अमृत बास्कुने
अहिले विश्वमा खेलकुदका महाकुम्भहरु चलेका छन् भन्दा फरक नपर्ला । क्रिकेट विश्वकप, फुटबलको दक्षिण अमेरिका क्षेत्रमा सञ्चालन हुने कोपा अमेरिका र युरोपका देशहरुको युरो कपको गर्मिले सबैलाई छोएको छ । यस्तो अवस्थामा सबै खेलको लागि उतिनै उर्जा चाहिन्छ र अभ्यासका साथै अन्य पूर्वाधारहरु पनि चाहिन्छ । खेलकुद क्षेत्रमा सक्रिय हुनेहरुका लागि सबै भन्दा महत्वपूर्ण खेल भनेको ओलम्पीक हो । ओलम्पीकमा सहभागि हुने अन्य क्षोत्रका खेलकुदका प्रतिभाहरुको चाहना हुन्छ भने क्रिकेट र फुटबलको लागि भने आफ्नो छुट्टै विश्वकपलाई नै प्राथमिकतामा राखेका हुन्छन् । अहिले ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकप चल्दै गर्दा अमेरिका र युरोपमा क्षेत्रीय स्तरका प्रतियोगिता पनि सञ्चालन भै रहेका छन् । यसले के देखाउँछ भने खेल क्षेत्रमा आ–आफ्नो क्षेत्र र मुख्य प्रतियोगिता हुन्छ नै । क्रिकेट र फुटबलको विश्वकपका लागि फरक तबरले अन्तिम सहभागिहरु छनौट हुने गर्दछन् । फुटबलका लागि सबै महादेशहरुबाट छनौट चरण पार गरेर पुग्नु पर्छ भने क्रिकेटमा उनिहरुको बरियताक्रमका साथै क्षेत्रीय छनौट पनि हुन्छ । विश्व बरियताका उत्कृट केही र अन्य छनौट चरणबाट आउनेहरुले क्रिकेटमा विश्वकप खेल्छन् । यसपाली नेपालले पनि एसियाली छनौट चरण पार गरेर सहभागिता जनाएको थियो । त्यस्तै फुटबलका लागि पनि नेपालले विश्वकपको छनौट चरण खेलेको भए पनि कुनै पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
क्रिकेट
म्याग्दी जिल्लामा आफ्नो सम्पन्न पूर्वाधार नभएको कारणले गर्दा क्रिकेट खेल्नका लागि खेलाडीहरु अन्यत्रै जान पर्ने बाध्यता रहेको अवस्था छ । बेनी नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने खेलाडीहरुले कतिपयले पर्वत जिल्ला त कतिले बागलुङ जिल्लाको टिमबाट खेल्दै आएका छन् । म्याग्दीको रत्नेचौरका जस्मीन थापा अहिले बागलुङ जिल्लाबाट खेल्दै आएका छन् । त्यस्तै रितिक थापा पर्वट जिल्लाको टिमबाट प्रदेश स्तरीय क्रिकेटका लागि खेल्दै आउनु भएको छ । म्याग्दी जिल्लामा सम्भावना भएका खेलाडीहरु हुँदै गर्दा पनि आफ्नो जिल्लामा क्रिकेट एसोसियन नेपाल(क्यान)बाट जिल्लाले मान्यता नपाउँदा क्यानले आयोजना गर्ने प्रतियोगिताहरुमा सहभागि हुन पाएको छैन ।
जेठ महिनाको पहिलो हप्ता म्याग्दी क्रिकेट संघको अगुवाइमा टिम म्याग्दी, टिम रत्नेचौर, टिम बगरफाँट र बेनी नगरपालिका गरी चार टिम सम्मीलित क्रिकेट लिग भएको थियो । उक्त लिग खेल पनि बेनी बजारको खुल्ला मञ्चमा नै खेलाइएको थियो । खेलाडीहरुलाई चाहिने एक्सपोजरका लागि पनि जति सक्यो धेरै प्रतियोगिताहरु हुनु पर्छ । त्यो समय पनि एक्सपोजर कै समस्या झल्किएको थियो । टिम रत्नेचौरबाट कप्तानी गरेका जस्मीन थापा बागलुङ जिल्लाबाट क्रिकेट खेल्दै आउनु भएको थियो भने टिम बगरफाँटका कप्तान रितिक थापा पर्वत जिल्लाको टिमबाट खेल्दै आउनु भएको थियो । त्यस बखतको लिगको बिजेता बगरफाँट र उपबिजेता रत्नेचौर भएको थियो । दुवै टिमबाट खेल्ने खेलाडीहरु म्याग्दी जिल्ला तथा अधिकांश बेनी नगरपालिका घर हुँदै गर्दा पनि बेजिल्लाबाट खेल्दै आफ्नो खेल प्रतिभालाई निखार्दै आएका थिए । यसले पनि खेल प्रतिभा मात्रै नभएर खेलकुदको क्षेत्रमा अब्बल बन्नका लागि अभ्यास अनि प्रशिक्षणले नै मुख्य भूमिका खेल्दै आउँछ ।
