प्रचण्ड धनगढी पुग्दा तनाव, २५ एमाले नेता समातिए
धनगढी, २२ मंसिर – प्रधानमन्त्री पुष्पकमल दहालले वर्तमान सरकारको नेतृत्वमा संविधान संशोधन र निर्वाचन दुईवटा महत्वपूर्ण काम सम्पन्न हुने दाबी गरेका छन् ।बुधबार कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दे प्रधामन्त्री दाहालले संविधान संशोधन गरी चाँडै निर्वाचनको घोषणा हुने बताए ।
दाहालले भने ‘संविधान संशोधन प्रस्ताव फिर्ता हुँदैन संसदबाट पास हुन्छ ।’ हिमाल, पहाड र तराईलाई एक ठाउँमा मिलाएर देशलाई एकताबद्ध गर्ने प्रयासलाई बिथोल्ने काम भइरहेको बताउँदै दाहालले भने, ‘विगतमा एमालेले तयार पारेको प्रस्तावलाई नै आफ्नो सरकारले संसदमा दर्ता गरेको हो ।’
‘कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ’ उनले भने ‘एमाले अध्यक्ष ओलीले त्यो प्रस्तावको ७ ठाउँमा हस्ताक्षर गर्नुभएको छ ।’ ‘विरोधको औचित्य हुनुपर्छ’ प्रधानमन्त्रीले, ‘एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै भने, ‘त्यही प्रस्ताव उनले तयार गर्दा राष्ट्रवादी हुने मैले संसदमा लैजाँदा राष्ट्रघाती हुने ?’ दोहोरो मापदण्ड अपनाएर जनतालाई भ्रममा नराख्न पनि उनले आग्रह गरे ।
‘संशोधन प्रस्तावमा सबैका भावना समेटेर जान सकिन्छ’ प्रधामन्त्रीले भने ‘संविधान कार्यान्वयन गरी निर्वाचनमा जानुपर्ने समयमा प्रमुख प्रतिपक्षले अनावश्यक आन्दोलन गरिरहेको छ ।’
१६ किलोको माला
उद्योग वाणिज्य संघ कैलालीले सुदूरपश्चिम क्षेत्रका १६ वटा मागको स्मरण गराउँदै प्रधानमन्त्री दाहाललाई १६ किलोको माला लगाएको छ । संघका अध्यक्ष शंकर बोकटीले १६ वटा मागसहित माला पहिराएका हुन् । माला लगाउँदै दाहालले भने, ‘म अर्को पटक आउँदा मालाको वजन धेरै घट्न सक्छ ।’ सुदूर पश्चिम महोत्सवको शुरुबाट गर्दा ०६३ मा आफूलाई २१ किलोको माला लगाएको सम्झना गर्दै उनले भने ‘अहिलेसम्म जम्मा ५ वटा माग पूरा भएका रहेछन् अब पुरै माग पूरा हुन्छन् ।’
प्रचण्ड धनगढी पुग्दा तनाव, २५ एमाले नेता समातिए
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम महोत्सवमा सहभागी हुन धनगढी पुग्दा यहाँ तनाव भएको छ । महोत्सवमा प्रधानमन्त्री उपस्थित हुने भएपछि प्रतिपक्षले अवरोध गरेको हो। अवरोधलाई हटाउने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि केहीबेर झडप पनि भयो। प्रदर्शनका क्रममा प्रहरीले जिल्ला अध्यक्षसहित २५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।
महोत्सव उद्घाटनमा अवरोध सिर्जना गरेको भन्दै प्रहरीले एमालेका जिल्ला अध्यक्ष दीर्घ कोडारी, सचिव रणबहादुर चन्द, सचिवालय सदस्य यज्ञ बास्तोला, अनेरास्ववियु जिल्ला अध्यक्ष चुडामणि भट्ट, युवा संघ नेपालका केन्द्रीय सदस्य मदनराज रेग्मीलगायत २५ जनालाई नियन्त्रणमा लिएको हो ।
महोत्सवमा प्रधानमन्त्री प्रचण्ड उपस्थित हुने भएपछि एमाले, जनमोर्चालगायत दलका नेता तथा कार्यकर्ताले संविधान संशोधन प्रस्तावको विधेयकको विरोध गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि कोणसभामा सहभागी भएका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड दाङमा पुल शिलन्यास गरेर धनगढी पुगेका छन् ।