द्र गुरुङ, गोरखाका आर्यन बस्नेत, म्याग्दीका सरोज बस्नेत र बागलुङका चन्द्रबहादुर मल्ल छानिएका छन् ।
महिलामा नवलपरासीकी गुडिया गुप्ता, विपना परियार, कल्पना श्रेष्ठ, दोलमाया महतो, कास्कीकी अनिशा भण्डारी, मनीषा आले, कुसुम रानामगर, सोनु नेपाली, गुल्मीकी सीता सेन, गीताकुमारी विक, तनहुँकी डिलमाया थापा र म्याग्दीकी रिभा कार्की छनोट भए ।
Previous Articleबागलुङ गोल्ड कप फुटबल हुने
Next Article विश्वकै लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुल्यो