बागलुङ, २७ मंसिर – धौलागिरी अञ्चल सदरमुकाम बागलुङ बजारमा आगामी माघमा बागलुङ गोल्ड कप फुटबल प्रतियोगिता–२०७३ हुने भएको छ । दलित युवा सञ्जाल बागलुङले माघे संक्रान्ति पर्वका अवसरमा आगामी माघ १ गतेदेखी ५ गते सम्म बागलुङको बाङ्गेचौर खेल मैदानमा फुटबल प्रतियोगिता आयोजना गरेको हो । सञ्जालले आइतवार बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरि अञ्चलिक रुपमा फुटबल गतिविधि उल्लेख्य नभएकाले राष्ट्रिय स्तरमा समेत सन्देश प्रवाह हुने गरी प्रतियोगिता आयोजना गरिएको सञ्जालका सचिव राहुल बोहराले बताए । दुई बर्ष अघि सम्म जिल्लाको सर्वाधिक राशिको नियमित इमेज गोल्ड कप आयोजना गर्दै आएको सञ्जालले त्यस यता प्रतियोगिता आयोजना नगरेको र फुटबल गतिविधि सुस्ताएकाले प्रतियोगितालाई बागलुङ गोल्ड कपको नामबाट निरन्तरता दिन थालेको सञ्जालका अध्यक्ष राजकुमार बोसेलले बताए । सञ्जालले गोल्ड कपमा राष्ट्रिय स्तरका खेलाडीहरुको पनि सहभागिता रहने जनाएको छ । गोल्ड कप फुटबल प्रतियोगितामा उपाधि बिजेता र उपबिजेता समूहले क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरस्कार १० हजार, हाइ स्कोर १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, फरवार्ड, गोल रक्षक, अनुशासित टिम, प्रशिक्षकलाई ५÷५ हजार नगद पुरस्कारको व्यस्था गरिएको छ । गोल्ड कप सम्पन्न गर्न कुल ११ लाख ९१ हजार ५ सय रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । बागलुङ गोल्ड कप सम्पन्न गर्न लाग्ने खर्चको लागि सहयोगको संकलन अभियान संचालन गरिने सञ्जालले जनाएको छ ।
Previous Article२७ मंसिर २०७३, ढोरपाटन दैनिक
Next Article राष्ट्रिय प्रतियोगिताका लागि पश्चिमाञ्चलबाट छनोट