फुटबल
फुटबल प्रतियोगिताहरु म्याग्दीमा धेरै हुने गरेको भए पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको खेल हुन सकेको भने छैन । अन्तर्राष्ट्रिय मापदण्डको ११÷११ जना खेल्नु पर्ने भए पनि हाल सम्म बेनी बजारको खुल्ला मञ्चमा हुने प्रतियोगिता बढीमा ९÷९ जना मात्रै खेल्ने गरीएको छ । ९ जना भन्दा बढी खेल्नका लागि बेनीको खेल मैदान पनि पुग्दैन । फुटबल खेलमा म्याग्दीबाट धेरै खेलाडी निस्के निस्केनन् भन्दा पनि जिल्ला भन्दा बाहिर भएकाहरुले नै आफ्नो प्रतिभा निखार्दै ए डिभिजन लिग सम्म पुगेका छन् । बेनी नगरपालिका–५ का प्रविन हमाल हिमालयन शेर्पाबाट खेलेका थिए । त्यस्तै सिद्धान्त शाक्य सि डिभिजन लिग फुटबलमा गोलकिपरको भूमिकामा खेलेका थिए ।
२०७९ सालमा म्याग्दीमा अखिल नेपाल फुटबल संघ(एन्फा)को आधिकारीकता लिनका लागि भन्दै जिल्ला लिग फुटबल आयोजना गरिएको थियो । जिल्ला भित्रका र छिमेकी जिल्ला पर्वतको गरी ८ क्लब सम्मीलित जिल्ला लिग फुटबल भए पनि त्यस पछि त्यसलाई आधिकारीकताका लागि अगाडी बढ्न सकेको अवस्था हैन । फुटबलका लागि आवश्यक पर्ने पहिलो सर्त भनेकै जिल्ला संघको नाउँमा आफ्नै खेल मैदान वा भोगचलनका लागि अनुमति हो । त्यो हाल सम्म जिल्ला भित्र कहिकतै पनि छैन । अहिलेकै अवस्था हेर्ने हो भने पनि रत्नेचौर र सुर्केमेला तथा चुत्रेनीको खेल मैदानलाई प्रयोगमा ल्याएर त्यसैलाई देखाएर गर्न सकिने सम्भावना छ । तर त्यसका लागि निश्चित आधारहरु पेश गर्नु पर्ने हुन सक्छन् र संघलाई ति मैदान उपलब्ध हुन्छ कि हुदैन भन्ने पनि हो ।
एथलेटिक्स
म्याग्दी जिल्लामा हुने खेलकुद प्रतियोगिताहरु मध्ये एथलेटिक्स पनि मुख्य हो । एथलेटिक्स खेल राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा मात्रै हुन्छ भन्दा अहिले त्यत्ती फरक नपर्ला । सरकारी तबरबाट हुने राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने राष्ट्रिय खेलकुदका लागि जिल्ला छनौटका लागि कोटा आयो भने छनौट गर्ने र त्यस भन्दा फरक राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सिवाय अन्य कुनैपनि प्रतियोगितामा एथलेटिक्स समावेस गरेको पाइदैन । अनि कुन तौर तरिकाबाट नतिजा हासिल गर्न सकिएला ? राष्ट्रपति रनिङ शिल्डको इतिहासै हेर्ने हो भने पनि पछिल्लो १० वर्षमा १० जना पनि प्रदेश स्तरबाट अगाडी बढेको देखिदैन । हर्कमान रोका, युगीन तामाङ, शुरेस दर्जी, एन्जीला खत्रीले राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय स्तरमा खेल्नु भएको एथलेटिक्स प्रशिक्षणमा लामो समय बिताउनु भएका दिपेन राईको भनाइ छ । त्यस्तै लामो दौडमा म्याग्दीको प्रतिनिधित्व गर्दै सिद्धान्त अधिकारीले खेल्नु भएको भए पनि उहाँ म्याग्दी भन्दा बाहिर जिल्लाका खेलाडी हुनुहुन्थ्यो ।
