बेनी नगरपालिकाले फोहोर व्यवस्थापनमा गरेको लापारवाहीले गर्दा कालीगण्डकी नदी र सो क्षेत्रको वातावरण नै प्रदुषित बनेको छ । बेनी नगरपालिकाले बजार क्षेत्रमा सङ्कलन गरेको फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइट व्यवस्थित नगर्दा सो क्षेत्रका नागरिक र कालीगण्डकी नदीका जलचरलाइ समेत समस्या भएको छ । बेनी बजार तथा नगरपालिका भित्रको क्षेत्रमा नगरपालिकाले सङ्कलन गर्ने फोहोरलाई उचित ल्याण्डफिल्ड साइट बनाएर व्यवस्थित नगर्दा समस्या भएको हो । विश्वकै एक मात्र शालिग्राम पाइने कालीगण्डकी नदीमै फोहोर फ्याँक्दा जल तथा वायु प्रदुषण पनि बढेको गुनासो आउने गरेको छ ।
बेनी बजारमा सङ्कलित फोहोर बेनीदेखि दुई किलोमिटर उत्तरतर्फ पवित्र तिर्थस्थल गलेश्वरधाम नजिकै बिसर्जन गरिँदै आएको छ । ०६२ सालमा म्याग्दी उद्योग वाणिज्य सङ्घले फोहोर व्यवस्थापनको काम शुरु गरेको थियो । चारपाँच वर्ष सङ्घले सञ्चालन गरेपछि फोहोर उठाउने ट्याक्टर तथा उठ्नु पर्ने रकम सहित तत्कालिन अर्थुङ्गे गाविसलाई जिम्मेवारी हस्तान्तरण गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनु भयो ।
सङ्घीय संरचनामा मुलुक गएपछि नगरपालिकाको जिम्मेवारीमा आएको उक्त काम व्यवस्थित हुन नसकेको उहाँले भयो । सङ्घले फोहोर व्यवस्थापनको काम थालेदेखि नै फोहोरलाई सोही स्थानमा विसर्जन गर्दै आएको थियो ।
पर्वतको जलजला गाउँपालिका बगरफाँटका बासिन्दाले पटकपटक विरोध गरेतापनि त्यसलाई व्यवस्थित गर्ने वा हटाउने कार्य भने हुन सकेको छैन । कालीगण्डकी नदी सँगै जोडिएको फोहोर फाल्ने साइटले कालीगण्डकीलाई समेत दुर्गन्धित बनाउने गरेको बेनी नगरपालिका–८ का पहलबहादुर खत्रीको भनाइ छ ।
‘धार्मिक महत्वको कालीगण्डकी नदीमै जोडेर फोहोर फाल्दा राम्रो भएकै छैन ।’–उहाँले भन्नु भयो । मैले धेरै पटक नगरपालिकामै पुगेर धार्मिक महत्वको नदीमा फोहोर फाल्न हुँदैन भनेको छु तर उनीहरुले सुन्दैनन् ८३ वर्षीय जेष्ठ नागरिक खत्रीले सुनाउनु भयो ।
धार्मिक पर्यटकहरु गलेश्वरधाम प्रवेश गर्ने मार्गमा पर्ने उक्त फोहोरको डङ्गुरले गर्दा मन्दिरकै महिमालाई पनि प्रत्यक्ष असर गर्न सक्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनु भयो । उक्त स्थानको विकल्प खोजी गरेर नयाँ ठाउँमा फोहोर बिसर्जन गर्नु पर्ने उहाँको भनाइ छ । बाहिरबाट आउने पर्यटकहरुका लागि फोहोरको दुर्गन्धले गर्दा असर गर्ने र पवित्र धार्मिकस्थल मुक्तिनाथ जाने मार्ग पनि भएको हुनाले पनि यहाँको विकल्प खोजिनु पर्ने भन्दै नगरपालिकालाई क्षेत्र विकास कोषले पटकपटक ताकेता गरेको भए पनि सुनुवाइ नभएको उहाँले सुनाउनु भयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले फोहोर व्यवस्थापन गर्ने स्थलको बिकल्प खोजी भएको बताउनु भयो । २०६२/०६३ देखि नै सो स्थानमा फोहोर फाल्ने काम भएको बताउनु भयो । ‘२०७९ मा हामी निर्वाचित भएर आएपछि पनि निरन्तरता भएको भएपनि त्यसलाई स्थान्तरण गर्ने बारेमा विकल्पहरुको खोजी भइरहेको छ ।’-उहाँले भन्नु भयो-‘सकभर चाँडै त्यहाँबाट ल्याण्डफिल्ड साइट हटाएर अन्यत्र सार्ने योजना छ र त्यसका लागि बिकल्पहरु खोजेर उचित स्थानमा स्थान्तरण गर्ने हाम्रो योजना हो तर कहिले भनेर अहिल्यै भन्ने अवस्था छैन ।’–नगरप्रमुख केसीले भन्नु भयो ।