काठमाडौं, २३ मंसिर – एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म सहमति हुनै नसक्ने बताएका छन्। बिहीबार सभामुख ओनसरी घर्तीसँगको छलफलमा ओलीले सभामुखलाई यस्तो जवाफ दिएका हुन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तापछि पत्रकार सँग कुरा गर्दै ओलीले भने, ‘एमाले सहमति गर्न तयार छ । तर, सहमतिका लागि व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेकय सम्बन्धीको प्रस्ताव फिर्ता हुनुपर्छ ।’
भेटमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग सभामुखले संसद् चल्ने वातावरण बनाउन आग्रह गरेकी छिन् । सभामुखको आग्रहपछि ओलीले संसदमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता भए एक मिनेटपनि संसद अवरुद्ध नहुने प्रष्ट जवाफ दिएका छन् ।
‘हाम्रो पहिलो सर्त नै संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्छ भन्ने हो’, भेटवार्तापछि ओलीले पत्रकार सँग भने, ‘संशोधन प्रस्ताव फिर्ता भए नयाँ सहमतिका आधारमा अगाडि बढ्न सकिन्छ ।’
ओलीसँगको छलफल अघि सभामुखले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेकी थिइन् । सभामुखसँगको भेटपछि देउवाले अबको केही दिनमै पछिल्ला दिनमा देखिएको राजनीतिक संकटको समाधान हुने विश्वास व्यक्त गरेका छन् ।