बागलुङ, २४ मंसिर – आगामी पुष ७ देखि १५ सम्म विराटनगरमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय छनोटका लागि बागलुङमा आईटीएफ तेक्वान्दो र सुटिङ प्रतियोगिताको छनोट हुने जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङले बिहीबार पत्रकार सम्मेलन गरी मंसिर २६ देखि २८ गतेसम्म संचालन हुने क्षेत्रीय छनोट खेलको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियारले क्षेत्रीय छनौट खेलको लागि बागलुङमा खेल मैदानको अभाव सिर्जना भएको बताए ।
उनले जिल्लामा भएको एकमात्र खेल स्थल बाङ्गेचौर खेल मैदानमा अहिले धुलो धेरै भएकोले गर्दा खेल मैदानको अभाव भएको बताएका थिए ।
उनले क्षेत्रीय खेलको लागि खेल मैदानको अभाव भएपनि अहिले उपल्लाचौरको आर्मि क्याम्प अगाडीको खाली जग्गामा खेल संचालन गरिने जानकारी दिए । जिल्लामा सधै जसो खेलमैदानको अभावले गर्दा खेलाडीहरुले राम्रोसँग प्रशिक्षण गर्न पाउँदैनन् ।
अध्यक्ष परियारले छनौट खेलको उद्घाटनमा बाजासहित जिल्लाको पहिचान झलकने ¥याली सहित बजार परिक्रमा गरिने बताए । आईटीएफ तेक्वान्दोमा १६ जिल्लाका २ सय ५ जना खेलाडीहरुको सहभागिता रहने जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ससबहादुर पुनले बताए ।
आईटीएफ तेक्वान्दोमा स्पाईरिङ ४५–८६ तौल समुहका पुरुषबाट १५ स्वर्ण, ४०–६६ तौल समुहका महिलाहरुबाट १२ स्वर्ण, हरियो बेल्ड ३ डानमा महिला पुरुष गरी ६–६ स्वर्ण र ग्रुप प्याटनमा १–१ स्वर्ण पदक रहेको अध्यक्ष पुनले बताए । यस्तै ३० गते हुने सुटिङ प्रतियोगितामा कास्की, रुपन्देही र बागलुङबाट १२ स्वर्णको लागि २२ जना को प्रतिस्पर्धा हुने जिल्ला सुटिङ संघकी अध्यक्ष भगवती केसीले बताइन् ।
जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धन बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा स्वागत मन्तव्य जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष ससबहादुर पुन र संचालन खेलकुदका सदस्य सचिव भिमसेन शाक्यले गरेका थिए ।
उक्त अवसरमा जिल्ला सुटिङ संघकी अध्यक्ष भगवती केसीले मन्तव्य व्यक्त गरेकी थिइन । जिल्लाबाट क्षेत्रीय छनौट प्रतियोगितामा सम्मेलन भई हालसम्म उसुबाट ६ जना, हेण्डबलबाट ३ जना तेक्वान्दोको ७३ केजि तौल समुहबाट दिपु बोहोरा र भारोतोलनबाट ४ जना खेलाडीहरु राष्ट्रिय खेलकुदको लागि छनौट भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
यस्तै उक्त असवरमा पाल्पामा हुने बुद्धिचाल प्रतियोगिताको क्षेत्रीय छनौट खेलमा सहभागि हुने ४ जना खेलाडीहरुलाई विदाई गरिएको थियो ।