डिल्लीप्रसाद गौतम
समयको परिवर्तनसँगै बागलुङ बजार क्षेत्रमा दिनानुदिन साघुँरीदै गैरहेको आभाष स्थानियहरुले गरिरहेका छन् । एकातिर पुरानै परिपाटीअनुसार निर्माण भएका मापदण्ड विपरीतका भवनहरु त अर्को तर्फ समयको विकाससँगै बाक्लिदै गैरहेको यातायातका साधानहरु । बागलुङ बजार क्षेत्र क्षेत्रफलको हिसाबले अन्य शहरहरुको तुलनामा आफैमा साँघुरो क्षेत्र हो । यस ठाउँमा करिब ५० प्रतिशत घरहरु नगरपालिका घोषणा हुनुपूर्व नै पुरानो मापदण्ड अनुसार निर्माण गरिएका छन् जो अहिलेको मापदण्डअनुसार बाहिर पर्दछन् भने केही घरहरु करिव २५ प्रतिशत नगरपालिका घोषणा सँग–सँगै निर्माण भएका भवनहरु पनि अहिलेको मापदण्ड बाहिर पर्दछन् । बाँकी २५ प्रतिशत भवनहरु अहिलेको मापदण्डमा मुस्किलले मात्र पर्दछन् । यसरी तिन किसिमका मापदण्डको मिश्रणको उपनाम हो ‘बागलुङ नगर क्षेत्र’ । यसरी एकातिर निश्चित मापदण्ड भित्र बन्न नसकेका भौतिक पूर्वाधार त अर्कोतर्फ बढ्दो जनघनत्वका साथै दिनानुदिन वृद्धि भैरहेका यातायातका साधनहरुको चापले गर्दा बागलुङ नगर क्षेत्र साघँुरीन पुगेको छ ।
यसै सन्दर्भमा समसामयिक विषयमा केन्द्रित रही यहि मंसिर १४ गते बिहान ठिक आठ बजे जिल्ला ट्राफिक कार्यालय तथा बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा विभिन्न विषयगत संघहरु बीच उद्योग वाणिज्य संघको सभाहलमा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरियो । उसो त बागलुङ बजार क्षेत्रभित्र रहेका मुख्य सरकारी कार्यालयहरुमा कार्यालय प्रमुख फेरीदा यस्ता खाले धेरै ने कार्यक्रमहरु भैसकेका छन्भने भोली पनि हुने नै छन् । यसैको पुनरावृत्ति थियो यो अन्तरक्रिया कार्यक्रम पनि । बागलुङ जिल्ला ट्राफिक कार्यालयमा पनि पुराना प्रमुख सरुवा भएर नयाँ प्रमुखको रुपमा सरुवा भएर आएका विकास तिमिल्सीना बागलुङ ट्राफिक कार्यालयमा पदभार ग्रहण गर्ना वित्तिकै यहाँका विभिन्न व्यावसायी र यातायात तथा स्थानिय व्यापारीहरुमा नयाँ तरङ्ग पैदा हुन पुग्यो । प्रमुख तिमिल्सीना हाजिर हुना वित्तिकै ट्राफिक नियममा केही कडाई गरे । सडक छेउमा लथालिङ्ग अवस्थामा विना काम पाकिङ्ग गरिएका सवारी साधनमा साङ्गले अभियान, बुलेट, भि.आर. बाइकको गति र हर्न नियन्त्रण, लाइसेन्स विना तथा बिलबुक विबा सञ्चालित सवारी साधनको चेकजाँच कडाइका साथै अफिस टाइममा पनि ठूला–ठूला गाडीहरु सडक अवरुद्व हुने गरी लोड अनलोड, सडकपेटी अवरुद्ध हुने गरी व्यापारीहरुले राखेका सामान हटाउने प्रक्रियाको थालनी ।
हुन त यस नगरक्षेत्र भित्र रहेका मुख्य सरकारी कार्यालयहरुमा नयाँ प्रमुख आउँदा केही तरङ्ग आउने र विस्तारै तरङ्ग साम्य हुने गरेका छन् । यस ट्राफिक अभियानलाई पनि आमनागरिकले यसरी नै बुझ्ने गरेका पनि छन् । तर पनि उक्त दिनको अन्तरक्रियाले व्यवसायी तथा ट्राफिक कार्यालयलाई ट्राफिक व्यवस्थापनमा केही न केही सहज भएको अनुमान गर्न सकिन्छ । उक्त अन्तरक्रिया कार्यक्रमले थोरै मात्रामा भएपनि उद्योगी व्यावसायी तथा ट्राफिक कार्यालय बीच एक अर्काका समस्या तथा गुनासा सुन्ने र बुझ्ने काम भएको छ । उक्त कार्यक्रममा उपस्थित व्यवसायीहरुले आफ्ना समस्या नियमन निकायका प्रमुखलाई खुल्ला रुपमा राखेका छन्भने उक्त निकायका प्रमुखले पनि नियम कानुन पालना गर्नु तथा गराउनु सबैको कर्तव्य भएपनि कतिपय अवस्थामा व्यवहारिकता पनि हेरिने गरेको तथा हेरिने बताउनुले सम्पूर्ण व्यवसायीहरुमा पनि नयाँ आशा पलाएको पाइएको छ । ट्राफिक प्रमुख तिमिल्सिनाले व्यावसायीलाई दुःख दिने तथा जरीवाना गरी राजश्व असुल गर्ने मनसाय नरहेको बताए ।
बागलुङ बजार क्षेत्र अति नै साँघुरो भएको, प्रत्येक चोकबाट गल्लीमा ठूला गाडी छिर्न असम्भव रहेको, बोर्डिङ्ग स्कुलहरुका ठूला–ठूला बसहरुले पनि ट्राफिक व्यवस्थापनमा कठिनाई थपिएको, मोटरसाइकल, साइकल तथा रेक्सा लगायत साना जिप, भ्यान तथा पिकअप जस्ता सवारी साधनको अव्यवस्थित पार्किङ्गले पनि ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ । व्यावसायीहरुको सडक पेटीमा सामान थुपार्ने परिपाटीले यात्रुहरुको आवागमनमा समस्या पैदा गर्नुका साथै दुर्घटना बढेको विषयमा केन्द्रित रही भएको छलफलमा उद्योगी व्यवसायी तथा नियमन निकायबीच मिलेर जाने तथा समस्या पैदा भएमा एक अर्काबीच बसेर आपसी छलफलबाट समस्या समाधान गर्ने सहमति भयो । जेहोस् उक्त कार्यक्रमले व्यवसायी तथा नियमन निकायबीच रहेका शंका उपशंका हटाउने तथा एकअर्काको समस्या बुझ्ने सेतुको काम गरेको छ । अबका दिनहरुमा यस्ता छलफल चल्दै गएभने र बागलुङ बजारको ट्राफिक व्यवस्थापनमा सुधार, आयो भने धन्यवाद तिमिल्सीना भनि यहाँका नागरिकले भन्ने छन् । नत्रभने हात्ती आयो, हात्ती आयो फुस्सा ! भन्ने उखान चरितार्थ हुनेछ ।