सुनदेवी रसाइली
हिमालपारीको जिल्ला मुस्ताङ र चिनको स्वासासित क्षेत्र तिब्बत सिमाना पर्ने कोरलामा खट्ने सुरक्षकर्मी तथा कर्मचारीहरुले आफ्नो ज्यानै जोखिमा राखेर सेवा दिँदै आएको जोमसोममा आयेजित एक कार्यक्रममा बताइएको छ । सिमानामा खट्ने सुरक्षाकर्मी तथा कर्मचारीलाई बन्दोबस्तीको सामान प्रयाप्त नभएको उक्त कार्यक्रममा सवाल उठाइएको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले बुधबार जोमसोममा आयोजना गरेको सेवा प्रवाह सम्बन्धमा सहजिकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकको तर्फबाट प्रश्न गर्दै उक्त धारणा राखिएको थियो । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाकी अध्यक्ष सुनदेवी रसाइलीले चीन नेपाल सिमानामा कार्यरत सुरक्षाकर्मी, प्रहरी, ससस्त्र प्रहरीबल र अन्य कर्मचारीलाई भूगोल अनुसारको बन्दोबस्तीको सामान राम्रो नभएको धारणा राख्नु भएको थियो । उहाँले चार हजार मिटरको उचाइमा रहेको नाकामा काम गर्ने सुरक्षाकर्मी र कर्मचारीलाई भुगोल अनुसारको सामग्री उपलब्ध नहुँदा जोखिम रहेको धारणा राख्नु भएको थियो । मुस्ताङको प्रशासनको सेवा सन्दर्भमा कुरा राख्दै रसाइलीले आमाको नाउँमा नागरिकता लिनेको संख्याका बारेमा चासो राख्नु भएको थियो । त्यस्तै चीन नेपाल सिमानामा बिहान ९ देखि दिउँसो ३ बजे सम्म मात्रै प्रवेश पाउने व्यवस्थालाई अलिक व्यवस्थीत गर्न माग गर्नु भएको थियो । उहाँले अध्यागमन कार्यालय उद्घाटन मात्रै भएको तर सञ्चालन नभएकोले त्यसलाई व्यवहारमै सञ्चालनमा ल्याउन पर्ने माग गर्नुभएको थियो ।
त्यस्तै पेमा छेटेन विकले मुस्ताङ जिल्लामा मुल्य एकरुपतान ल्याउनका लागि जिल्ला प्रशासनको अगुवाइमा समय समयमा बजार अनुगमन हुनु पर्ने धारणा राख्नु भएको थियो । उहाँले एउटै सामानको पनि पसलै पिच्छे मूल्य फरक हुने हुँदा उपभोक्ता मर्कामा परेकोले मुल्य एकरुपता ल्याउनका लागि पहल गरिनु पर्ने बताउनुभएको थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले मुस्ताङबाट ३० जना भन्दा धेरै नेपाली नागरिकले आफ्नो आमाको नाउबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरीसकेको बताउनुभएको थियो । त्यस्तै सिमानामा खट्ने सुरक्षाकर्मी तथा कर्मचारीको बन्दोबस्तीको अवस्था बुझ्न स्थलगत अध्ययन पछि थप अगाडी बढ्ने बताउनुभएको थियो । मुक्तिनाथ दर्शनका लागि आउने भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै मुक्तिनाथ विकास समितिले एम्बुलेन्स खरिदको तयारी थालेको प्रजिअ भुसालको भनाई छ । त्यस्तै चीन प्रवेशका लागि विद्युतिय पासको तयारी गरिनुका साथै टाइमकार्ड हटाउनका लागि पहल थालिएको उहाँको भनाई थियो । मुक्तिनाथ मन्दीरलाई व्यवस्थीत सञ्चालनका लागि मुक्तिनाथ विकास समितिको अडिट गर्ने कर तिर्ने र पान नम्बर लिने काम भै रहेको प्रजिअको तर्क थियो ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङले उपल्लो मुस्ताङ क्षेत्रलाई राज्यले अर्धनिशेधीत क्षेत्र मानेकोमा त्यसलाई हटाउनका लागि प्रशासनले पहलकदमी चाल्नु पर्ने बताउनुभयो । उहाँले प्रशासनले सार्वजनिक सुनुवाइ राखेर सकारात्मक सुरुआत गरेको र यस्ता कार्यक्रममा स्थानीयको सहभागिता बढाउनु पर्नेमा जोड दिनुभएको थियो । उहाँले राज्यको निकायबाट हुने कामहरुमा हुन सक्ने ढिलासुस्ती तथा कमीकमजोरी औल्याउने र त्यसलाई हटाउन सबैले पहल गर्नुपर्ने धारणा राख्नु भएको थियो । मुक्तिनाथ मन्दीरका साथै जिल्लाका धार्मिक स्थलहरु तथा पर्यटकीय स्थलहरुको संरक्षण र विकासमा धयान दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज पौडेल, घरपझोङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष फलेन्द्र थकाली, जिल्ला समन्वय समिति प्रमुख मायाँ गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङलगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मुस्ताङको सेवा प्रवाह लगायतका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सर्वसाधारणको जवाफ दिने क्रममा प्रजिअ भुसालले मुलुकभर नै राष्ट्रिय परिचयपत्र अनिवार्य भएको र आउने २०८२ देखि मुस्ताङमा पनि अनिवार्य हुने बताउँदै परिचयपत्र बनाउन बाँकीले समयमै बनाउन आग्रह गर्नुभएको थियो ।
साथै सोही अवसरमा जिल्ला प्रहरी कार्यालय मुस्ताङले नागरिक सुनुवाइ कार्यक्रम पनि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश सुवेदीले जिल्लामा १९ वटा प्रहरी युनिटले जनतालाई सेवा दिएको बताउनुभएको थियो । तीन सय १३ दरवन्दी रहेको मुस्ताङ प्रहरीमा हाल दुई सय १५ जना मात्रै कार्यरत रहेका छन् । मुस्ताङ प्रहरीले पछिल्लो एक वर्षमा तीन पटक नागरिक सुनुवाई, तीन सय ४५ पटक ग्रामिण गस्ती, दुई सय २५ पटक प्रहरी चेकीङ, सात सय ३१ पटक समुदाय प्रहरी साझेदारी कार्यक्रम र दुई पटक स्वदेशी तथा विदेशी नागरिकको उद्धार गरेको जनाइएको थियो । चालु आर्थिक वर्षमा सात सय ८१ वटा सवारी साधनलाई कार्वाही गर्द नौ लाख चार हजार पाँच सय रुपियाँ राजश्व ट्राफिक प्रहरीले गरेको छ । चालु आर्थिक वर्षमा छ वटा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।
मुस्ताङ प्रहरीले चालु आर्थिक वर्षमा ५७ जना मानिस गिरफ्तार गरी २४ जनालाई मुद्दा चलाएको छ भने अनुसन्धान पछि ३३ जना रिहाइ भएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिनुभयो ।