काठमाडौँ, २२ मंसिर – सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव पास नभएपनि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने उनका सल्लाहकारले बताएका छन् । प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले समस्या समाधानको लागि संशोधन प्रस्ताव ल्याएको भन्दै सहमतिमै पारित गर्ने तयारी भइरहेको बताए ।
बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा खनालले भने, सहमतिका प्रयासहरु भइरहेको छ, तर प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न ।’ संशोधन प्रस्तावले ५ नम्बर प्रदेश टुक्रिँदैछ भन्ने हल्ला चलिरहेको भन्दै उनले आक्रोस पोखे । तर, किन ५ नम्बर प्रदेश चलाउने भनेर जनस्तरबाट व्यक्त असन्तुष्टिलाई सम्मान गर्ने उनले बताए ।
माओवादी नेता समेत रहेका खनालले पछिल्लो समय दुई वटा अतिवादी सोच हावी भइरहेको गुनासो पोखे । मधेसलाई जबरजस्ती धकेल्न खोज्ने प्रवृत्ति र सामन्ती राष्ट्रवादको प्रवृत्ति हावी भएको भन्दै उनले परिस्थितिको ठीक ढंगले विश्लेषण गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिए । संविधान कार्यान्वयनको अगुवाई गर्नुपर्ने बेला संशोधनको कुरा उठाएर सरकारले नाटक गरेको भन्दै उनले भने, ‘सरकारको अगुवा गर्नेहरुले नै यस्तो काम गरेपछि कसरी संविधान कार्यान्वयन हुन्छ ?’ ५ नम्बर प्रदेशका जनताहरु एकमत रहेको भन्दै उनले भने, ‘जनताहरु एक छन्, तर सरकारले विभाजन गर्ने काम गरिरहेको छ, यो प्रस्ताव कसको हो ? कसको लागि ल्याईएको हो ?’
सत्तारुढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संशोधन प्रस्ताव लैनचोर (भारतीय दूताबास) को निर्देशनमा आएको भन्दै फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताएका छन् । उनले भने, ‘विवाद नै नभएको प्रदेशमा किन विभाजन ल्याउन खोजिँदैछ ? तराई र पहाडका जनता मिलेर बस्छु भनिरहेका छन्, त्यहाँको जनताको अभिमत लिनुपर्दैन ? कसलाई सोधेर यस्तो काम गर्नुभयो ?’
तर, मधेसी मोर्चाका नेता राजकिशोर यादवले संविधानमा सर्वस्विकार्यता बढाउनको लागि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक कदम सकारात्मक भएको बताए । साथै प्रस्ताव पारित गराउन मोर्चाले सहयोग गर्ने स्पष्ट पारे । उनले भने, ‘प्रस्ताव आउनु सकारात्मक हो, विषयवस्तुमा छलफल गर्छौं, परिमार्जन भए प्रस्ताव पारित गर्न मोर्चाले सहयोग गर्छ ।’