कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोपमा अध्यक्ष यामबहादुर रोका सहित २५ जना विरुद्ध एक अर्ब १३ करोड रुपियाँ बिगो दावी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत म्याग्दीमा अभियोजन बुझाए संगै आइतबारबाट आरोपितहरु सँग बयान शुरु भएको छ ।
सहकारी रष्टिार कार्यालय पोखराको चलानी नं. ४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा प्रहरीले थालेको अनुसन्धान पछि गत बिहिबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोगपत्र बुझाएको जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा मंगला गाउँपालिका ३ का निर्वाचित वडा अध्यक्ष रोका समेत १९ जना भने हाल सम्म फरार रहेको प्रहरी श्रोतको भनाई छ । २५ जनाको नाम सहित अभियोगपत्र दायर भएको भए पनि नियन्त्रणमा नआएकाहरु भाग्न सक्ने भन्दै फरारहरुको बारेमा नाम तथा सूचना दिन प्रहरीले इन्कार गर्ने गरेको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आइतबारदेखि थुनछेक बहस शुरु हुने क्रममा आइतबार एक जनाको बयान लिने काम भएको जिल्ला अदालत म्याग्दीका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिनुभयो । बिहीबार अबेर अदालतमा अभियोगपत्र दर्ता मात्र भएकोले आइतबारदेखि थुनछेक बहसका लागि बयान सुरु हुने उहाँको भनाइ छ ।
अभियोगपत्रमा कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाका वर्तमान र पुर्व सञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यहरुलाई विपक्षी बनाइएको छ । २०८१ माघ १८ गते सहकारी रजिष्टार कार्यालयको पत्रानुसार २०८१ माघ २० गते बेनी नगरपालिका–१ का ३६ वर्षिय राजकुमार थापा सहित पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको थियो भने फागुन ७ गते थप एक जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । नेकपा माओवादी केन्द्रबाट मंगला गाउँपालिका–३ मा निर्वाचित वडा अध्यक्ष एवम् सहकारीका वर्तमान अध्यक्ष यामबहादुर रोका सहित १९ जना फरार रहेको प्रहरीले श्रोतले जनाएको छ । अनुसन्धान प्रभावित हुने भनेर फरार रहेकाहरुको नाम सार्वजनिक नगरिएको जिल्ला न्यायाधिवक्ता उपाध्यायले जानकारी दिनुभयो ।
बेनी नगरपालिका–१ का ३६ थापाले सहकारीको १७ करोड ५८ लाख ६३ हजार चार सय २६ रुपियाँ हिनामिना गरेको प्रहरी अनुसन्धानको दावी छ । त्यसैगरी सहकारीका पुर्व प्रबन्धक जलजला गाउँपालिका–३ का ५३ वर्षीय रुद्र गुरुङले १३ करोड ५९ लाख ४८ हजार छ सय नौ रुपियाँ अपचलन गरेको प्रहरी अनुसन्धानको दावी छ । प्रहरीले गरेको अनुसन्धान अनुसार बेनी नगरपालिका–१ की ४९ वर्षीय देवीकुमारी थापाले तीन करोड ७१ लाख चार हजार छ सय एकतिस र रघुगङ्गा गाउँपालिका–५ का ६७ वर्षीय मनप्रसाद थजालीले पाँच करोड ८२ लाख ६६ हजार सात रुपियाँ हिनामिना गरेको उल्लेख छ । अन्नपूर्ण गाउँपालिका–७ का ६६ वर्षीय थमबहादुर गर्बुजा विरुद्ध चार करोड ५५ लाख ९४ हजार दुई सय २७ र बेनी नगरपालिका–४ का ३७ वर्षीय लोकबहादुर पुनले दुई करोड १० लाख ४६ हजार ४४ हिनामिना गरेका छन् । प्रहरीले ६ जनालाई गिरफ्तार गरी सकेको छ भने १९ जना फरारको सुचीमा रहोक छन् । फरार रहेकाहरुले पनि ५२ लाख ९३ हजार देखि सात करोड ४४ लाख रुपियाँ सम्म अपचलन गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको अभियोजनमा सहकारीका सञ्चालक समिति तथा अन्य उपसमितिहरुमा समेत दवाव दिई समितिका पदाधिकारीलाई बाध्यात्मक स्थिति सृजना गराएर सहकारी संस्थालाई नियन्त्रणमा राखि गलत लेखा परिक्षण गराई झुठा प्रतिवेदन सार्वजनिक गर्ने गरेको उल्लेख छ । अनाधिकृत रुपमा कारोवार सञ्चालन गर्ने, सहकारीको रकम अपचलन गरि आफ्नो नाममा निजी सम्पत्ति खरिद बिक्री गरि गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको उल्लेख गरिएको छ ।
चार हजार भन्दा बढी सदस्यको कारोवार गराई सिमीत व्यक्तिहरुलाई मात्र शेयर सदस्य प्रदान गरी सहकारीको रकमबाट लाभ लिन जीवन बिमा गराई सहकारीको रकम हिनामीना गर्ने जस्ता कार्य गरेको उल्लेख छ । त्यस्तै आफूहरुको ऋणको दायित्व भुक्तानी नगरी आम्दानी हिनामिना गराउने, ब्याज छुट खर्च लेखि रकम हिनामिना गर्ने जस्ता कर्य गरेको अभियोजनमा उल्लेख भएको जिल्ला अदालतले जनाएको छ ।
सहकारी ऐन–२०७४ तथा सहकारी नियमावली –२०७५ र संस्थाको बिनियम विपरीत कार्य गरेको तथा संगठित रुपमा सहकारीमा निक्षेप रहेको शेयर तथा बचत रकम नेपाल सरकारको राजश्व अपराधिक लाभ उठाएको दावी गरिएको छ । सहकारी संस्थाका वर्तमान अध्यक्ष तथा मंगला गाउँपालिका–३ का वडा अध्यक्ष यामबहादुर रोका लगायत २५ जनाले एक अर्व १३ करोड ३३ लाख ९९ हजार ३० रुपियाँ पूर्ण रुपमा हिनामिना एवम् अपचलन गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । सुरुमा सहकारीमा रकम अपचलन भएकोले छानविन गर्न भन्दै अध्यक्ष रोकाले नै सहकारी रजिष्टार कार्यालयमा उजुरी दिनुभएको थियो । तर उहाँ आफै पनि पनि अपचलनमा संलग्न रहेकोले माघ २० देखि वडामा सदस्यलाई कार्यावाहक दिएर सम्पर्कविहिन हुनुभएको छ । गाउँपालिकाको सम्पर्कमा वडा अध्यक्ष नरहेको र कार्यवाहक दिएको व्यक्ती सँग पनि सम्पर्कमा नरहेको मंगला गाउँपालिकाले पुष्टि गरेको छ ।
अध्यक्ष यामबहादुर रोका सहित २५ जना बिरुद्ध अभियोजन दर्ता सँगै आइतबार देखि बयान शुरु
Previous Articleअनेरास्ववियुको अध्यक्षमा खुम किसान
Next Article म्याग्दी क्याम्पसमा स्ववियू निर्वाचन तयारी