अमृत बास्कुने
बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठनागरिक आश्रममा आश्रय लिइ रहेका जेष्ठ नागरिकहरुलाई बिहीबार एक दाताले भोजन गराउनु भएको छ ।
मंगला गाउँपालिका–२ र्यालेखोरका टिकाराम सापकोटाले आफ्नो आमाको स्मृतिमा गलेश्वर जेष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जेष्ठ नागरिक तथा गलेश्वर जडभरत संस्कृत विद्यालयमा अध्ययनरत बटुकहरुलाई भोजन गराउनु भएको हो । जेष्ठ नागरिक आश्रममा रहेका ४० जना जेष्ठ नागरिक तथा संस्कृत विद्यालयमा अध्ययनरत १५ जना बटुकहरुलाई भोजनका लागि आवश्यक पर्ने २५ हजार रुपियाँ सापकोटाले प्रदान गर्नुभएको थियो ।
म्याग्दी जिल्लाकै पहिलो समाचार पत्रिकाको रुपमा लिइने म्याग्दी सन्देश साप्ताहिक सञ्चालन गरेर २०५० को दशकमा म्याग्दीमा पत्रकारिताको पछिल्लो जग हाल्ने सापकोटा अहिले वैदेशिक रोजगारीको शिलशिलामा युरोप हुनुहुन्छ । उहाँले आफ्नी आमा ज्ञानजरी शर्माको तेश्रो वार्षिक पुण्य तिथिको अवसरमा गलेश्वर पुलस्त्यपुलह अन्न क्षेत्रलाई २५ हजार रुपियाँ प्रदान गर्नुभएको थियो । उहाँले प्रदान गरेको नगदबाट आश्रममा भोजन गराइएको हो ।
गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रले जेष्ठ नागरिकहरुको एक छाक भोजन(खिर)का लागि २४ हजार रुपियाँ भोजन शुल्क निर्धारण गरेको छ । भोजनका साथै भोजनको समयमा भोजन तयार गर्नेहरुलाई भत्ता र भोजन ग्रहण गर्नेहरुलाई छुट्टै दक्षिणा पनि दिनु पर्ने प्रावधान छ । गलेश्वर जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुका लागि भोजन तथा दक्षिणा र कर्मचारीलाई पारिश्रमिक भत्ता गर्दा एक छाक भोजन गराउँदा दाताहरुको ३० देखि ३५ हजार रुपियाँ सम्म खर्च लाग्ने गर्दछ ।