बागलुङ, २२ मंसिर – गौरीशंकर बालविकासमा अध्ययन गर्ने अविन पौडेलले बालविकास केन्द्रको पाठ्यक्रममा व्यवस्था गरिएका सबै क्रियाकलाप र पाठ बताउन सक्ने भएका छन् । ४ बर्षका पौडेलले ठूलालाइ गरिने आदर बारेपनि सिकेका छन् ।
बालविकास केन्द्रमा राखिएका विभिन्न सिकाइ कुना बारे पनि उनी जानकार छन् । नेपाली र अंग्रेजी अक्षर प्रष्ट र सहज रुपमा बोल्न र पढ्न सक्छन् । विद्यालयको नाम र सहजकर्ताको नाम पनि कण्ठै छ । रमाएर सिक्ने र खेल्ने तथा मनोरञ्जन लिने स्थानको रुपमा बालविकास केन्द्र बनाएपछि बालबालिकामा यस्तो परिवर्तन आएको हो । गौरी शंकरमै पढ्ने प्रवचन विश्वकर्मा पनि कोही भन्दा कम छैनन् । उनले पनि सहज रुपमा नेपाली र अंग्रेजी अक्षर पढ्न सक्ने भएको सहजकर्ता कमला गैह्रेले बताइन् ।
नियमित केन्द्रमा आउने र पूरै समय बालबालिकाको सिकाइका लागि ध्यान दिएकोले यो सफलता पाएको उनले बताइन् । साथै अझै सिकाइलाइ व्यवस्थित बनाएर सबै बालबालिका शतप्रतिशत उपलब्धी हसिल गर्ने उनको चाहना छ । केन्द्रमा भर्ना भएका मध्ये अधिकांस सिकाइमा निकै अग्र रहेको एक अध्ययनले पनि देखाएको हो । सेतो गुराँस बालविकास सेवा र सहयोगी संस्था सेभ द चिल्ड्रेनले तयार गरेको प्रश्नाबलीमा ती बालाबालिकाले शतप्रतिशत उत्तर दिन सकेका हुन् । नगरभित्रका १३ वटा बालबिकास केन्द्रमा उक्त प्रश्नाबली सहितको सवेक्षण गरिएको थियो ।
त्यस्तै सदाशिव बालविकास केन्द्र भान्सामा अध्ययनरत आदित्य केसी र उत्सव सापकोटाले पनि उमेर र पाठ्यक्रम भित्रको शतप्रतिशत सिकाइ गर्न सकेको देखिएको थियो । बालबालिकालाइ कक्षा १ मा पुग्दा पनि रमाएर पढ्ने र गुणस्तरीय सिकाइका लागि सहयोग पुगोस भनेर ‘शिक्षित भविष्य’ कार्यक्रम मार्फत बालविकास केन्द्र निर्माण, व्यबस्थापनको काम गरिएको सेतो गुराँस बालविकास सेवाकी परियोजन संयोजक पम्फा खड्काले बताइन् । सन् २०१४देखि सन् २०१६ को डिसेम्बर सम्म तीन बर्ष यो परियोजना संचालनमा थियो । बागलुङ नगरपालिका सहित बिनामारे, पैयुँथन्थाप, सर्कुवा र दमेक गाविसमा यो परियोजना संचालनमा छ ।
हरेक बालविकास केन्द्रमा उज्यालो पुगेको, न्यानो कार्पेट सहितको बसाइ व्यवस्थापन, दैनिक जीवनका सामाग्री, घरपालुवा जनावर, जंगली जनावर समेत चिन्ने व्यवस्था गरिएको छ । खेल सामाग्रीलाइनै सिकाइको आधार बनाइएको छ । विभिन्न चित्र, आकार र रंगका सामाग्री मार्फत उनीहरुलाइ चिनाइने गरिन्छ । बालबालिकको उमेर अनुसारको मस्तिष्क वृद्धि हुने र त्यो ५ बर्षको उमेर भित्रै अधिकांंंंंंंंंंंंंंंंंंंस विकास हुने भएकोले त्यही उमेरमा सिक्ने अवसर प्रदान गर्न केन्द्रको अवधारणा आएको कार्यकारी निर्देशक बिना कार्कीले बताइन् । यस अघि काम गरेको क्षेत्रको समिक्षाले पनि उपल्लो कक्षामा गएका बालबालिकाको सिकाइ, संस्कार र बानी राम्रो देखिएको समेत उनले बताइन् ।
बालबालिकाको सिकाइ देखेर अभिभावक पनि खुसी भएका छन् । साथै अन्य व्यवस्थापकीय सुधारका लागि समय समयमा बैठक बस्ने गरेको धौलागिरी विरेन्द्र बालविकास केन्द्रकी सहजकर्ता सरस्वती शर्माले बताइन् । बालबिकास केन्द्रको अवधारणामा जिल्ला अग्रणी स्थानमा रहेको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले बताए । राम्रो देखिएकै कारण अन्य जिल्लाबाट भ्रमणमा आएकाहरुले नगरपालिका र पायक पर्ने स्थानका केन्द्रको नियमित भ्रमण समेत गर्छन् ।