मंसिर २५ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१, लामागरामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा आङ खस्ने समस्याको निःशुल्क जाँच गरिएको छ । बेनी नगरपालिकाको आयोजना तथा बेनी अस्पतालको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो ।
सोमबार शिविरमा बेनी नगरपालिका–१ नम्बर वडाको रत्नेचौर, लामागरा, २ नम्बर वडाको खबरा, ७ र ८ नम्बर वडा बेनीबजार तथा पर्वतको जलजला गाउँपालिका–७, मिलनचोक क्षेत्रका महिलाहरुले सेवा लिनुभएको थियो । सयजना महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको सम्भावना भए, नभएको बारेमा गरिएको परीक्षणमा एकजनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।
पाठेघरको मुखमा मासु पलाएको पाँच जना महिला भेटिएको, ४ जना महिलाहरुको पाठेघरमा रिङपेसरी राखिएको र ५ जनामा पाठेघरमा संक्रमणको देखिएकोले उपचार गरिएको बेनी नगरपालिकाको सिनियर अनमी लिलाकुमारी गौतमले जानकारी दिनुभयो । बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर रवि गुरुङ, एमडिजीपी डा. विजयकुमार रानाभाट, स्वास्थ्यकर्मीहरु डेकमाया केसी, करुणा थापा र सुमित्रा थजालीसहितको टोलीले शिविरमा सेवा लिन आएका महिलाहरुको उपचार गर्नुका साथै परामर्श दिएको बेनी नगरपालिकाले जनाएको छ ।
बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले महिलामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ क्याम्प सञ्चालन गर्नको लागि यसवर्ष नगरपालिकाले तीनलाख रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आवश्यक बजेट विनियोजन गरिएको बताउँदै यसपालि पनि लामागरासहित तीन ठाउँमा शिविर सञ्चालन गरिने बताउनुभयो ।
नगर उपप्रमुख लामिछानेले शिविरमा पाठेघरको उपचार गर्न आएका महिलाहरुलाई महिनावारीको समयमा स्वास्थ्यको सुरक्षा, सरसफाइ र खानपानमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभएको छ । नगर क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउनको लागि बेनी नगरपालिकाबाट ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपप्रमुख लामिछानेले कार्यक्रममार्फत महिलाको आयआर्जनमा जोड दिइएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बेनी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. रवि गुरुङले महिला र पुरुष दुवै जनाले स्वास्थ्यलाई विशेष रुपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
Previous Articleभेटियो दुर्लभ स्तनधारी रेडपाण्डा
Next Article युनियन र चौतारीबीच टुंगियो जिल्लाको भागबण्डा