अर्जुन कार्की
बागलुङ, २५ मंसिर – प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष खिल बहादुर भण्डारीले पत्रकारहरु आफै ज्योतिषी र डाक्टर बन्न नहुने बताएका छन् ।
प्रेस काउन्सील नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा शुक्रबार बागलुङ बजारमा सम्पन्न ‘स्थानीय मिडिया र आचारसंहिता एवं मिडिया संवाद’ कार्यक्रममा बोल्दै भण्डारीले पत्रकारहरुले समाचार लेख्दा आफै ज्योतिष र डाक्टर बन्ने गरेको बताउँदै यस्ता समाचारमा उजुरी आएमा पत्रकारलाई प्रेस काउन्सीलले कार्वाही गर्ने बताए ।
उनले पत्रकारले समाचार लेख्दा आफै भविष्यबाणी गर्ने गरेको र कोहीलाई त्यसै आक्षेप लगाउने गरेको बताउँदै पत्रकारहरुले कहिलै पनि एकहोरो समाचारहरु लेख्न नहुने बताए ।
भण्डारीले पत्रकारहरुले समाचार लेख्दा हुने गल्तीहरु सुल्झाउनको लागि काउन्सीलले पत्रकार महासंघको सहकार्यमा आचारसंहिता बनाएको बताउँदै उक्त आचारसंहिता पढेर आचारसंहिताको घेराभित्र रहेर समाचारहरु प्रकाशन तथा प्रशारण गर्न पत्रकारहरुलाई अनुरोध गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले आचारसंहित पत्रकारहरुले आफैले कार्यान्वयन गर्नका लागि निर्माण गरेको वताउदै विश्वासनियताका लागि सर्तक रहनुपर्ने वताए । प्रकाशन प्रसारण भएका सञ्चार सामाग्री उपर आफुलाई चित्त नवुझेमा प्रेस काउन्सिलले उजुरी र सुनुवाईको समेत ब्यवस्था गरेको वताउदै केन्द्रिय सदस्य गौतमले नागरिक खवरदारी पनि आवश्यक भएको वताए ।
जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र पत्रकारको सहभागिता रहेको मिडिया संवाद कार्यक्रममा सहभागीले अहिले धेरै थरि अनलाईनहरुले फेक समाचारहरु प्रकाशन गर्ने गरेको र त्यस फेक समाचारहरु प्रकाशन तथा प्रशारण गर्ने अनलाईनहरुलाई कसरी कानुनी दायरामा ल्याउन सकिन्छ भनेर प्रश्न गरेका थिए ।
उक्त प्रश्नको उत्तर दिँदै भण्डारीले अनलाईनहरुमा नकारात्मक समाचारहरु आएमा प्रेस काउन्सीलमा उजुरी दिन सकिने र प्रेस काउन्सिलले दर्ता भएका अनलाईनहरुलाई कार्वाही गर्ने बताए । उनले अनलाइनहरु प्रेस काउन्सीलमा दर्ता नभै संचालन भएको र फेक समाचार प्रकाशन गरेको पाइएमा प्रहरीले कार्वाही गर्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले ब्लगहरु नीजि भएकोले आफ्नो भनाइहरु लेख्दा मिडियाले नराम्रो समाचार प्रशारण गरेको भन्ने बाहिर हल्ला रहेको बताउँदै उक्त ब्लगहरु नीजि हुने र ब्लगहरु मिडियासंग नजोडिए पनि साईवर क्राइम अन्तरगत कारवाही गर्न सकिने जनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले सवै क्षेत्रमा आचारसंहिता रहेको बताउँदै समाचारहरु लेख्दा आचारसंहिता पढेर मात्र समाचार लेख्न पत्रकारहरुलाई अनुरोध गरे । उनले जिल्लाका कुनै क्षेत्रमा भएका सकारात्मक र नकारात्मक दुवै कुराहरुलाई वाहिर लैजान अनुरोध गरे ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र ढकालले आफ्नो निजी विचार भनेर सोसल साइटहरुमा जथाभावी अरुलाई असर हुने केही लेखेमा जिल्ला प्रहरी कार्यालयले साइबर क्राइम अन्तरगत ५ वर्ष जेल र १ लाखसम्म जरिवाना गर्न सक्ने बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गा प्रसाद शर्माले मोफसलका मिडियामा भन्दा केन्द्रका मिडियामा धेरै गल्ती हुने गरेको बताए ।
कार्यक्रममा जिल्ला हुलाकका प्रमुख बद्रि पौडेला, खानेपानी डिभिजन कार्यालयका प्रमुख पूर्णप्रसाद ढुंगाना, बागलुङ एफएमका स्टेशन म्यानेजर ज्ञानेन्द्र गौतम लगायतले जिज्ञासा राखेका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत सदस्य विजय राना र संचालन सचिव दिल शिरिषले गरेका थिए ।
पत्रकार आफै ज्योतिषी र डाक्टर नबनौ-उपाध्यक्ष भण्डारी
Previous Article२४ मंसिर २०७३, ढोरपाटन दैनिक
Next Article जर्बजस्ती करणी गरी लुट्ने पक्राउ