सुनदेवी रसाइली
प्रजातन्त्र दिवसको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकाको जोमसोमा रहेको शालिग्राम उद्यानमा रहेका भगवान विष्णुको स्वरुप मानिने शालिग्रामलाई तेलमा नुहाएर चिटिक्क पारिएको छ ।
जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयुक्त आयोजनामा आयोजित सरसफाइ कार्याक्रममा जोमसोमा स्थापना गरिएको शालिग्राम उद्यानमा रहेका भगवान विष्णुस्वरुप शालिग्रामलाई तेलमा नुहाइएको हो । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार शालिग्राम उद्यानमा रहेको करिब एक हजार एक सय शालिग्रामलाई हिन्दू विधि अनुसार मन्त्रोचारण सहित तेलमा नुहाएर पुनः यथास्थानमा राखिएको छ । २०७३ सालमा कर्मचारी मिलन केन्द्रको अगुवाइमा मुस्ताङको जिल्ला प्रशासन कार्यालय सँगै शालिग्रामपार्क स्थापना गरिएको थियो । हिन्दू धर्मावलम्बीहरुको पवित्र देवता बिष्णुको स्वरुप मानिने शालिग्राम मुस्ताङको दामोदरकुण्ड हुँदै बहने कालिगण्डकी नदिको बहावक्षेत्रमा मात्र पाइन्छ ।
वि.सं. २०७३ सालमा मुस्ताङका तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अगुवाइमा कर्मचारी मिलन केन्द्र मुस्ताङले उक्त शालिग्राम उद्यान निर्माण गरेको थियो । कर्मचारी मिलन केन्द्र मुस्ताङका अनुसार उक्त समय उद्यान निर्माणका लागि ६ लाख ७३ हजार ५ सय ९७ रुपिंयाँ खर्च लागेको शालिग्राम उद्यानको शिलालेखमै त्यसलाई सुरक्षित गरिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा तीन दिने कार्यक्रम अन्तरगत पहिलो दिनमा शालिग्राम उद्यानमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मायाँ गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार प्रजातन्त्र दिवसको अवसरमा आयोजित तीन दिने कार्यक्रम अन्तरगत फागुन ७ गते अर्थात् मुल दिनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मारहेको मुक्तिनाथ मन्दिर परिसरमा सरसफाइ तथा साँझमा दिप प्रज्वलन गरिने छ । साथै जिल्लाका सबै मठमन्दिरहरुमा दिपप्रज्ज्वलन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै फागुन ७ गतेका दिनमा इप्रका मुक्तिनाथमा स्याउका बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।
प्रजातन्त्र दिवसको अन्तिम दिन फागुन ८ गते जोमसोम देखि जोमसोम माथि डाँडामा निर्माण गरिएको भ्युटावर सम्म पुग्ने पदमार्गको सरसफाइ गरिने छ ।
तीन दिन नै जिल्ला भित्रका मठमन्दिर तथा सरकारी कार्यालयहरुमा दिपावली गर्ने र धार्मिक तथा पर्यटकीय स्थलहरुमा सरफाइ सहित प्रजातन्त्र दिवसको तीन दिने कार्यक्रम गरिने प्रजिअ भुसालको भनाई छ ।