काठमाडौं, २५ मंसिर – सभामुख ओनसरी घर्तीले मंसिरभित्रै संसदमा जारी अवरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा घर्तीले प्रचण्डलाई राजनीतिक संवादमार्फत सदन सुचारु गराउन ध्यानाकर्षण गरेकी हुन् ।
सभामुख घर्तीले आफू नेपाल बाहिर हुने समयलाई सहमतिका लागि उपयोग गर्न आग्रह गरेको उनका प्रेस सहयोगी बबीन शर्माले जानकारी दिए । घर्ती संयुक्त अबरइ इमिरेट्सको अबुधावीमा हुने विश्वका महिला सभामुहरुको सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्तान गर्दैछिन् । ‘म चार/पाँच दिनमा नेपाल फर्कन्छु’, सभामुखको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘यो अवधिलाई सहमतिका लागि उपयोग गर्नुहोला ।’
शर्माका अनुसार सभामुखले संसदमा अवरोध जारी रहँदा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, निर्वाचनसम्बन्धी विधेयक तथा संविधान संशोधन विधेयकको प्रक्रिया अघि बढ्न नसकेको भन्दै सरकार प्रमुखमा रुपमा अवरोध हटाउन प्रधानमन्त्रीको निर्णायक भूमिका हुनेमा जोड दिएकी थिइन् ।
जवाफमा प्रधानमन्त्रीले अवरोध अन्त्यको प्रयासमा दलहरुबीच औपचारिक र अनौपचारिक कुराकानी भइरहेको जनाउँदै केही दिनमै सहमति हुने बताए । ‘औपचारिक/अनौपचारिक कुराकानी भइरहेको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘संसदको अर्को बैठकसम्म केही न केही परिणाम निकाल्ने प्रयासमा छु ।’ सभामुख घर्तीले यसअघि प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई छुट्टाछुट्टै भेटी सदनको गत्यावरोध हटाउन आग्रह गरेकी थिइन् ।
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भन्दै एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आगामी ३० मंसिरका लागि बोलाइएको छ । सभामुख घर्ती २९ मंसिरमा स्वदेश फर्कने उनको निजी सचिवालयले जनाएको छ ।
Previous Articleभट्टराईले भने – ‘संशोधन प्रस्ताव पारित गर्नुपर्छ।’
Next Article कथा – आई ह्याभ अ ब्वाइफ्रेन्ड