अमृत बास्कुने
वि.सं. २०६० को दशकमा नेपाली सेनाले बेनी–जोमसोम सडक खण्डको पाइलट ट्रयाक खोले सँगै धेरै सम्भावनाहरु पनि खुल्दै आए । यही क्षेत्रमा काम खोज्दै आएकाहरु आफै मालिक बन्दै काम दिने हैसियत सम्ममा पुग्नु भएको छ । पर्यटन तथा यातायातको क्षेत्रमा सहयोगीको भूमिका निर्वाह गरेर थालेको पेशा अहिले अरुलाई रोजगारी दिने अवस्था सम्मको व्यवसाय बन्न पुगेको छ ।
२०५३ भदौ १३ गते १३ वर्षकै उमेरमा कामको खोजीमा मुस्ताङको घाँसा हुँदै लेतेमा पुग्नुभएका टंकलाल श्रेष्ठको अहिले बेनी नगरपालिका–९ गलेश्वरमा होटल ताजमहल लज एण्ड रेष्टुरेन्ट सञ्चालनमा रहेको छ । नमोबुद्ध नगरपालिका–५ काभ्रेका श्रेष्ठले गलेश्वरमा आफ्नै लगानीमा घर निर्माण गरी व्यवसाय थालेको पनि तीन वर्ष पुग्यो । मुस्ताङका पूर्व सांसद रोमी गौचनकहाँ साढे पाँच वर्ष काम गरेपछि उहाँ म्याग्दीको सदरमुकाम बेनी झर्नुभएको थियो । हिमाली जिल्ला म्याग्दीको बेनीमा रहेको होटल यतीमा बि.सं. २०५८ देखि ९ वर्ष सम्म उहाँले किचन सहयोगी हुँदै कुक तथा होटल म्यानेजर सम्मको भूमिकामा काम गरेको सम्झनुहुन्छ । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको मुस्ताङको थासाङ गाउँपालिकाका कृष्णकुमार शेरचनको होटल रिभरसाइडलाई भाडामा लिएर टंकलालले २०६७ देखि २०७५ सम्म सञ्चालन गर्नुभएको थियो । रिभरसाइडको भाडा सम्झौता सकिए पछि चार वर्ष गलेश्वरमै रहेको अर्को होटल मदरल्याण्ड पनि भाडामै सञ्चालन गर्नुभयो । २०७९ देखि आफ्नै लगानीमा ताजमहल सञ्चालन गर्नुभएका श्रेष्ठको परिवारका चार जना सदस्य सहित ११ जनाले रोजगार पाएका छन् । टंकलाल भन्नुहुन्छ–‘मेरो छोरा, छोरी श्रीमती म र अरु सात जना स्टाफले होटलमा काम गर्दै आएका छौं ।’
बागलुङका स्थायी बासिन्दा मोहन केसी २०५८ सालमा म्याग्दी सदरमुकाम जोड्ने मोटरेवल पुल समेत नबन्दै टोयटा ट्याक्सीको पार्टहरु बोकाएर लिएर म्याग्दी आउनु भएको थियो । बागलुङ नगरपालिका–३ का केसी ट्याक्सी पछि जिप र बसको सहचालक (खलासी) बनेर काम गर्नुभएको थियो । उहाँ अहिले म्याग्दी कोरला यातायात प्रालिको झण्डै ६० प्रतिशत शेयरको मालिक हुनुहुन्छ । कुनै समय बसमा खलासीको रुपमा काम गर्दै आउनु भएका उहाँले आफ्नो कम्पनिका ६२ जना कर्मचारीलाई मासिक सात लाख रुपियाँ तलब बाँड्ने गर्नुहुन्छ । सात वटा बराबर मुल्यको शेयर निर्धारण गरेर थालिएको म्याग्दी कोरलामा केसीको हिस्सामा अहिले चारवटा शेयर रहेको छ भने अन्य तीन वटा शेयर अरुको रहेको छ । अहिले बेनी नगरपालिका–९ गलेश्वरमा घर तथा कम्पनिमा करिब ६० प्रतिशत शेयर रहेको छ–उहाँले सुनाउनुभयो । कुनै समय गाडीका पार्टहरु बोकेरै ल्याएर सञ्चालन गरेको भए पनि अहिले भने १५ वडा सुविधा सम्पन्न बस सञ्चालन गर्नै कम्पनीमा ६२ जनालाई रोजगार सृजना गर्न पाएकोमा आफैलाई खुशी लाग्छ–उहाँले भन्नुभयो ।
वि.सं. २०६३ बाट होटल व्यवसाय थाल्नु भएका मंगला गाउँपालिका–१ पूर्णगाउँका ताराप्रसाद आचार्यले अहिले २४ जनाका लागि रोजगारी सृजना गर्नुभएको छ । बेनी नगरपालिका–९ गलेश्वरमा होटल याक बेनी प्रा.लि. सञ्चालन गर्नु भएका उहाँले २२ जना कर्मचारी र आफ्नो श्रीमान श्रीमती पनि त्यही व्यवसायमै संलग्न हुनुहुन्छ । दुई वर्ष भारत, दुई वर्ष कतार र ४ वर्ष साउदीमा बिताएपछि २०६३ मा नेपाल फर्केर नमस्ते होटल शुरु गरेको थिएँ–नेपाल होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका सचिव समेत रहनुभएका आचार्यले भन्नुभयो ।
