अमृत बास्कुने
साउन १६ गते । वर्षा यामको करिब समाप्तीको संघारमा आइपुग्दा हिमाली जिल्ला म्याग्दीमा जिल्ला फुटबल संघ म्याग्दी तथा अन्य तीन वटा क्बलहरुले भदौ र असोज महिनामा गरी चारवटा फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् । जिल्लामा हुने प्रतियोगिता मध्ये दुई वटा छात्रा फुटबल प्रतियोगिता र तीन वटा पुरुष फुटबल प्रतियोगिता रहेका छन् ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेश्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालय स्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ । देशै भरीबाट माध्यमिक तह सम्म अध्ययन गर्ने छात्राहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने क्लबका अध्यक्ष उपेन्द्र गिरीले जानकारी दिनुभयो । क्लबका पूर्व अध्यक्ष अनन्त गिरीको स्मृतीमा आयोजना हुने प्रतियोगितामा नेपालभरबाटै विद्यालय स्तरका छात्राहरुले सहभागिता जनाउन पाउनेछन् । उहाँका अनुसार प्रतियोगितामा सहभागिताका लागि चालु शैक्षिकसत्रमा माध्यमिक तह अध्ययन गर्ने छात्राहरुले विद्यालयको आधिकारीक पत्र सहित आउनु पर्नेछ । २०८१ भदौ ८ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ४५ हजार रुपियाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो हुनेले २५ हजार रुपियाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जनाएको छ ।
त्यसैगरी द मन–सुन युवा क्लब बेनी नगरपालिका चुत्रेनीले आठौं मनसुन कप ९–एसाइड फुटबल प्रतियोगिता यही भदौ १९ गते देखि २२ गते सम्म आयोजना गर्दै छ । क्लबले दिएको जानकारी अनुसार खुल्ला फुटबल प्रतियोगितामा पहिलो हुनेले ८० हजार रुपियाँ र दोश्रो हुनेले ४० हजार रुपियाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तीजको अवसरमा हुने उक्त प्रतियोगितामा स्लो डान्स, ग्रुप डान्स, घैटो फोड तथा तिज गीत समेत आयोजना गरिने भएको छ ।
फुटबलको विकास नवप्रतिभाको पहिचान, हाम्रो अभियान भन्ने नारा सहित जिल्ला फुटबल संघ म्याग्दीको आयोजनामा प्रथम म्याग्दी कप फुटबल–२०८१ म्याग्दी जिल्ला स्तरीय पुरुष तथा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ म्याग्दीकाा अध्यक्ष कुमार बानियाँका अनुसार यही भदौ ३१ गते देखि असोज ५ गते सम्म हुने पुरुष फुटबलमा जिल्ला भित्रका टिमहरुले मात्रै सहभागिता जनाउन पाउने छन् । पुरुष फुटबलमा दुई जना जिल्ला बाहिरका खेलाडी सहभागी गराउन पाइने छ । छात्रा फुटबलमा भने जिल्ला भित्रका माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । पुरुष फुटबलमा पहिलो हुनेले ७० हजार रुपियाँ र दोश्रो हुनेले ४० हजार रुपियाँ नगद तथा छात्रा फुटबलमा पहिलो हुनेले ३० हजार र दोश्रो हुनेले १७ हजार रुपियाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । जिल्ला संघले नै आयोजना गर्ने खेलमा केही फरक पन हुन आवश्यक छ भन्ने हेतुले महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको अध्यक्ष बानियाँको भनाई छ ।
त्यसैगरी रिभरसाइड बगरफाँट युवा क्लबले दोश्रो रिभरसाइड ७–ए साइड फुटबल प्रतियोगिता आउँदो असोज १७ देखि २० गते सम्म आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष सुनिल थापाले दिएको जानकारी अनुसार ७–ए साइड प्रतियोगितामा जिल्लामै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता खुल्ला रुपमा सञ्चालन हुने छ । फुटबल प्रतियोगितामा पहिलो हुनेले एक लाख एक हजार १० रुपियाँ र दोश्रो हुनेले ५० हजार पाँच सय पाँच रुपियाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रत्येक खेलमा विजयी टिमले नगद एक हजार पाँच सय प्राप्त गर्ने र सेमीफाइनलबाट बाहिरीने टिमले नगद चार हजार रुपियाँ पुरस्कार पाउने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
सबै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता तथा अनुशासित टिमलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
म्याग्दीमा विभिन्न चार वटा फुटबल प्रतियोगिताको घोषणा
By Amrit Baskune3 Mins Read
Previous Articleतेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल हुँदै
Next Article सानिमा रिलायन्सको मृत्यु दाबी भुक्तानी