बिपद्को समयमा तत्काल उद्दार तथा राहतका लागि खट्नका लागि तयार पारेको क्युआरटी टिमले बेनी नगरपालिका ५ मा गत भदौ ८ गते बाढीले क्षती पुर्याएको घरमा सरसफाइ गरेको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दी मातहत रहने गरी तयार पारीएको क्युआरटीले बिहीबार बिहान बेनी नगरपालिका ५ बगुगाखोला स्थीत आदेवी घिमिरेको पक्की घर भित्र थुप्रेको बाढीको लेदो सरसफाइ गरेको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
क्युआरटी हरेक स्थानीय तहका अध्यक्षको कमाण्डमा निर्माण गरिएको र विपद्का समयमा क्युआरटी तत्काल सम्बन्धित स्थानमा पुगेर राहत उद्धार तथा अन्य कार्यमा खट्ने गरेको उहाँको भनाइ छ ।
२०८१ भदौ ८ गते बेनी नगरपालिका ५ बगुवा खोला स्थित अविरल बर्षाको कारण बगुवा खोलामा बाढी आई ५९ वर्षिय आदेवी घिमिरेको १ तले (४ कोठा )को पक्की घरमा ढुङगा, माटो बालुवा लेदो सहितको बाढी पसेर क्षति पुर्याएको थियो । उहाँको घरमा रहेको लत्ताकपडा, अन्नपात र भाडावर्तन, एउटा फ्रिज र एउटा टि.भी. पूर्ण रुपमा क्षेती भएको थियो । साथै सोही स्थानमा रहेको ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठमा र शौचालय समेतमा बाढीले बगाएर पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयाे । मानविय क्षती नभएको उक्त घटनामा गोठमा रहेको २३ वटा कुखुरा, १ हाँस पनि बाढीले बगाउनुका साथै गोठमा राखेका सामग्रीहरु पनि बाढिले बगाएरनष्ट भएको पिडित आदेवी घिमिरेले जानकारी दिनुभयो । उहाँ छिमेकीको घरमा आश्रय लिएर बस्नु भएको प्रहरीले जनाएको छ ।