मार्सलआर्ट
मार्सलआर्ट बिधामा अहिले मुलुकमा चलेका मध्ये मुख्य तीन वटा खेल म्याग्दी तथा बेनी नगर क्षेत्रमा पनि छ । यहाँ भएका उसु, तेक्वान्दो र कराँते खेलमा राष्ट्रिय स्तर सम्म खेलाडीहरु पुग्दै आउनु भएको छ । उसु, तेक्वान्दो र कराँतेमा राष्ट्रिय स्तरमै पदक पनि हासिल गर्नुभएका खेलाडीहरु हुनुहुन्छ । उसु प्रतियोगिताबाट समिप किसान, सज्जन कार्की, सज्जन किसान, प्रमिशा बानियाँ, सञ्जीता परियार, बिसाल बरुवाल, कृष किसानलगायतका खेलाडीले राष्ट्रिय स्तरमा सहभागिता जनाउनु भएको छ । यस पटककै राष्ट्रपति रनिङ शिल्डमा बेनी नगरपालिकाकी प्रकृति रन्तिजाले केन्द्रीय स्तरमै रजत प्राप्त गर्नु भएको तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानको भनाई छ । कराँतेमा मार्सल गर्बुजा, डेलिविया गर्बुजा, प्रेरणा रोका, सुदिक्षा बुढा तथा रेट्रोना बानियाँले राष्ट्रिय स्तर सम्मै पदक प्राप्त गर्नु भएको कराँते प्रशिक्षक सुमन बानियाँको भनाई छ ।
गत बैशाखमा भएको गण्डकी प्रदेश स्तरीय भलिबलमा दर्शक
भलिबल
नेपालको राष्ट्रिय खेल भलिबलको चर्चा हरेक गाउँ टोलमा हुने गरे पनि हालको अवस्थामा बेनी नगरपालिका–९ का सुजन चोखाल गण्डकी प्रदेश स्तरीय टिममा रहनु बाहेक अन्य खेलाडीहरु बेनी नगरपालिकाबाट माथिल्लो तहमा नपुगेको हो कि जस्तो देखिन्छ । समग्र जिल्लाबाट हेर्ने हो भने नेपाली टिमकी कप्तान अरुणा शाही, पुलिस क्लबकी कप्तान कमला पुन, पुलिस क्लबका खेलाडी झमान सिंह जस्ता खेलाडीहरु भए पनि नगरपालिका क्षेत्रबाट माथिल्लो तह सम्म पु¥याउन नसकिएको हो कि जस्तो देखिन्छ । तर पनि पछिल्लो समय भलिबल प्रशिक्षण शुरु गरीएको र त्यसले प्रभाप पारेको खण्डमा थप केही हुन सक्ने सम्भावना नर्कान सकिदैन तर खेल क्षेत्रमा समग्रमा बेनी नगरपालिकाबाट प्रतिनिधित्व गर्ने संख्यात्मक रुपमा कमी नै देखिएको मान्न सकिन्छ ।
निचोड
बेनी नगरपालिकाले खेलकुदको क्षेत्रमा गतिबिधिहरुलाई बढाउनु पर्ने देखिन्छ । नगरक्षेत्र भित्र रहेका खेलकुदका विषयगत संघहरु सँग सहकार्य गर्ने र उनीहरुलाई सक्रिय बनाउँदै खेल गतिबिधिहरु बढाउन सकेको खण्डमा नतिजा पनि आफ्नो पक्षमा आउन सक्छ । नगरपालिका भित्र रहेका भलिबल संघ, क्रिकेट संघ, फुटबल संघ, तेक्वान्दो संघ, कराँते, उसु, एथलेटिक्स, आइटिएफ कराँते, कबड्डी संघ जस्ता संघहरु सँग सहकार्य गरेर वार्षिक रुपमा कम्पतिमा सबै प्रकारका खेलकुद प्रतियोगिता आयोजना गरेर अगाडी बढेको खण्डमा खेलकुदमा नतिजा निकाल्न सकिन्छ । नेपाली क्रिकेट टिमले गएको विश्वकपमा सबै टिमलाई कडा चुनौती दिए पनि नतिजा आफ्नो पक्षमा निकाल्न असफल भयो । यसको मतलब के हो भने ठुला टिम सँग नेपालको खेल अभ्यास नहुनु नै हो । त्यसैले खेलमा नतिजाका लागि अभ्यास जरुरी भएको हुनाले खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आगामी दिनमा नतिजा ल्याउनका लागि नगरपालिकाले प्रयास गर्नु पर्ने देखिन्छ ।