उहाँ भन्नुहुन्छ शुरुमा नमस्ते नामबाट मैले होटल र भाइहरुले मोबाइल सम्बन्धी काम थालेको थिएँ । नमस्ते नामको ब्राण्डलाई छाडेर मैले २०७० देखि होटल याकलाई नै ब्राण्ड बनाएर व्यवसाय गरेको छु । होटल याक पवित्र धार्मिक स्थल गलेश्वरधाम मन्दिर नजिकै सञ्चालन गर्नुभएका उहाँ भन्नुहुन्छ–कुनै समय रोजगारीको खोजीमा विदेश पुगेको म अहिले भने आफ्नो परिवार सहित २४ जनालाई आफ्नै माटोमा रोजगार दिन सकेको छु । बेनी जोमसोम सडक खण्डको स्तरबृद्धि सँगै व्यवसायले पनि थप उचाइ लिएको मेरो बुझाई छ–आचार्यले भन्नुभयो ।
बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ भ्रकका महेन्द्र गुरुङले आफ्नो थात तलो छाडेको ३० वर्ष पुग्यो । दुई दाजुभाईका कान्छा छोरा महेन्द्रले २४ वर्षको उमेरमा बिबाह गरेर आफ्नो घर छाडेर म्याग्दी आउनुएको थियो । घरबाट खाली हात निस्कनु भएका उहाँले म्याग्दीमा आएर व्यवसाय शुरु गर्नुभएको थियो । २०५२ देखि २०६० सम्म रघुगंगा गाउँपालिका–३(साविक पिप्पले गाविस)को घोडेढुङ्गामा होटल सुरु गर्नुभएका उहाँले २०६० पछि चमेरेमा व्यवसाय गर्नुभयो । मुस्ताङ तिरका मात्रै ग्राहक रहेका गुरुङकहाँ २०६३÷०६४ तिर बेनी बजार क्षेत्रका लागि सुरु भएको बेनी खानेपानी आयोजनाको काम थालनी भए पछि म्याग्दी तर्फका ग्राहकहरुको पनि गन्तव्य बन्न थाल्यो ।
नेपाली चलचित्र नेपाली बिरको छायाँङ्कन गलेश्वर तथा घुमाउने ताल अनि तिलकिनि क्षेत्रमा हुँदा त्यस चलचित्रका नेगेटीभ रोलका कलाकारको समुहले पनि महेन्द्रको होटलको प्रचार गरेका थिए । लोकल कुखुराको मासु, टिमुरको चटनी मुस्ताङ्गको आलु चमेरे होटलमा आउने पाहुनाले रुचाउने परिकार हो । त्यही स्थानमा व्यवसाय गर्दै महेन्द्रले पोखराको जिरो किमिमा एउटा घर बनाउनु भएको छ । एक छोरा अष्टे«लिया अध्ययनका लागिपुगेका उहाँकी छोरीले काठमाडौंमा स्नातक तह सकेर अहिले पोखरामा बस्दै आउनुभएको छ । श्रीमान श्रीमती सहित चार जनाले रोजगार पाएको उहाँको भनाई छ ।
शिवपुरी गाउँपालिका–३, नुवाकोट जिल्ला घर भई बेनीमा लामा रेष्टुरेन्ट तथा लामा कुदाप सञ्चालन गर्नुभएका राजन लामाले आफूसहित १८ जनाको लागि रोजगारी सिर्जना गर्नुभएको छ । लामाकहाँ किचनमा पाँचजना, सहयोगी तीनजना, वेटर पाँचजना एवं उहाँका पतिपत्नी भाइ बुहारी गरी १८ जनाले होटल क्षेत्रमै काम गर्दै आउनु भएको छ । २०६० मा बेनीको होटल डल्फीनमा कामको खोजीमा आउनु भएका उहाँ होटल तथा रेष्टुरेन्ट क्षेत्रमै सक्रिय भएर अहिले बेनीबजारको हस्पिटलचोकमा आफ्नै घरमा लामा कुदाप तथा बेनीकै गणेशटोलमा लामा रेष्टुरेन्ट एवम् बेनी हस्पीटलमा चमेनागृह सञ्चालन गर्नुभएको छ । कामको खोजीमा बेनी आइपुग्नु भएका उहाँले अहिले बेनी क्षेत्रमा तीन ठाउँमा व्यवसाय गर्दै १८ जनाका लागि रोजगार सृजना गरेर उदाहरणीय बन्नुभएको छ ।
बालमजदुरका रुपमा आएर मालिक सम्म बनेकाहरु
Previous Articleविद्यार्थीलाई योगा,ध्यान, नैतिक र व्यवहारिक ज्ञान
Next Article अन्तरमावि छात्रा फुटबलको उद्घाटन