म्याग्दीको बेनी नगरपालिका–५,पछैमा निर्माणधिन अवस्थामा रहेको रावण पार्क (उद्यान) परिसरमा राखिने रावणको ६ मिटर अग्लो मूर्तिको खुट्टा पार्कभित्र त्रिपालले छोपेर राखिएको छ ।
बेनी नगरपालिकाको गौरवको परियोजनामा रावणको मुर्ती राख्ने विषयमा असहमति जनाउदैं हाल भारतमा बस्ने पर्वतका केदारनाथ दासले सर्वोच्चमा रिट दायर गरेपछि मुर्तीको शरीर र अनुहार ढुवानी रोकिएको छ । २०७७ सालमा सुरु भएको परियोजना अन्तरगत मुल मन्दिरभन्दा पर रावणको मुर्ती सहितको पार्क निर्माण गरेपनि कानुनी झन्झटमा फसेपछि अहिले महत्वपुर्ण काममा आएर रोकिएको छ । सर्वोच्च अदालतले रावण पार्क र प्रतिमा नराख्न दिएको अन्तरिक आदेश बिरुद्ध बेनी नगरपालिकाले पौराणिक तथ्य सहित अन्तरिम आदेश पुनरवलोकन (भ्याकेट) को निवेदनको तयारी सहित बहसका लागि एक टोलीले स्थलगत अनुगमन समेत गरेको छ ।
वडा अध्यक्ष गोविन्द बानियाँले मन्दिर बाहिरको पार्कमा राखिने रावणको मुर्तीको तथ्य र प्रमाणहरु रहेको बताउँदै ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवाको पहिचान समेत गुम्न नदिने बताउनुभयो । पार्कमा रावणको ६ मिटर अग्लो मूर्तिसमेत बनाइने, पुलहाश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्डलगायतका संरचनालाई संरक्षण गरी पार्क बनाउने योजनालाई सहज रुपमा सम्पन्नको वातावरण बनाउन समेत वडा अध्यक्ष बानियाँको अनुरोध छ । हालको मन्दिर, हवन कुण्ड, रावणको नाबी गाडेको ठाउँलाई यथावत राखिने छ । बेनी नगरपालिकाले रावण पार्कमार्फत दक्षिण भारत, भुटान र श्रींलका सहित विश्वभरका हिन्दु धार्मिक पर्यटकलाई भित्राउने तथा स्वदेशी पर्यटकलाई समेत आर्कषित गर्ने गरी विभिन्न योजना बनाएको छ । पार्क सहजै सम्पन्न भएमा निजी क्षेत्रबाट समेत रिर्सोटदेखि विभिन्न परियोजनाका बारेमा बेनी नगरपालिकासँग प्रस्तावमा छलफल भइरहेको छ ।