चितवनको भरतपुर महानगरपालिका–१ बागेश्वरी देवघाट स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका गाईलाई खुवाउन चोकरको अभाव भएको छ । गाईलाई खुवाउने चोकर, ढुटो तथा पराल खरिदल गर्न आफ्नै श्रोत नहुँदा दाताको भरमा चोकर खरिद गरिँदै आएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले बताए ।
भरतपुर महानगरपालिका–१ मा रहेको बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित उक्त गौ संरक्षण केन्द्रमा रहेका गाईको संरक्षण दाताको भरमा हुँदै आएको छ । उक्त गौ संरक्षण केन्द्रमा हाल २२५ जति रैथाने जातका वैद्धिक गाईहरू संरक्षित रहेको ढकालले बताए । उक्त गाईलाई खुवाउन कम्तीमा दैनिक तिन बोरा चोकर चाहिने ढकालले बताए ।
यहाँ रहेका स्थानीय जातका गाईको दैनिक आहारविहार दाता र चन्दाको भरमा सञ्चालन हुने गरेको हो । आश्रमका अध्यक्ष ढकालका अनुसार यहाँ रहेका गाईलाई दानाका लागि मासिक पाँच लाख भन्दा बढि खर्च हुने गरेको छ । गौ संरक्षणका लागि विभिन्न दाताले सहयोग गरेको रकमको ब्याज र अन्य आम्दानी गरेर मासिक एक लाख ३५ हजार संकलन भए पनि नपुग खर्चका लागि दाताकै भर पर्नुपरेको छ ।
धर्म संस्कार र संस्कृतिको रक्षार्थ गौ सेवाको महत्वलाई दर्शाउन राष्ट्रगुरु योगी नरहरिनाथले स्थानीय जातका गाई संरक्षण गर्ने उद्देश्यले विसं २०४३ मा गौ संरक्षण केन्द्र स्थापना गर्नुभएको थियो । चितवनको माडीबाट स्थानीय जातका सातवटा गाई ल्याएर संरक्षण थालिएकामा अहिले केन्द्रमा २२५ गाईगोरु छन् । राष्ट्रगुरु योगी नरहरिनाथले सुरु गर्नुभएको कार्यको निरन्तरताका लागि गौ संरक्षण कार्य विभिन्न व्यक्तिसँगको सहकार्यमा गरिँदै आइएको अध्यक्ष ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार गौ संरक्षण केन्द्रमा ११ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेलाई आजीवन सदस्य र एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यको रुपमा राख्ने गरिएको छ । यसरी संकलन भएको रकमलाई बैंकमा राखिएको ब्याज र दूधलगायत बस्तु बेचेर आएको रकमका साथै अपुग रकम सहयोगबाट चल्ने गरेको छ ।
हिन्दुहरुको आस्थाको केन्द्र स्थानीय जातको गाइको संरक्षण गर्ने र गौ वंशको रक्षाका लागि गौ संरक्षण केन्द्र स्थापना गरिएको हुँदा उक्त केन्द्रमा संरक्षित गाईको रक्षाकोलागि सबैबाट यथासक्य सहयोगको अपेक्षा गरेको अध्यक्ष ढकालले बताए ।