घाम बनेर उदाएको छ प्रेम
हावा बनेर फैलिएको छ प्रेम
पानी भइ बगेको छ प्रेम
सृष्टि , प्रकृति र रचनाले
विशाल ब्रम्हाण्डको
प्रेमको आलिंगनमा
निरन्तरता पाइरहेका छन्
युगौं- युगान्तरदेखि
सृष्टिले जन्माएका
प्रेमका फूलहरु
प्रकृति भएर
फुलिरहेका छन्
जीवन भएर
बगिरहेका छन्
प्रेमको आलिंगनमा
बाँधिएको प्रेम
सुवास भएर
फूलसंगै मिसिएको छ
प्रकाश भएर
जूनसंगै चम्किएको छ
सास बनेर
हावा संगै घोलिएको छ
जीवन भएर
धर्तीसंगै गाँसिएको छ ।
जीवन भित्रको जीवन
मन भित्रको मन
प्रेमका अनुभूतिहरुले
सिचेका भावनाहरुसंगै
दया,माया,करुणा,विश्वास
थरी-थरीले फुलेका छन्
निष्कपट प्रेम
निश्चल प्रेम
प्रेमको न्यानो स्पर्शले पग्लिएको
प्रेमको संभोगले जन्मिएको
ममतारुपी फूलहरुमा फक्रिएको
सृष्टिकै सुन्दर उपहार
अनमोल उपहार
धन्य! छ प्रेम
आनन्दमय छ प्रेम
अर्धनारीश्वर रुपमा
प्रकट भए शिव-शक्ति
सृष्टिकै शक्ति बनेर
बाँधिए राधा-कृष्ण
प्रेमकै युग बोकेर
जन्मिए बुद्ध
प्रेमको आँखा बनेर
प्रेमको शक्ति
प्रेमको अनुभूति
चलिरहनेछ निरन्तर
अन्त्य नहुने प्रेमको
शुरुआत बनेर ।