हेटौडा, २५ मंसिर – नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले संसदमा पेश गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जित गरेर दुई तिहाईले पारित गरेर मुलुकलाईं निकास दिनुपर्ने बताएका छन् ।
संविधानसभामा बल्लबल्ल घिसारिएर आएका पुराना पार्टीका केही नेताहरुको दम्भका कारणले मुलुक केही समयदेखि बन्धक बन्दै आएको आरोप लगाए । नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउनु पर्नेमा सत्ता र प्रतिपक्षमा बस्ने केही नेताहरुको जुंगाको लडाईले मुलुकले निकास नपाएको उनले बताए ।
हेटौडामा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संसदमा अवरोध पुर्याएर, सडकमा टायर बालेर मुलुकले निकास नपाउने बताए । ‘संविधान जारी गरेको १५ महिना बित्न लागि सक्यो तर कार्यान्वयन हुन सकेको छैन’ उनले भने, ‘संविधान कार्यान्वयन गर्नेतर्फ सत्ता र प्रतिपक्ष दुवै गैरजिम्मेवार देखिएका छन ।’ संविधान कार्यान्वयन गर्न असन्तुष्ट पक्षहरुको मागलाई पनि सम्बोधन गर्नु पर्ने बताउदै भट्टराईले भने, ‘संविधान संसोधन गर्न हुँदैन भन्नु संविधान कार्यान्वयनलाई अवरोध पुर्याउनु हो ।’
‘संविधान कार्यान्वयन गर्न तीन तहको निर्वाचन अनिवार्य छ । निर्वाचन गर्न असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउनै पर्छ उनको भनाइ थियो’, ‘संविधान संशोधन नगरेसम्म स्थानीय तहको निर्वाचन हुन सक्दैन ।’
संविधान संशोधनको विकल्प नभएको बताउँदै उनले भने, ‘संविधान जारीदेखि लिएर संविधान संशोधनसम्मको कार्य विदेशीले गरेको आरोप लगाउनु यो मिथ्या हो ।’ मुलुकका जिम्मेवार दलहरु झगडा र विवाद गर्न थालेपछि विदेशहरुले हात हाल्ने मौका मिलेको उनले बताए । अरुलाई दोष लगाउनुभन्दा आफ्नो देशको समस्या आफंैले मिलाउनेतर्फ सबै जिम्मेवार हुन पनि उनले आग्रह गरेका थिए ।
भट्टराईले भने – ‘संशोधन प्रस्ताव पारित गर्नुपर्छ।’
Previous Article२५ मंसिर २०७३, ढोपाटन दैनिक
Next Article विदेश उड्नुअघि ओनसरीले दिइन प्रचण्डलाई अल्टिमेटम