अमृत बास्कुने
म्याग्दीको बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको औपचारीक उद्घाटन भएको छ ।
छात्राहरुको फुटबल खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन भएको हो । फुटबल प्रतिभाको पहिचान गर्ने उद्देश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच म्याग्दीका प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभएको हो ।
जिल्ला भित्रका १० विद्यालयका छात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै गर्बुजाले खेलकुद क्षेत्रका विकासको लागि आफ्नो सँधै पहल हुने बताउनुभयो । बेलायती सेनाका सेवानिवृत्त गर्बुजाले आफूले फौजमा हुँदा पनि खेलकुदमा सहभागिता रहेको र सेवा निवृत्त भए पछि पनि खेल क्षेत्रमा सक्रिय रहेको बताउदै आफ्नो तर्फबाट खेलकुदको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
म्याग्दीबाट राष्ट्रिय स्तरमै पुगेका महिला भलिबलकी कप्तान अरुणा शाही, नेपाल पुलिस क्लबकी कप्तान कमला पुन, भारत्तोलन खेलाडी तारादेवी पुन जस्ता प्रतिभा जन्माएको म्याग्दीमा फुटबल तर्फ पनि सम्भावना हुन सक्छ र त्यो सम्भावना पहिचान गर्नका लागि छात्रा फुटबल प्रतियोगिता अयोजना गरीएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो ।
प्रथम लायन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल मंसिर १३ गते बिहान प्रकाश माध्यमिक विद्यालय र न्यू वेष्ट प्वाइन्ट आवासिय माविका बिच हुने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपियाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपियाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।
छात्रा फुटबल प्रतियोगिता निरन्तर सञ्चालन गर्नकालागि जिल्ला फुटबल संघ म्याग्दी र लायन्स क्लब अफ बेनी लभ्लिहिबिच यस अघिनै सम्झौता भएको जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले जानकारी दिनुभयो । लायन्स क्लब अब बेनी लभ्लिहिलको आयोजनामा हुने छात्रा फुटबल प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रवक्ता रमेशकुमार श्रेष्ठ, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँलगायतले बोल्नु भएको थियो ।