नेपाल सरकारले देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेर सूचना जारी गरेपछि जेष्ठ नागरिकहरुलाई सास्ती भएको छ । जिल्लाका स्थानीय तहहरुले आफ्नोमा पनि अनिवार्य रुपमा लागु हुन सक्ने भन्ने आधारमा परिचयपत्र बनाउनु भनेर सूचना गरेसँगै जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि ज्येष्ठ नागरिकहरुको भिड लाग्ने गरेको छ ।
रघुगंगा गाउँपालिका– ७ कि ८१ वर्षीया केटीसरा पुन पनि राष्ट्रिय परिचयपत्र बनाउनका लागि जेठको ३२ गतेनै आउनु भएको थियो । त्यस दिन भिडले गर्दा पालो नआउँदा फर्कनुभएकी उहाँ असार २ गते बिहानै जिल्ला प्रशासनमा पुगेको भए पनि २६ नम्बरमा मात्रै आफ्नो पालो परेको सुनाउनु भयो । १२ बजे जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा पुग्दा जम्मा १२ जनाको मात्रै बायोमेट्रिक सकिएको थियो । ‘दुई घण्टाको अवधिमा मात्रै १२ जनाको काम भएको छ’– राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर विष्णु खत्रीले जानकारी दिनुभयो । जेष्ठ नागरिकलाई लाइन बस्न नपर्ने भन्ने भए पनि सबै जेष्ठ नागरिक भए पछि आफ्नो पालो सबैले पर्खनै पर्ने अवस्था रहेको जेष्ठ नागरिक पुनको भनाई छ ।
एक हातमा आफन्तले समातेर अर्को हातमा लठ्ठीको साहारामा राष्ट्रिय परिचयपत्र बनाउन आउनु भएका मालिका गाउँपालिका– ३ रुमका ९५ वर्षीय रुद्रबिर घर्तीले पनि आफ्नो पालो आज आउने सुनाउनु भयो । उहाँलाई पनि आफन्तले नै परिचयपत्र बनाउनका लागि लिएर आउनु भएको थियो । राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएर आउनुपर्ने वडाले भनेकोले आँफु सहयोगी सँगै आएको रुद्रबिरको भनाई थियो ।
देशका २८ जिल्लामा आउँदो साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेको भए पनि गण्डकी प्रदेशको कास्की र तनहुँमा मात्रै त्यो लागु हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको भनाई छ । प्रदेशका दुई जिल्लामा मात्रै लागु हुने भनिएको भएपनि जनताले सबै ठाउँमा लागु हुने बुझेकोले गर्दा म्याग्दीमा भिड बढेको उहाँको भनाई छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको कारणले गर्दा पनि म्याग्दीमा परिचयपत्र लिनेको भिड बढेको प्रजिअ ढकालको भनाई छ । उहाँले भन्नुभयो–‘म्याग्दीमा परिचयपत्र अनिवार्य गरेको छैन त्यसैले अहिले भिड गर्न पर्दैन, तर परिचयपत्र बनाउनु पर्ने चाँही भएको हुनाले अनुकुल वातावरण हेरेर बनाउँदा हुन्छ ।’
कम जनशक्तिले पनि जनतालाई सेवा दिइ रहेको भए पनि अहिलेको भिड थेग्न भने मुस्कील रहेको जिल्ला प्रशासन म्याग्दीकी राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर विष्णु खत्रीले जानकारी दिनुभयो । प्रदेश भित्र कास्की र तनहुँमा लागु भएको भए पनि अहिले गाउँगाउँबाट जेष्ठ नागरिकहरु परिचयपत्रका लागि आउँने गरेको र उहाँहरुलाई सेवा दिने प्रयास हुँदै गर्दा पनि सिस्टम नचल्ने तथा अन्य प्राविधिक कारणले समस्या हुन सक्ने भए पनि यहाँबाट कुनै ढिलाइ भएको छैन–उहाँले भन्नुभयो । अहिले दैनिक ७० जना सम्म नयाँको बायोमेट्रीक गर्ने र १५ देखि २० जना पहिला परिचयपत्रको फारम भरेर परिचय पत्र आइसकेकाहरुको परिचयपत्र जारी गर्ने काम भै रहेको उहाँको भनाई छ ।

सरकारले घुम्ती शिविर मार्फत वडा वडामै गएर परिचयपत्रका लागि पहिला फारम भरेकोमा अहिले सम्म पनि कतिपयको नम्बर सिस्टममा नदेखिदा समस्या भएको अपरेटर खत्रीको भनाई छ । आफ्नो अनुकुल हेरेर पछि आए पनि हुनेमा केही जिल्लामा साउन महिना देखि अनिवार्य गरिएको भन्ने सूचनालाई आधार मानेर सामाजिक सुरक्षाा भत्ता लिने नागरिकहरु ओइरिदाँ भिड थेग्नै मुस्कील भएको उहाँको भनाई छ ।