अमृत बास्कुने
हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आयोजना गरेको एक हप्ते स्याउ टिप्ने खाने मेलाको समय एक हप्ता थपिएको छ । गएको मंगलबारदेखि शुरु भएको उक्त मेला आउँदो सम्म सञ्चालन हुने भएको छ । एक हप्ता मात्रै सञ्चालन गर्ने भनेर थालिएको उक्त स्याउ टिप्ने खाने मेलामा आगन्तुकको चाप बढेकोले एक हप्ता अझै थपिएको केन्द्रले जनाएको छ । कृषि प्रधान देश नेपालमा पर्यटन र कृषिलाई पनि संगै जोडेर अगाडी बढ्दा सकारात्मक प्रभाब पर्न सक्ने सम्भावना रहेको भन्दै केन्द्रले पर्यटन प्रर्वद्धनका लागि स्याउ टिप्ने खाने मेला सुरु गरेको थियो ।
स्याउका लागि नेपालमै चर्चित ब्राण्ड हो मार्फा र त्यही मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्रका स्याउ बगैचामा अहिले लटरम्म फलेका स्याउ सँगै रमाउने फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालहरु टिकटक, फेसबुक जस्ता माध्यमबाट प्रचार पनि हुने भएकाले स्याउ खाने मेला आयोजना गरिएको हो । स्याउको बगैचामा थालिएको यो मेलाले आगामी दिनमा अरु क्षेत्र तथा अन्य फलफूल बगैचामा पनि आयोजना गर्न सकेमा थप प्रचार र प्रभाव देखिने शीतोष्ण वागवानी विकास केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।
समय अगाबै स्याउ बजार पठाउँदा गुणस्तरमा कमि पाइएको भन्ने बजारको आरोप पछि असोज १ गतेदेखि मात्रै स्याउ टिपेर बजार पाठाउने निर्णयले गर्दा स्याउमा स्वाद र रंग दुवै राम्रो भएको छ । सोही जिल्ला स्तरको निर्णय अनुसार मुस्ताङका स्याउ बगैचामा अहिले धमाधम स्याउ टिप्ने कार्य सुरु भएको छ । यही स्याउ टिप्ने क्रम बढेकै समयमा शीतोष्ण वागवानी विकास केन्द्रले मुस्ताङ भ्रमण गर्ने अनुकुल समय तथा स्याउ टिप्ने सिजनको समेत सदुपयोग गर्दै पर्यटन प्रर्वद्धनको ध्येय सहित स्याउ टिप्ने खाने मेला संञ्चालन गरेको शीतोष्ण वागवानी विकास केन्द्र प्रमुख आत्रेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो शीतोष्ण बागवानी विकास केन्द्रले आफ्नो कार्यक्षेत्र भित्र उत्पादन भएको स्याउ क्षेत्र अन्तर्गत एक क्षेत्र तोकेर स्याउ टिप्ने खाने मेला सुरु गरेको हो ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले कृषि संगै पर्यटनलाई जोड्ने ध्येयले पर्यटकलाई स्याउ टिप्ने खाने सुविधा उपलब्ध गराउन शीतोष्ण वागवानी विकास केन्द्रको कार्यालय अगाडीको निश्चित क्षेत्र तोकेको आत्रेयले बताउनुभयो । बोटमा फलेका लटरम्म स्याउ पर्यटकहरु आफै सीमित शुल्क तिरेर बगैचाभित्र घुम्दै धित मरुन्जेल स्याउ टिपेर खान पाउने व्यवस्था गरेको केन्द्र प्रमुख आत्रेयको भनाई छ । लिएर जान पाइदैन टिप्ने खाने गर्न चाहि पाइने व्यवस्था गरिएको छ । बागवानी फार्मको तोकिएको स्याउ बगैचामा पुगेर स्याउ टिपेर खान प्रतिव्यक्ति दुई सय रुपियाँ राजश्व शुल्क तोकेको छ । केन्द्रले तोकेको बगैचा क्षेत्र बाहेक अन्य बगैचामा पसेर स्याउ टिपेर खान भने नपाउने जनाइएको छ । स्याउ टिप्ने खाने मेलामा पर्यटकले बगैचा भित्र फोटो, भिडियो खिच्नुका साथै टिकटक भिडियो र फेसबुक रिल बनाउने गरेको समेत आात्रेयले बताउनुभयो ।
कृषि र पर्यटनलाई जोड्न मुस्ताङमा आयोजित स्याउ टिप्ने मेला
Previous Articleबेनी अस्पताल बहिरङ्ग सेवा : बिहान सातदेखि बेलुका आठ बजेसम्म
Next Article त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर