अमृत बास्कुने
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको कागबेनीधाममा दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान र तर्पण दिन देशका विभिन्न जिल्लाका साथै भारत तथा अन्य मुलुकबाट धार्मिक तीर्थालु आउने गरेका छन् ।
यहाँ सोह्रश्राद्धदेखि नै पितृतर्पण गर्नेको घुइँचो लाग्ने मुस्ताङको कागबेनीमा पछिल्लो २२ वर्षभन्दा धेरै समयदेखि पुजारीका रूपमा रहनुभएका पुजारी बालकृष्ण सुवेदीले बताउनुभयो । यस पटक सोह्रश्राद्धको समयमा बर्सातका साथै बाढीपहिरोले सडक अवरुद्ध हुँदा पनि दर्शनार्थीको आगमनमा कमी नभएको उहाँले बताउनुभयो । उहाँले धार्मिक यात्रा तथा पितृतर्पणका लागि आउने भक्तालुका लागि आवश्यक सङ्ख्यामा पुजारी कागबेनीमा व्यवस्था गरिएकोे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कागबेनीमा पितृतर्पणका लागि आउने तीर्थालुलाई सहज होस् भनेर नौ जना पुजारी कागबेनी क्षेत्रमा रहने गर्नुहुन्छ ।” हाल पनि नियमित रूपमा छ जना पुजारीले तीर्थालुको आवश्यकता अनुसार तर्पणका काम गर्ने उहाँको भनाइ छ ।
मुस्ताङको कागबेनीस्थित काली र गण्डकी नदीको सङ्गमस्थलमा रहेको श्राद्धस्थलमा पितृतर्पण गर्न दैनिक हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने पुजारी हिमाल सुवेदीको भनाइ छ ।
भक्तपुर कटुन्जेका निपुन राणा पितृतर्पण गर्न र मुक्तिनाथ दर्शन गर्न आफन्तसहित कागबेनी आएको बताउनुभयो । पवित्र तीर्थस्थल दामोदरकुण्डदेखि उत्पत्ति भएर आएको काली र मुक्तिनाथ हुँदै आएको गण्डकीको सङ्गमस्थल कागबेनीमा स्नान गरी श्राद्ध गर्ने सामग्री व्यवस्थापन गरेर पितृतर्पण गरेपछि मुक्तिनाथतर्फ लाग्नुभयो ।
कागबेनीका पुजारी ईश्वर रेग्मीले ‘का’ भनेको काली र ‘ग’ भनेको गण्डकी गरी कागबेनी नामकरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दामोदर कुण्डबाट आउने काली र मुक्तिनाथबाट आउने गण्डकीको सङ्गमस्थलमा तर्पण गर्नाले पुण्य लाभ हुने पुराणमा व्याख्या गरिएको छ ।” कागबेनीमा स्थानीय समितिको अगुवाइमा विभिन्न संरक्षण संवर्धनका कार्य पनि भइरहेको रेग्मीको भनाइ छ । उहाँकै अगुवाइमा कागबेनीमा यही घटस्थापनादेखि सन्ध्यामा महाआरती पनि सुरु गरिएको छ । हरेक दिन पाँचदेखि छ हजार रुपियाँ खर्च लाग्ने उक्त आरतीलाई निरन्तरता र नियमितताका लागि पनि प्रयास जारी रहेको उहाँले बताउनुभयो ।
कलियुगका साक्षात् भगवान् शालिग्राम गर्भमा बोकेर बहने दामोदर कुण्डबाट आउने काली र पवित्र तीर्थस्थल मुक्तिनाथका १०८ धारा हुँदै बगेर आएको गण्डकीको सङ्गम भएकाले यो स्थानमा पिण्डदान संसारका अन्य धामभन्दा सयौँ गुणा बढी फल मिल्ने पुजारी रेग्मीको भनाइ छ ।
कागबेनीमा पितृतर्पणका लागि मुख्य रूपमा सोह्रश्राद्ध, नवदुर्गा र चैतेदसैँ तथा औँसीमा हजारौँ तीर्थालुले पितृतर्पण गर्ने गर्छन् । गत वर्षको बाढीले कागबेनीमा ठुलो क्षति पुर्याएका कारणले अघिल्लो वर्षमा केही असहज भए पनि यस वर्ष भने साबिककै अवस्थामा कागबेनी फर्केको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले जानकारी दिनुभयो । पूर्वाधार निर्माण तथा अन्य व्यस्थापनको काम केही भएको भए पनि अझै व्यवस्थित बनाउने प्रयास गाउँपालिकाले गरिरहेको उहाँको भनाइ छ । काग भुसुण्डे ऋषिले हिमाली क्षेत्रमा रहेका तालमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुवात भएको धार्मिक मान्यता रहेको बताइन्छ ।